गौर । आम जनता पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले निर्वाचन आयोग राजनीतिक दलको लँगौटी भएको बताएका छन् ।
बुधबार रौतहटको कटाहरिया नगरपालिकाको जमुनियामा आम जनता पार्टीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले निर्वाचन आयोगले आफ्नो साख जोगाउन नसक्दा देशमा लोकतन्त्र कमजोर बनेको जिकिर गरे ।
संवैधानिक आयोगको रूपमा रहेको निर्वाचन आयोग आफैं स्वतन्त्र एवम् निष्पक्ष हुनुपर्ने बताउँदै उनले भागबन्डाबाट दलका कार्यकर्ता आयुक्तको रूपमा नियुक्त हुँदा नीति नियमभन्दा नेताको आदेशमा चल्ने गरेको आरोप लगाए ।
अध्यक्ष साहले भने, ‘आज निर्वाचन आयोग दलको लंगौटी भएको छ । निष्पक्ष ढंगले काम गर्नुको सट्टा आयुक्तहरू मालिकको आदेशमा काम गरेकोले लोकतन्त्र कमजोर भइरहेको छ ।”
कार्यक्रममा आजपा सचिव एवम् पूर्वसांसद समिना हुसेन, स्थायी कमिटी सदस्य एवम् कटहरिया नगरपालिकाका पूर्वमेयर सियाराम कुश्वाहा केन्द्रीय नेताहरु त्रिभुवन साह, सञ्जय महतो, जिल्ला अध्यक्ष एवम् देवाही गोनाही नगरपालिकाका पूर्वमेयर धर्मेन्द्र पटेल, प्रचार विभाग उपप्रमुख निवेश यादवलगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

Leave a Reply