काठमाडौं । नेपाल मिडिया सोसाइटीले नेपाल पत्रकार महासंघमा पछिल्लो समय महासंघभित्रको अति राजनीतीकरण, पार्टीहरुको गुटहरुको चलखेल जस्ता काम भएको आरोप लगाएको छ ।
मिडिया सोसाइटीले एक वक्तव्य जारी गर्दै पछिल्लो समय मूल प्रवाहको मिडियाविरुद्ध कथित अभियान चलाइएको आरोप लगाएको छ ।
निहित स्वार्थ समूह र केही गैरसरकारी संस्थाको नियोजित उक्साहटमा मिडिया लगानीकर्ताहरुको व्यक्तिगत बद्नामी, उनका परिवारहरुको सार्वजनिक बेइज्जती जस्ता क्रियाकलाप कथित पत्रकार जस्ता नाम जोडिएका समूह र संस्थाबाट हुनु भनेको देशकै बेइज्जती हो भन्ने कुरा स्वतः स्पष्ट भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘केही समयदेखि देशको एक महत्वपूर्ण अग्रणी मिडिया संस्था कान्तिपुर पब्लिकेसन्सभित्रको समस्यालाई जबरजस्ती विवादको विषय बनाएर मिडिया उद्योगकै हुर्मत काढ्ने घटनाको पटाक्षेप भएकोप्रति नेपाल मिडिया सोसाइटी गम्भीर क्षोभ प्रकट गर्दछ । त्यस प्रकारका गैरव्यवसायिक क्रियाकलापमा नउत्रिन नेपाल पत्रकार महासंघको जिम्मेवार नेतृत्वलाई हार्दिक अनुरोध गर्दछौं ।’
कान्तिपुर व्यवस्थापनले लिएका कुनै पनि कदमका विषयमा चित्त नबुझेमा प्रचलित कानूनअनुसार अभ्यास गर्ने अधिकार सुरक्षित रहेको उसले भनेको छ । सोसाइटीले असहमतिलाई मिडिया लगानीकर्ता, व्यवस्थापन र उद्योगलाई नै निशाना बनाएर बद्नाम गर्ने र सामाजिक सञ्जालको दुरुपयोग गर्दै अभद्र टिप्पणी गर्ने, मिडियाको नियमित काममा अवरोध सिर्जना गर्ने क्रियाकलाप क्षम्य नहुने चेतावनी दिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘त्यसका पछाडिको स्वार्थ र योजना स्वतः बुझ्न सकिन्छ । तर पनि हामी सम्बन्धित पक्षलाई जिम्मेवार बन्न, पत्रकारिता जस्तो मर्यादित र प्राज्ञिक पेशालाई स्वयं पत्रकारको हकहित गर्ने भनिएका संस्थाबाट अवमूल्यन नगर्न र मिडिया जस्तो उच्चतम बौद्धिक अभ्यास गरिने संस्थाभित्रका कुनै पनि समस्या छलफल, सहमति तथा कानूनी बाटोबाट मर्यादित शैलीबाट नै समाधान गर्ने बाटो अपनाउन हामी आग्रह गर्दछौं ।’
उत्पन्न परिस्थितिको जिम्मेवार स्वयं कथित आन्दोलनकारी भनिएका संस्था र उनीहरु संलग्न रहेका मातृ राजनीतिक पार्टी हुने चेतावनीसमेत विज्ञप्तिमार्फत दिइएको छ ।


Leave a Reply