नेपाली बजारमा अहिले न्युनतम ५ सयदेखि १२ सयसम्म तिरेरमात्रै इन्टरनेट जोड्न सकिने अवस्था छ । तर, सुपर भिजन नेटवर्कले ५० एमबीपीएसको इन्टरनेट मासिक १५० रूपैयाँमा नै वितरण सुरू गरेको छ ।
नेटवर्कले नेपालगञ्जबाट यो सेवाको थालनी गरेको हो । एउटै सहरभित्र फरक-फरक ठाउँमा घर र व्यवसाय भएकाहरूले १५० रूपैयाँ शुल्क तिरेर दुई ठाउँमा नै चलाउन सक्ने छन् । इन्टरनेटको गुणस्तर अरु कम्पनीको भन्दा कम नभएको सञ्चालकको दाबी छ ।
१५० रूपैयाँमा नै ५० एमबीपीएस इन्टरनेट दिन कसरी सम्भव भयो ? यसै विषयमा केन्द्रित रहेर सुपर भिजन नेटवर्कका सञ्चालक विनोद अग्रहरीसँग गरिएको कुराकानी नेपाल टकमा
– १५० रुपैयाँमा नै ५० एवीपीएसको इन्टरनेट प्रदान गराउन थाल्नुभएको छ । यो कस्तो खालको इन्टरनेट हो ?
यो अहिले हामीले उपलब्ध गराइरहेको इन्टरनेट अरु इन्टरनेटजस्तै सामान्य खालको इन्टरनेट हो । यसबाट अन्य नेटजस्तै टिकटक, यूट्युब, फेसबुक, भाइबर, ट्वीटर तथा सम्पूर्ण अन्य सामग्रीहरू हेर्न सकिन्छ । कम्पनीलाई म आफैंले व्यवस्थित गरेर आम नागरिकहरूलाई सस्तोभन्दा सस्तोमा दिने प्रयास गरेको हुँ ।
– बजारमा अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले ४ सयदेखि १५ सय, दुई हजार रूपैयाँसम्ममा इन्टरनेट बेचिरहेको बेला १५० रूपैयाँमा बेच्न कसरी सम्भव भयो ?
म स्वयम्लाई इन्टरनेटको वास्तविक मूल्य कति हुन्छ भनेर थाहा पाउन दुईदेखि तीन वर्ष लाग्यो । २०/३० रूपैयाँमा मज्जाले ३/४ वटा मोबाइल मज्जाले चलाउन सकिन्छ । सामान्य इन्टरनेट कम्पनीको बिल हेर्दा १४ सय रूपैयाँको छ । ७०० रूपैयाँ इन्टरनेट चार्ज लिएका हुन्छन् भने ७०० मर्मत खर्च भनेर ठोकिरहेका हुन्छन् । जबकी मर्मत खर्च ५ रूपैयाँदेखि १० रूपैयाँमात्र पर्ने देख्छु ।

म २०-२५ वर्षदेखि केबल व्यवसायमा छु । १५ रूपैयाँको नाफाले घरमै गएर मर्मत गरेर प्रदान गर्दै आएको सेवा इन्टरनेट कम्पनीहरूले ७ सय रूपैयाँ लिनु अस्वभाविक हो ।
मैले १५० रूपैयाँमा नेट बिक्री गर्दा पनि सरकारको राजस्वसहित सबै खर्च कटाएर पनि ७० देखि ८० रूपैयाँ नाफा भइरहेको छ । मलाई टीभीभन्दा नाफा यसैमा भइरहेको छ । टीभीमा १० रूपैयाँमा सेवा दिन्थेँ भने, मलाई ८० रूपैयाँ नाफा आइरहेको छ । मेरो लागि टीभीभन्दा राम्रो यही चलिरहेको छ ।
– तपाईँले प्रदान गर्ने इन्टरनेट र अन्य कम्पनीहरूले प्रदान गरिरहेको इन्टरनेटको स्पीडमा केही फरक छ ?
इन्टरनेटको स्पीडमा पनि ठगी भइरहेको छ । कम्पनीहरूले ५० एमबीपीएस, १००-२०० एमबीपीएस भनेर भन्ने कुरा नेपालमा सबैभन्दा ठूलो ठगी हो । मलाई पनि यो बुझ्न अलिक समय लाग्यो ।
कुनै पनि मोबाइलको क्षमता १.२ एमबीपीएसभन्दा माथि हुँदैन । जुनसुकै कम्पनीले जति एमबीपीएस दिए पनि मोबाइलले लिनसक्ने भनेको १.२ एमबीपीएस हो । १.२ एमबीपीएसलाई कम्पनीहरूले सफ्टवेयरको माध्यमबाट २००, ३०० र ४०० एमबीपीएस बनाएर बेच्ने हुन् । ल्यापटप, कम्प्यूटरले हदैसम्म लिएर दुई तिन गुणभन्दा बढी लिँदैनन् ।
– तपाईंले कुन-कुन क्षेत्रहरूमा इन्टरनेट बेचिरहनुभएको छ ?
हाल मैले नेपालगञ्ज उपमहानगरपालिका लगभग पूरै क्षेत्रमा सञ्चालन गरिरहेको छु । त्यहाँ पहिलेबाटै फाइबर नेटवर्क रेहेको थियो । पूर्वाधार पनि पहिले नै तयार थियो । त्यसलाई अहिले प्रदान गरिरहेको नेटवर्कमा कन्भर्ट गरेको मात्रै हो ।
– अहिले ठाउँ-ठाउँमा फ्री वाईफाई भनेर पनि भनिरहेका हुन्छन् । त्यो चाहीँ के हो ?
यस्तो खालका इन्टरनेटहरू लुट्नका लागि मात्रै हो । फ्री वाइफाइ भनेको ठाउँमा नगरपालिका र गाउँपालिकाले पैसा तिरिराखेका हुन्छन् । तर फ्री वाइफाई भने कहीँ पनि चल्दैन । १०-२० वटा एपी लगाएर बजारबाट लाखौं रूपैयाँ आइएसपी कम्पनीहरूले लुटिरहेका छन् ।
तर, मेरो कम्पनीले कुनै पनि सरकारी निकायबाट एक रूपैयाँ अनुदान र सहायता मागेका छैन । मेरो इन्टरनेट आधा घण्टा विनापासवर्ड पूरै चल्छ । मैले सेवा दिइरहेको ठाउँ नाकामा पर्ने भएकोले हाम्रो ठाउँमा जो कोहीले चलाउन सक्छन् ।
– बजारमा सस्तो भनेर सीजी इन्टरनेट आयो । त्यसपछि अहिले वाईफाई नेपाल आएको छ । तर, यो इन्टरनेट त्योभन्दा पनि सस्तो आयो । के बजारमा हलचल नै ल्याउन खोज्नुभएको हो ?
यसले हलचल हुँदैन, तर ठूला ठूला कम्पनीहरूले सुध्रिनुपर्यो । आमनागरिकहरूलाई लुट्ने मानसिकता त्याग्नु पर्यो । यो आवश्यक भएकोले सर्वसुलभ दरमा प्रदान गर्नुपर्यो । अब सबैले मूल्य घटाउनुको विकल्प नै छैन । ग्राहकले पनि विचार गर्छन् ।
– इन्टरनेट कम्पनीहरूलाई इन्टरनेट सस्तोमा दिन केही समस्या छ ?
यहाँ इन्टरनेट सस्तोमा दिनु समस्या होइन । जस्तै वाईफाई नेपालले नै सबैभन्दा सस्तोमा इन्टरनेट दिन्छु भनेर दावा गर्छ । त्यो वर्ल्डलिंकबाटै सञ्चालित कम्पनी हो । आफ्नो कम्पनीको दर कम गर्दा पूरै देशभर दर नै खल्बलिने भएकोले आफ्नो ग्राहक नगुमोस् भनेर अर्को नामबाट चलाएको इन्टरनेट कम्पनी हो ।
इन्टरनेटको दुई-तीन ठाउँमा समस्या छन् । अफिसमै गएर तिर्दा अलग खर्च लाग्छ । अनि घर तथा पसलमा छुट्टै वाईफाई लगाउदा एउटा ठाँउको वाईफाई खेर गइरहेको हुन्छ । तर, मेरो इन्टरनेटमा १५० रूपैयाँमा नै दुवै ठाउँमा एउटै पैसाबाट चलाउन सकिन्छ । १५० रूपैयाँमा दुवै ठाउँमा इन्टरनेट चलाउन सक्नुहुन्छ । पैसा घर र अफिसको छुट्टै तिर्नु पर्दैन ।
त्यस्तै, पैसा तिर्न कतै जानु पर्दैन । पसलमा गएर रिचार्ज कार्ड किनेर गर्दा हुन्छ । केही समस्या पर्दा कल पनि नगर्दा हुन्छ । मिस कल गर्दा हाम्रो हटलाइन रहेको छ । जसले हामी आफैंले कल गर्छौं । त्यो सेवा ग्राहकको एक रूपैयाँ पनि बचाउछौं ।
– तपाईंहरूका लागि इन्टरनेटको लागत मूल्य कति पर्छ ?
समग्रमा भन्न सकिँदैन । तर, घरमा एकजनाको मोबाइलको खर्च २० रूपैयाँभन्दा माथि जाँदैन । बाँकी अन्य सञ्चालन तथा मर्मतमा लाग्ने हो । तारको खर्च, पोल भाडा तिर्नुपर्यो । लागत भनेको अन्य खर्चले बढाउने हो ।
– तपाईँको इन्टरनेटको जडान शुल्क कति छ ?
हामीले कुनै जडान खर्च लिँदैनौ । १५० रूपैयाँमा अतिरिक्त एक रुपैयाँ लिँदैनौं । तार र राउटर तपाईंले बजारबाट किन्नु्पर्ने हुन्छ । हामीले तार र राउटर बेच्ने गरेका छैनौं । तपाईँले बजारबाट जुनसुकै राउटर किनेर हामीलाई फोन गर्नुभयो भने हामी नि:शुल्क जडान गरिदिन्छौं । हामीलाई चाहिने भनेको इन्टरनेटको १५० रूपैयाँमात्रै हो ।
घर सार्दा पनि एक रुपैयाँ लाग्दैन । शुल्क तिर्न नसकेमा पनि हरेक दिन आधि घण्टा निशुल्क चल्छ इन्टरनेट ।
– ग्राहकहरूको प्रतिकृया कस्तो रहेको छ ?
अहिलेसम्म हामी परीक्षणमा थियौं । एक हप्ताभित्र लञ्च गर्दैछौं । अहिले ३ हजारले यो इन्टरनेट फ्रिमा चलाइरहेका छन् । त्यसमा ग्राहकहरूको प्रतिक्रिया उत्साहजनक छ । कुनै पनि समस्या देखिएको छैन ।
– इन्टरनेट जडान गराउन कहाँ सम्पर्क गर्ने कसरी गर्ने ?
हाम्रो अफिस नेपालगञ्ज क्यूएफएक्स फिल्म हलको अगाडि रहेको छ । यसका साथै मोबाइलबाट फोन गरेर पनि हुन्छ । २० वर्ष पुरानो केबल अफिस रहेको छ । इन्टरनेट जडान गर्नुभन्दा २/४ दिन अगाडि भन्नुपर्ने हुन्छ । किनभने हामी प्रत्येक दिन २० देखि २५ घरहरूमा काम गरिहेका छौं । हामी आफ्नो समय मिलाएर गर्दै छौं ।
– यति सस्तोमा इन्टरनेट प्रदान गर्दा अन्य कम्पनीहरूबाट थ्रेट त आएको छैन ?
यस्तो खालका कामहरू सुरू भइसकेका छन् । अन्य कम्पनीले हाम्रो कर्मचारीहरूलाई भड्काएर वा लोभ्याएर लैजाने गरेका छन् । उनीहरूले अवरोध गर्न सुरू गरिसकेका छन् । यो भनेको प्रविधि हो । यसलाई रोक्न सकिदैन । मैले नगरेमा अरु कसैले गर्छ । नेपालमा विस्तारै सस्तो हुदै जान्छ ।
– विश्व बजारमा इन्टरनेटको कस्तो खालको दर र प्रयोग रहेको पाइन्छ ?
वास्तवमा इन्टरनेट फ्रि नै हो । यसको पैसा पर्दैन । जुन पैसा लाग्छ, त्यो भनेको ‘क्यारिङ चार्ज’ हो । विश्वभरी इन्टरनेट फ्रि नै रहेको छ । फेसबुक ट्वीटर, यूट्युब सबै फ्रि नै छन् । कसैले म पैसा तिरिरहेको छु भन्छ भने त्यो लुटमात्रै हो ।
– पछिल्लो समय इन्टरनेट स्लो हुने, रोकिने नभेर ग्राहकहरूको गुनासो धेरै सुनिन्छ । यस्तो किन हुन्छ ?
यहाँ आईएसबी कम्पनीहरूको दादागिरी रहेको छ । जति पनि पोर्न साइटहरू थिए, सरकारले तीन चार वर्षअघि नै बन्द गराइसकेको थियो । तर आइएसबीहरू कानुनी बन्देजहरू मान्दै मान्दैनन् । इन्टरनेट सुस्त हुने कारण भनेको शुल्क बढी लिने तर सुविधा कम दिन खोज्नको नतिजा हो ।
– यो यति सस्तो इन्टरनेट प्रदान गर्ने अवधारण कसरी आयो ?
सबैभन्दा पहिला म आफैं टेलिकमको विद्यार्थी हुँ । मैले अष्ट्रेलिया टेलिकममै डिप्लोमा गरेको हुँ । नेपालमा म केबल अपरेटर थिएँ । तीन-चार वर्ष पहिला आइएसपीहरूले इन्टरनेट लिनुस, टीभी फ्रि भनेर लगभग ८० प्रतिशत ग्राहक लगिदिए । त्यतिबेला हामीले स्वीच गर्न सकेनौं ।
हाम्रो ग्राहक लगिसकेपछि हामीले यो के रहेछ भनेर बुझ्दा टिभी महंगो र इन्टरनेट सस्तो रहेछ । उनीहरूले चाहीँ टिभी सस्तो, इन्टरनेट महंगो भनेर हामीलाई गिराउनु भयो । पछि हामीले सबै कुरा थाहा पायौं ।
सबै इन्टरनेटमा एउटा समस्या देखिन्छ । कहीँ कतै जाँदा वाईफाईको पासवर्ड माग्दा आफैँलाई अफ्ठेरो लाग्छ । तर, मरो इन्टरनेटमा त्यस्तो केही छैन । मेरो नेटर्वकभित्र कसैसँग पासवर्ड माग्नु पर्दैन । आधा घण्टा अटो कनेक्ट हुन्छ । पहिले नै हामीले टेस्टिङको लागि छोडेका थियौं । अहिले पनि चाहिएमा हामी गएर जडान गरिदिन्छौं ।
– तपाईंले प्रदान गर्ने इन्टरनेटका विशेषताहरू के कस्ता रहेका छन् ?
बच्चाहरूको मोबाइलमा पोर्न साइटहरू चल्ने कुराहरू हामीले लक गरिदिएका छौं । बच्चाको मोबाइलमा पब्जी र पोर्न साइटहरू खुल्दैनन् । १८ वर्षभन्दा मुनिका बच्चाहरूले कुन-कुन साइटहरूमा लगइन गरेको छ ? कुन-कुन साइटहरू चलाएको छ ? त्यसको बारेमा महिनाको १ गते आमाबुबालाई प्रिन्ट पठाइदिन्छौं । मैले बुझेको समस्याको समाधान गरेको छु । यसमा १५ जना इन्जिनियरहरू छौं । अढाई वर्षदेखि यो समस्यालाई समाधान गर्दै गर्दै यहाँसम्म आइपुगेका छौं ।
– तपाईहरूको भावी योजना के-के छन् ?
अहिले सबैले १५० रूपैयाँमा चलाउन् । अबको तीन/चार वर्षमा पूर्णरूपमा फ्रिमा नै उपलब्ध हुन्छ । यो प्रविधिले फड्को मार्छ । फड्को मार्नेवित्तिकै इन्टरनेट भन्ने कुरा निशुल्क हुनुपर्छ ।

मेरो मान्यता पनि त्यही हो । भोलिको दिनमा यो सम्भव हुन्छ । सबै ठाँउमा त जान सकिन्न । अन्य ठाउँका मानिसहरूले यस्तो गर्न चाहे लैजान सक्छौं । अहिले यस्तो प्रविधि आइरहेको छ । जहाँ २ किलोमिटरसम्म राउटर चल्छ । मेरो अनुमान लगभग ४ वर्षमा इन्टरनेट निशुल्क उपलब्ध हुन्छ ।
– हामीले ल्याउने इन्टरनेटको पैसा पर्दैन बाहिरबाट ल्याउँदा ?
यो खाली पूर्वाधारको मात्रै पैसा हो । दिल्लीबाट काठमाडौंको भाडा मात्रै हो लाग्ने । काठमाडौंदेखि नेपालगञ्जको भाडा हो । नेपालगञ्जको अफिसबाट ग्राहकसम्म पुर्याएको भाडामात्रै हो लाग्ने । इन्टरनेटको पैसा लाग्ने होइन ।
-बाहिरी कम्पनीहरूले फ्रिमा दिएको हन्छ इन्टरनेट कसरी दिन्छ ?
उस्ले निशुल्क रूपमा इन्टरनेट दिएको हुन्छ । यहीँका आईएसपीहरूलाई सेध्ने हो भने थाहा हुन्छ । फेसबुक, युट्युब, गुगलले सबैलाइ निशुल्क दिएको छ । सर्वर नै राखिदिएको छ १० करोड २० करोडको । तर, इन्टरनेट कम्पनीहरूले झुक्याएर पैसा लिएका हुन् । यसको पैसा केही कतै पर्दैन ।
– नगरपालिका तथा विद्यालयहरूमा निशुल्क इन्टरनेट बाँडिरहेका हुन्छन । यस्तो केही गर्नुभएको छ ?
हाम्रो पहिला आम सर्वसाधारणहरूको क्षेत्र रहेको छ जस्तै हस्पिटल, बसपार्क तथा सर्वाजनिक क्षेत्रमा जडान गर्ने । भोलि मैले निशुल्क सबैलाई इन्टरनेट दिए भने नगरपालिका गायउँपालिकाले अरु कसैलाई पैसा दिनु पर्दैन । पहिला निशुल्क इन्टरनेट दिन्छु भनेर ढाटिरहेकालाई रोक्नुपर्यो । त्यो आम जनताहरूले थाहा पाउँछन् तब आफैं बन्द हुन्छन् ।
– दुई-तीन वर्ष अध्ययन गर्दा के के भोगाइहरू बाधाहरू रहे ?
पहिला यति सस्तो इन्टरनेट प्रदान गर्दा के कति सामानहरू ल्याउनुपर्यो । त्यसैमा कोभिडको समय थियो । सामान आउन तीन-चार महिना लाग्ने । अनुसन्धानमै मेरो दुई करोडभन्दा बढी खर्च भयो । अहिले बल्ल हामी विनाअवरोध यसरी बाँड्न सफल भयौं ।
– विनाराउटर कसरी इन्टरनेट चल्छ ?
हामीले ठाउँ-ठाउँमा ‘एक्सेस प्वाइन्ट’ लगाएका छौं । त्यसको दूरी २०० मिटरसम्म काम गर्छ । त्यो दूरीभित्र तपाईँको घर छ भने, त्यहाँ राउटर लगाउनु परेन । कोठाभित्र वा टाढा वाईफाई नपुग्ने अवस्थामा त्यहाँमात्रै राउटर लगाउनुपर्ने हुन्छ । त्यो पनि जुन तपाईँलाई मन पर्छ त्यही किनेर ल्याउँदा पनि हुन्छ । त्यो राउटर पछि जुनसुकैमा पनि प्रयोग गर्नमिल्ने हुन्छ । भोलिको दिनमा मेरो सेवा मन परेन भने अर्को कम्पनीसँग गएर प्रयोग गर्न सक्नुहुन्छ ।
– तपाईँको इन्टरनेट नेपालगञ्ज बाहेक अन्य ठाउँहरूमा अरुले बिक्री गर्न चाहेमा के गर्नुपर्छ कहाँ जानुपर्छ ?
कसैले यस्तै इन्टरनेट अन्य ठाउँमा लैजान चाहन्छन् भने, मैले सहयोग गर्ने भनेको प्रविधिमा हो । यसलाई सकारात्मकरूपमा चाहिँ प्रयोग गरिदिनुपर्यो । एउटा सामान्य आमाबुबाले बच्चा पढ्छ भनेर हजारौं रूपैयाँ जडान भनेर लगिरहेको देखेर यो सुविधा ल्याएको हो । यदि कसैले सकारात्मक रूपमा यसको सदुपयोग गर्छ भने म पूर्णरूपमा प्राविधिक सहयोग गर्न तयार छु ।

Leave a Reply