काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा नेपालले कीर्तिमानी १ खर्ब १६ अर्ब रूपैयाँ रेमिट्यान्स कमाएको रिपोर्ट हालै सार्वजनिक भएको छ । गत आर्थिक वर्ष (२०८९/८०) भरिमा १२ खर्ब २० अर्ब रूपैयाँ विभिन्न देशबाट नेपाल भित्रियो रे ।
देशभित्र आर्थिक क्षेत्र चकमन्न छ । स्वदेशी उद्योगधन्दाहरू धराशायी अवस्थामा छन् । समग्र निजी क्षेत्र अस्तव्यस्त र आतंकित छ । राजश्व आम्दानीबाट सरकारी कर्मचारी पाल्न समेत नपुग्ने भइसक्यो । व्यापार घाटाको अंक सुन्दा कहाली लाग्छ । वैदेशिक ऋणले सगरमाथाको उचाइ छुन लागिसक्यो । तर, पनि देश त चल्दै छ । आखिर थेगेको केले छ ? यही रेमिट्यान्सले ।
कोरोनाकालपछि रेमिट्यान्सले ढाड नथापिदिएको भए देशको अर्थतन्त्र कुनै पनि क्षण कोल्याप्स हुन सक्ने खतरापूर्ण अवस्थामा पुगिसकेको थियो । आव २०७९/८० मा करिब ५ लाख नयाँ कामदार पहिलोपटक वैदेशिक रोजगारीमा गए भने झण्डै तीन लाख जना दोहोर्याएर गए । यससहित करिब २५ जना नेपाली विभिन्न देशमा पसिना बगाएर खुरुखुरु पैसा पठाइरहेका छन् । र त, सरकारले जुँगामा ताउ लगाउँदै भन्न पाएको छ– मने, अर्थतन्त्रलाई संकटबाट जोगाइयो ।
यो देश अहिले आएर मात्र रेमिट्यान्समा निर्भर बन्न पुगेको होइन । कम्तीमा पछिल्लो दुई दशकको आर्थिक परिवेश यही नै हो । स्वदेशी उद्योगहरूलाई निजीकरणका नाममा निमिट्यान्न पारिसकेपश्चात रोजगारीका क्षेत्रहरू साँघुरिए । त्यसपछि विदेशतर्फ युवाहरूको लाम सुरू भयो । हुनेखानेहरू युरोप–अमेरिका ताक्न थाले, विपन्नहरू खाडी पस्न थाले । यो सिलसिला आजपर्यन्त जारी छ, झनै सघनरूपमा । एसईई सकिनासाथ किशोर–किशोरीहरूबीच मुख्य छलफलको विषय नै हुन्छ– कुन देश जाने ?
पछिल्ला साढे तीन दशकमा देशमा तीनवटा ठूला राजनीतिक परिवर्तन भए । ०४६ सालमा पञ्चायत मासिएर प्रजातन्त्र आयो । ६२र६३ पछि लोकतन्त्र र त्यसपछि गणतन्त्र । यसरी ब्याक टु ब्याक व्यवस्था परिवर्तन गर्न देशले निकै ठूलो बलिदानी खेपेको छ । १० वर्ष लामो जनयुद्धरूपी नरसंहार यहीबीचमा भयो, जसको भौतिक र मानवीय क्षति अगणित छ ।
कथित जनयुद्धमा मारिएका १७ हजारमध्ये ५ हजारको जिम्मा लिन्छु भन्ने पुष्पकमल दाहाल प्रधानमन्त्रीको कुर्सीमा छन् । उनी हरेक भाषणमा छाती पिटेर भनिरहेका हुन्छन्– ‘देशले प्राप्त गरेका सबै उपलब्धीको संवाहक मै हुँ ।’ उपलब्धि के भन्दा उही संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता ह्यान त्यान ।
तर, प्रचण्डका यी उपलब्धिबाट जनताले के पाए ? देशभित्र यथेष्ट रोजगारी सिर्जना भए ? युवाहरू विदेश जान रोकिए ? देशमा गरिखाने वातावरण बन्यो ? देशको भविष्यप्रति युवापुस्ता उत्साही छ ? उद्योगी–व्यवसायीले त्राण पाएका छन् ?
कुनै पनि प्रश्नका सकारात्मक जवाफ मिल्ने छैन । देश अभूतपूर्व दुरावस्थामा छ भनेर निर्क्यौल निकाल्न कुनै घघडान अर्थशास्त्री वा भावुक राजनीतिशास्त्रीलाई कोट गरिरहनु पर्दैन ।
खैर, अब ताजा प्रसंगमा जाउँ । अस्ति गैरआवासीय नेपालीहरूको महाधिवेशनमा गरेको भाषणले सेलिब्रिटी छविकी नेतृ रामकुमारी झाँक्री भाइरल छिन् । सामाजिक सञ्जालमा उनको भयानक स्तुतिगान भयो । मानिसहरूले थपडी बजाउँदै भने– वाह ! क्या दनक दिनुभयो ।
एनआरएनलाई बाँड्न थालिएको नागरिकतालाई लिएर असन्तुष्टि जनाउने एक महाधिवेशन प्रतिनिधिलाई जवाफ दिने क्रममा झाँक्रीले क्रोधित भाषण गरेकी थिइन् । उनको भाषणमा केही सच्चाइ थिए, तर उनले विदेशीएका नेपालीहरूमाथि जुन भाषा र शैलीमा आक्रमण गरिन्, त्यो मेरो लागि खेदजनक छ ।
पारिभाषिकरूपमा ‘एनआरएन’ ले नेपाली नागरिकता त्यागेर अन्य देशको नागरिकता लिएकाहरूलाई मात्र बुझाउँदैन । दक्षिण एसियाबाहेकका जुनसुकै देशमा दुई वर्ष बिताएकाहरू ‘एनआरएन’ सदस्य बन्न सक्ने मापदण्ड छ । अहिले एनआरएनमा आवद्ध भएकाहरूमध्ये धेरैजस्तो नेपाली नागरिकता भएकाहरू नै छन्, जो विदेशमा गएर श्रम गर्दै नेपालमा रेमिट्यान्स पठाइरहेका छन् । झाँक्रीले सोलोडोलो सबैलाई मुछेर विदेशमा काम गरेर बसेका नेपालीहरूलाई आक्षेपित र अपमानित गरिन् ।
म मान्छु, ती प्रतिनिधिले जसरी आफ्नो धारणा राखे, त्यो पनि अनर्गल थियो । तर, एउटा जिम्मेवार ओहदामा रहेको राजनीतिकर्मीले जस्तासुकै प्रश्नलाई पनि सहजरुपमा सामना गर्ने धैर्यता र सहिष्णुता राख्नुपर्छ । यसमा झाँक्री चुकिन् । ‘टिट फर ट्याट’ भन्दै उत्तेजना देखाइन् । ‘तपाईंहरूले आफ्नो खुसीले नागरिकता त्यागेको हो, यहाँ आएर अहिले ठूला कुरा नगर्नु’ भन्ने झाँक्रीको अभिव्यक्तिले तत्क्षण धेरैलाई घत प¥यो होला, तर गहिरो गरी सोचौं न ।
बितेको साढे तीन दशकमा यो देश राजनीतिक दलहरूको हातमा छ । यदि दलहरूले देश बस्नलायक बनाएको भए कोही किन आफ्नो जन्मभूमि त्यागेर विदेश पलायन हुन रहर गर्थ्यो ? आफ्नै देशभित्र पर्याप्त रोजगारीका अवसरहरू भए कोही किन आफ्नो थातथलो छोडेर विरानो देशमा तल्लो स्तरको श्रम गरेर बस्नुपर्ने नियतिमा पुग्थ्यो ? यही देश विकसित बनेको भए भौतिक सुखसुविधाको खोजीमा कोही किन आफ्नो नागरिकतासमेत त्यागेर पराइ देशमा दोस्रो दर्जाको नागरिक बन्न व्यग्र हुन्थ्यो ? रहर होस् वा बाध्यताले, विदेशिएका नेपालीहरूलाई गाली गर्नु भनेको एउटा राजनीतिकर्मीको वीरता होइन, निर्लज्जता हो ।
झाँक्रीकै ‘हिस्ट्री’ खोतल्ने हो भने कुनै दिन लाइन बसेर डीभी भरेको रेकर्ड नभेटिएला भन्न सकिन्न । मानौं अमेरिकाले नेपालीलाई ‘फ्रि भिसा’ भनिदिने हो भने एयरपोर्टमा कति लामो लाइन लाग्ला ? के ठेगान्, त्यो लाइनमा झाँक्री आफैं पनि भेटिन सक्नेछिन् ।
झाँक्रीले ‘आँखाको चिप्रा नपुछ्दै फेसबुकमा नेपालको राजनीतिका विषयमा टिप्पणी गर्न हतार हुने’ भनेर तुच्छ टिप्पणी गरेकी छन् । नेपालको विषयमा नलेखेर आफू बसिरहेकै देशका विषयमा लेख्न उनको सुझाव छ ।
उनले भनिन्, ‘बिहान जुरुक्क उठेर आँखाको चिप्रा नपुछ्दै नेपाली राजनीतिका बारेमा किन कमेन्ट गर्नुपर्यो ? यहीँ चिन्ता गर्ने मान्छे, यसका लागि मरेका, रगत बगाएका, हातखुट्टा भाँचिएका र सञ्जोगले बाँचेका हामी ज्यूँदै छौं । यो देशको चिन्ता हामीले गर्छौं । बिहान भाले बास्नुभन्दा अगाडि तपाईंले लेखेको स्टाटस नेपालको पोलिटिसियन, सिस्टमका बारेमा तपाईंहरूले गरेको कमेन्टले अबको अर्को पुस्तालाई आतंककारी बनाउँदै हुनुहुन्छ ।’
‘यो देशको चिन्ता हामीले गर्छौं, तिमीहरूले गर्नुपर्दैन’ भन्ने झाँक्रीलाई उनकै शैलीमा प्रश्न सोध्न मन छ, चिन्ता लिएर अहिलेसम्म के लछार्नुभो ? तपाईं सडकमा उत्रिनुभो, रगत बगाउनुभो, हातखुट्टा भाँचिए र आजसम्म त्यसकै ब्याज खाँदै हुनुहुन्छ, तर जनतालाई के मिल्यो ? देशलाई एसियाकै गरिब कसले बनायो ? तपाईंले विदेशिएका नेपालीलार्ई नेपालको विषयमा नलेख भनेर उर्दी जारी गर्ने नैतिक साहस कसरी प्राप्त गर्न सक्नुहुन्छ, जबकि तिनै नेपालीहरूले पठाएको रेमिट्यान्स तपाईंको देशलाई बचाउने प्राण वायु बनिरहेको छ ? देश जेनतेन बाँचेको छ र तपाईं माननीय भएर डुक्रिन पाइरहनुभएको छ ।
विगत केही समययता जबरजस्तरूपमा एउटा के भाष्य स्थापित गर्न खोजिँदै छ भने देश छोडेर विदेशिएका ‘भगौडा’ हरूले नेपालको विषयमा फेसबुकमा टिप्पणी गर्नु नै अनैतिक हो । म चाहीँ यसमा पनि सहमत छैन । जुनसुकै कारणले होस्, विदेशिएका नेपालीहरूले के मातृभूमिलाई चटक्कै माया मार्न सक्लान् ? अथवा माया मार्नु ठीक हो ? छोटो समयको मेरो अनुभवले के भन्छ भने विदेशमा बस्दा अझै बढी देशको माया र सुर्ता लाग्छ । भौतिकरूपमा जहाँ भए पनि दिल र दिमाग नेपालमै हुन्छ । किनकी नश्ल नेपाली हो, रगत नेपाली हो, मन नेपाली हो । त्यसैले त एकपटकको नेपाली सँधै नेपाली ।
‘सिपाहीको मानसिकताभन्दा माथि उठ्न नसकेको’, ‘रेस्टुरेन्टमा काम गर्दा गर्दा फुर्सद नभएको’ जस्ता पत्रु अभिव्यक्तिसमेत दिइन् । देशका पहरेदार मानिने सैनिकलाई हेर्ने उनको दृष्टिकोण कस्तो रहेछ ? श्रम संस्कृतिलाई कति बुझेकी रहेछन् ? बौद्धिकताको स्तर स्पष्टै भयो ।
झाँक्रीले आफ्ना सन्तानको पखेटा लागेपछि विदेश जानबाट रोक्नेछिन् कि एयरपोर्टमा हात हल्लाउँदै गरेको फोटो सामाजिक सञ्जालमा पोस्ट गर्नेछिन् हेरौंला । त्यसबेला आफैंले सुन्नका लागि अहिलेको भाषण सुरक्षित राखिराख्दा हुन्छ ।
यो म मान्छु, एनआरएनए संस्था विकृतिको चाङमाथि उभिएको छ । नेपालको राजनीतिलाई पाठशाला मानेर कुर्सीका लागि हुने सबैखाले फोहोरी खेलहरुको सिको गरिरहेका छन् एनआरएनका नेताहरु । अहिलेकै महाधिवेशनमा हेर्नुस, हार्नेहरुले हार स्वीकार गर्न सकिरहेका छैनन् । कति साना कुरामा बबण्डर मच्चाइरहेका छन् । एनआरएनको चुनावमा उनीहरू कांग्रेस, एमाले र माओवादी भएर भिडिरहेका हुन्छन् । उनीहरूले गर्ने हल्लाको तुलनामा नेपालका लागि गरेको योगदान नगण्य छ ।
खासमा एनआरएनए अभियानप्रति नै मेरो विमति छ । अर्को देशको नागरिकता लिएर उतै सेटल भएका नेपालीहरू संगठितरुपमा आफ्नो मातृभूमिका लागि योगदान गर्न खोज्नु ठीक हो । तर, अहिलेको मापदण्डले दुई वर्ष विदेश बस्नासाथ जोकोही नेपालीले एनआरएनको तक्मा भिर्न सक्छन् । विदेशमा कमाउन गएका नेपालीहरू, जसले नेपालमा रहेको परिवारलाई नियमित रेमिट्यान्स पठाइरहेका हुन्छन्, उनीहरूलाई यो अभियानमा जोड्नुको कुनै तुक हुँदैन । उनीहरूले त आफूले कमाउने पैसा नेपालमै पठाउने हुन् । त्यही नै उनीहरूको योगदान हो । एनआएरएनएमा लागेर खर्च गर्ने पैसा त्यही रेमिट्यान्सबाट काटिने हो ।
अर्को कुरा, एनआरएनएले सबै विदेशिएका नेपालीलाई प्रतिनिधित्व पनि गर्दैन । विदेशमा रहेका नेपालीहरूको ठूलो हिस्सा एनआरएनमा आवद्ध नै छैन । उनीहरूमध्ये धेरैमा एनआरएनए अभियानप्रति वितृष्णा पाएको छु । ती नेपालीहरू जो एनआरएनमा छैनन्, विदेशमा रहेर नेपालमा रेमिट्यान्स पठाइरहेका छन् र नेपालप्रति हरदम चासो र चिन्ता राख्छन्, उनीहरूलाई पक्कै पनि झाँक्रीको अभिव्यक्तिले अन्याय भएको छ । ती नेपालीहरुसँग झाँक्रीले माफी माग्नुपर्छ ।

Leave a Reply