राप्रपा अध्यक्ष लिङ्देन आज अमेरिका जाँदै

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन आज सॅाझ अमेरिका भ्रमणमा जाने भएका छन् । अध्यक्ष लिङ्देन पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) अमेरिकाको निमन्त्रणामा अमेरिका जान लागेका हुन् ।

अमेरिकाको विभिन्न राज्यमा हुने भ्रमणको क्रममा अध्यक्ष लिङ्देनले टेक्सासको ड्यालसमा हुने पानस अमेरिकाको तेश्रो राष्ट्रिय अधिवेशनको समुदघाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

अमेरिकामा रहॅदा अध्यक्ष लिङ्देन अक्टोबर २८ का दिन मोमो महोत्सव (फेस्टिवल)मा प्रमुख आतिथ्यता ग्रहण एवं नेपालीहरूसँग भेटघाट एवं अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । अक्टोबर २९ का दिन ड्यालसको करि लिफ वैङ्कटमा हुने पानस अमेरिकाको तेस्रो राष्ट्रिय अधिनेशनलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्नेछन्।

त्यस्तै अक्टोबर ३० का दिन साँझ केन्टकीका नेपाली समुदायसंग साक्षात्कार गर्नेछन्। अध्यक्ष लिङ्देन अक्टोबर ३१ का दिन ओहायोमा विश्व भुटानी संगठनद्वारा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा सहभागि हुनेछन्। कार्यक्रम तालिका अनुसार उनले नोभेम्बर २ का दिन वाशिंगटनस्थित नेपाली दूतावासको भ्रमण तथा अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ ।

त्यसपछि नोभेम्बर ४ मा न्यूयोर्कमा प्रवासी नेपाली एकता समाज पानस न्यूयोर्क च्याप्टरद्वारा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख आतिथ्यता गरि नोभेम्बर ५ का दिन मेरिल्यान्ड बाल्टिमोरमा पानसद्वारा आयोजित भेटघाट कार्यक्रममा सहभागी हुनेछन् ।
अध्यक्ष लिङ्देनको अमेरिकामा हुने सबै कार्यक्रमको तयारी उत्साहजनक ढंगबाट भइरहेको पानस आइसिसीका प्रमुख प्रेमकुमार श्रेष्ठले बताएका छन् ।

राप्रपाले प्रवास क्षेत्रमा आक्रामक संगठन निर्माणको नीति लिएको छ । अध्यक्ष लिङ्देनले नेपालीहरूको अत्यधिक घनत्व भएको मध्यपूर्वका साउदी अरेविया, युएई तथा कतारको भ्रमण गरी त्यहॅा रहेका नेपाली समुदायसंग छलफल र अन्तर्क्रिया सम्पन्न गरिसकेका छन् ।

भ्रमण टोलीमा अध्यक्ष लिङ्देनकी धर्मपत्नी सीता थापा लिङ्देन, राप्रपा सहायक महामन्त्री विजय खड्का, केन्द्रीय सदस्य, प्रवास विभागका प्रमुख आनन्द अधिकारी रहने छन् । मेरिल्याण्डको कार्यक्रम सम्पन्न गरेपछि राप्रपा अध्यक्ष लिङ्देन नोभेम्बर ७ मा नेपाल फर्कने कार्यक्रम रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *