अर्घाखाँचीमा ५१ वर्षपछि भेटिएको शंकरको पञ्चमुखी मूर्ति खुसी मनाउँदै स्थानीयले मन्दिर भित्र्याए

रुपन्देही । ५१ वर्षअघि अर्घाखाँचीको अर्घा भगवती मन्दिरबाट हराएको पशुपतिनाथको पञ्चमुखी मूर्ति भेटिएपछि स्थानीय खुसी भएका छन् ।

२०३० साल वैशाख २५ गते अर्घा भगवती मन्दिरबाट चोरी भएको पञ्चमुख भएको शंकर भगवान्‌को मूर्ति शुक्रबार बिहान शुभ साइत पारेर वैदिक विधिपूर्वक मन्दिरमा पुनः प्रतिस्थापन गरिएको अर्घा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सरोज भुसालले बताए ।

बाइसेचौविसे राज्यअन्तर्गत पर्ने अर्घा मन्दिर तथा दरबारमा वैदिक विधिपूर्वक पूजाआजा गरी पञ्चेबाजा बजाएर शुभ साइतमा मन्दिरमा मूर्ति पुनः प्रतिस्थापन गरिएको पण्डित केशवराज आचार्यले जानकारी दिए । सन्धिखर्क नगरपालिका-९ मा अवस्थित अर्घा दरबार अर्थात् अर्घा भगवती मन्दिरमा पहिले धेरै देवी देवताका मूर्ति थिए । ५१ वर्षअगाडि मन्दिर फोडेर बहुमूल्य धातुका धेरै मूर्ति चोरी भएको थियो ।

मूर्ति हराएपछि खोजतलास गर्दै जाँदा मुद्दा चलेको थियो । तत्कालीन अञ्चल अदालतमा हराएकामध्येको एकवटा मूर्ति रहेको भन्ने जानकारी प्राप्त भएपछि स्थानीय बुढापाकालाई बुझ्दा पञ्चमुख भएको मूर्ति मन्दिरमा रहेको र उक्त मूर्ति पनि हराएको थियो भन्ने जानकारी प्राप्त भएपछि मूर्ति ल्याएर शुभसाइतमा प्रतिस्थापन गरिएको अध्यक्ष भुसालले बताए । मुद्दाको समयमा उक्त मूर्ति अनुसन्धानको सिलसिलामा लगिएको हुनसक्ने र झण्डै ४ सय वर्ष पुरानो हुनसक्ने अनुमान छ ।

लुम्बिनीमा आएका पर्यटकहरू तथा अर्घाखाँचीकै धार्मिक पर्यटकीय स्थल सुपा देउरालीमा आएका पर्यटकहरूलाई सदरमुकाम सन्धिखर्क हुँदै अर्घामा लैजान एसियाकै सबैभन्दा ठूलो भगवती देवीको मूर्ति स्थापना गरिएको हो । सन्धिखर्कका पूर्वमेयर कमलप्रसाद भुसालले उक्त मूर्ति स्थापना गर्न पहल गरेका हुन् ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनीसँगै गुल्मीको रेसुंगा र प्युठानको स्वर्गद्वाराीमा आएका पर्यटकहरूलाई अर्घा दरबारमा लैजाने उद्देश्यले मूर्ति स्थापना गरिएको मेयर कृष्णप्रसाद श्रेष्ठले बताए ।

वडादसैँमा विशेष पूजाआजासँगै मन्दिरमा देवी भागवत, वेद पाठ पारायण तथा दूर्गा शप्तसती पाठ भइरहेको छ । कोजाग्रत पूर्णिमाको दिन सराये नाच हुने गर्छ । अर्घाको सरोये नाच देशभर प्रसिद्ध छ । हालः यस मन्दिरमा एसियाकै सबैभन्दा ठूलो भनिएको भगवती मन्दिरको मूर्ति प्रतिस्थापन गरिएको छ । अर्घा दरबार अर्थात् अर्घा भगवती मन्दिरमा १० फिटको बेसमा, २१ फिटको मूर्ति राखिएको छ ।

अदालतका कर्मचारीको साथमा अनुसन्धान गर्दै जाँदा ती मूर्ति भेटिएका हुन् । स्थानीयका अनुसार यो सँगै हराएका सुनका मूर्ति अझै नभेटिएकाले त्यसको पनि अनुसन्धानको गर्नुपर्ने पुराना पत्रकार विष्णु भुसालले जनाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *