धादिङ । आइतबार बिहान ७:३९ बजे धादिङको ज्वालामुखी गाउँपालिका ५ खरी केन्द्रबिन्दु भएर गएको भूकम्पबाट धादिङमा ठाउँठाउँमा पहिरो खसेको छ ।
नवरात्रको महाष्टमीका दिन घरघरमा पूजाआजा गरी खसीबोका मार हान्ने तयारी गरिरहेका गाउँबासी भुइँचालो आएपछि त्रसित भएका छन् । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ६.१ रेक्टरस्केलको भूकम्प गएको बताएको छ ।
पहिलो भूकम्प गएको केही बेरबाटै पटकपटक परकम्प गएको थियो । परकम्पले स्थानीय झन् बढी आत्तिएका छन् । बिहान ८.०८ बजे ४.२ म्याग्निच्यूडको, ८ बजेर २८ मिनेटमा ४.३ र ८:५९ मा ४.१ म्याग्निच्यूडको परकम्प गएको केन्द्रले जनाएको छ ।

भूकम्पबाट मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी गौतम मिश्रले जानकारी दिए ।
प्रहरी उपरीक्षक मिश्रले भने ‘६/७ वटा घरहरू चर्केको भन्ने खबर आएको छ, अन्य क्षति केही भएको छैन ।’
स्थानीय जीवन सिम्खडाका अनुसार भूकम्पका कारण खरीको सिम्ले आसपासमा सुख्खा पहिरो खसेको छ । बूढीगण्डकीको तटीय क्षेत्रमा ठाउँठाउँमा जमिनमा चिरा परेको छ ।
सुख्खा पहिरो खसेर केही ठाउँमा घर जोखिममा भएपनि जनधनको क्षतिबारे केही सूचना नआएको ज्वालामुखी गाउँपालिका-५ का पूर्वअध्यक्ष कृष्ण काप्रीले बताए ।
‘खरी आसपासमा धेरै हल्लायो । सिम्लेमा दुई वठा ठूला पहिरो खसेको र ३ वटा घर जोखिममा छ’, उनले भने ।
केशव अधिकारी/रामहरि ओझा

Leave a Reply