रुपन्देही । अन्तरधार्मिक समन्वय समितिले बुटवलमा सबै धर्मका अगुवालाई राखेर अन्तरधार्मिक मिलन कार्यक्रम गरेको छ ।
लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष ऋषि आजादको संयोजनमा भएको कार्यक्रममा संविधानसभा सदस्य नजिर मियाले नेपाली समाजमा मिलेर बसेका सबै धर्मवालम्बीहरुको सम्मान गर्नपर्ने बताए ।
कार्यपत्र प्रस्तुत गरेका डा. सुरेन्द्र गिरीले नेपाली संस्कृतिको पहिचान सबै धर्मका संस्कृतिहरुको संरक्षणबाट हुने जनाएका थिए । उनले नेपालमा जसरी सबै धर्म र संस्कृति मान्नेहरु मिलेर बसेको अन्य देशमा धेरै कम रहेको बताउँदै यसको नाममा केही अतिवादीले बढाएका गलत क्रियाकलाप सबै मिलेर रोक्ने जनाएका छन् ।
संस्कृतिविद् राजेन्द्रकुमार आचार्यले हिन्दू-मुस्लिमको एकताको उदाहरणका कबिर सम्प्रदाय, नवलपरासीका मदारबाबा, लखनउ युद्धका नायक नाना साहेब र बेगम हजरतको सैनामैनासम्म एकता, हिन्दू-बौद्धको एकताको उदाहरण हलेसी महादेव र त्यहाँको मालातिका गुम्बा, खस अभिलेखहरूमा मुक्तिनाथ सहाय, बद्रीनाथ सहाय, बुद्धधर्म सहाय लेख्नु, ओं मणिपद्मे हुँ शिरमा र व्यहोरा खसानीमा लेखिएको अभिलेख पाइएको जनाएका थिए । उनले ईश र ईशाको वुत्पत्ति यौटै भएको उदाहरण राखेका थिए ।
संविधान सभासद् नेत्र पन्थीको खुल्ला सिमानाका कारणले धार्मिक खलल पुग्ने अवस्थाप्रति सचेतना आवश्यकता रहेकोले सबैजना सचेत हुनुपर्ने जनाए । ‘यहाँ बस्ने रैथानेहरुमा कुनै समस्या छैन, धर्मका नाममा भारत वा अन्य देशबाट आउनेले केही स्वार्थमा कहिलेकाँही समस्या पारेका छन्, यसमा हामी सचेत हुनुपर्दछ’ उनले भने । कार्यक्रममा सुरज थापाले बाइबल बाँड्दै र धर्म परिवर्तन गराउँदै हिड्ने ख्रिष्टियन नभै मर्मन, योहोबा आदि भएको तर आफूहरूले धार्मिक सहिष्णुता चाहेको, कुलचन्द्र मरासिनीले सनातन धर्मलाई प्राचीन मानिने र धर्मको सार परोपकार भएको, शोभाकर पोखरेलले सबै धर्मग्रन्थहरु पढ्नुपर्ने र महेन्द्र भुसालले धार्मिक समन्वय र सहिष्णुताका लागि सबैले ध्यान दिन आग्रह गरेका थिए ।
बुटवल बहुमुखी क्याम्पसका मेघराज आचार्यले धार्मिक समन्वयको सामग्री पाठ्यक्रममा राखिनुपर्ने, विजय बस्यालले धार्मिक सहिष्णुता, डा. बालकृष्ण चापागाईंले पूर्वीय दर्शनको प्राचीनता, धर्मका राम्रा कुराहरुले सभ्यता निर्माण गर्ने सन्दर्भ, मुकुन्दराज पोखरेलले काँक्रे विहारको समन्वयात्मक कला, माननीय दधिराम न्यौपानेले धार्मिक सहिष्णुता, लेखक-चिन्तक डी.आर. घिमिरेले जर्ज ज्यानको धार्मिक सहिष्णुता अभियान र नेपालगन्जको दङ्गामा पक्डिएका ११ मा २ जना मात्र स्थानीय नेपाली भएको, सफर अलली मियाँको बौद्धिक सहिष्णुताका विषयमा आफ्नो धारणा राखेका थिए ।
त्यसैगरी मीनबहादुर सारुमगरले शान्तिपूर्ण पहलमा सबै धर्म अनुरागीले अपनाउनुपर्ने तरिका, लछ्मी खनालले सबै धर्मको उद्देश्य अहिंसा, कृष्णप्रसाद भट्टराईको वसुधैव कुटुम्बम्, गणेश घिमिरेले यस्ता कार्यक्रमको नियमितता, शिक्षाविद् रुद्रलालको सहिष्णुता अपनाउनुपर्ने विषय, जेनिसा घिमिरेको एक धर्मले अर्कोलाई सम्मान गर्नुपर्ने, पूर्वमेयर पुनाराम पोखरेल धार्मिक सहिष्णुतासहितको सनातन हिन्दुराष्ट्रका लागि अभियान चलाउनुपर्ने सुझाव राखेका थिए ।

Leave a Reply