फूलपातीसहितको डोली गोरखाबाट हनुमानढोका पठाइयो

गोरखा । गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौंको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ८ बजेको शुभसाइतमा फूलपातीसहितको डोली हनुमानढोका दरबार पठाएका हुन् ।

गोरखा दरबारस्थित दसैँघरबाट बाजागाजासहित र्‍याली निकाली गोरखाबाट फूलपातीको बिदाई गरिएको छ ।

फूलपातीको डोली बा.२ झ २१२८ नम्बरको सरकारी गाडीमा राखेर हनुमानढोका दरबार पठाइएको गोरखा दरबारका मूलपुरोहित शारदाप्रसाद भट्टराईले जानकारी दिए । आज साँझ हर्षबढाइँका साथ हनुमानढोका दरबारमा फूलपाती भित्र्याइनेछ ।

गोरखा दरबारको दसैँघरमा पनि आजै साँझ फूलपाती भित्र्याइन्छ । तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौंको हनुमानढोका दरबारबाट राजकाज सुरू गरेदेखि बर्सेनि बडादसैँको सातौं दिन गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँको हनुमानढोका दरबारमा पुर्‍याएर भित्र्याउने प्रचलन रहँदै आएको भट्टराईले बताए ।

गोरखा नगरपालिकाकी उपमेयर मसलीमाया थोकर, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक अनुपम श्रेष्ठलगायतले दरबारबाट फूलपातीको बिदाई गरेर पठाए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *