काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले देशभरका विमानस्थलमा सञ्चालित पसल तथा कबल व्यवस्थित गर्न ९ सदस्यीय कार्यदल गठन गरेको छ ।
प्राधिकरण सञ्चालक समितिका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विमानस्थलको स्थलगत निरीक्षण तथा अनुगमनपछि प्राधिकरणको शुक्रबार बसेको बैठकले प्राधिकरणको कर्पोरेट निर्देशनालयका उपमहानिर्देशक जगन्नाथ निरौलाको संयोजकत्वमा नौ सदस्यीय अध्ययन तथा सुझाव कार्यदल गठन गरेको हो ।
पसल कबलमार्फत बिक्री हुने वस्तु तथा प्रदान गर्ने सेवा महँगो भएपछि यात्रुको गुनासो धेरै रहेको छ ।
नेपालभरका विमानस्थलमा सञ्चालित पसल र कबलबाट बिक्री वितरण गरिने वस्तु तथा उपलब्ध गराइने सेवालाई व्यवसायिक रूपमा सञ्चालन गरी थप व्यवस्थित गर्न आवश्यक रहेको भन्दै सम्बन्धित कानूनी तथा व्यवसायिक पक्षको अध्ययन गरी विस्तृत प्रतिवेदन १५ दिन भित्र महानिर्देशकसमक्ष पेश गर्ने कार्यादेश दिइएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले नेपाल प्रेसलाई जानकारी दिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत हाल सञ्चालनमा रहेका विभिन्न विमानस्थलमा हवाई यात्रा गर्ने यात्रुलाई सुविधा प्रदान गर्नका लागि विमानस्थल कार्यालयसँग प्रचलित कानूनबमोजिम द्विपक्षीय सम्झौता गरी पसल तथा कवल भाडामा सञ्चालनमा छन् ।


Leave a Reply