‘डिनर मिटिङ’मा तारा जोशीलाई पार्टीमा आउन घनश्याम भुसालको प्रस्ताव : जोशीले भने- म स्वतन्त्र नै रहन्छु

कैलाली । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले स्वतन्त्र निर्वाचित सुदूरपश्चिम प्रदेशका सांसद डा. तारा जोशीलाई आफ्नो पार्टीमा आउन प्रस्ताव गरेका छन् ।

मेची महाकाली अभियानका लागि धनगढी पुगेका भुसालले धनगढीको एक होटेलमा डिनर मिटिङ राख्दै यस्तो प्रस्ताव राखेका हुन् । भुसाल सहित नेकपा एकीकृत समाजवादीका अन्य केही नेताहरू पनि उक्त डिनर मिटिङमा सँगै थिए ।

‘महासचिव ज्यूले डिनर मिटिङमा अबको गन्तव्य नेकपा एकीकृत समाजवादी गर्ने गरी पार्टी प्रवेशको प्रस्ताव राख्नु भएको हो तर, सांसद जोशीले तत्कालै पार्टीमा आउन नसक्ने बताउनु भयो’ स्रोतले भन्यो।

जोशी तत्काल नेकपा एकीकृत समाजवादीमा आउन नसक्ने बताएपछि घनश्याम भुसालले धेरै जोड दिएनन् । त्यसपछि खाना खाउन्जेल उनीहरू बिच अन्य समसामयिक विषयमा छलफल भएको थियो ।

सांसद जोशीले आफूलाई पार्टीमा भित्रिन आग्रह गरेको र तत्काल आफू स्वतन्त्र नै रहने प्रतिक्रिया दिएको बताए । ‘हो उहाँले (घनश्याम भुसाल) ले भन्नुभएको हो । मैले केही वर्ष स्वतन्त्रकै भूमिकामा रहन्छु भनेको हुँ ।’

मेची महाकाली जागरण अभियानको लागि माधव कुमार नेपाल पनि धनगढी पुगेका थिए । महासचिव भुसालसँग जोशीको संवाद हुँदा अध्यक्ष नेपालसँग जोशी भेट भएन । नेपालले जोशीलाई धनगढी आउनु भन्दा पहिले फोन सम्पर्क गरेका थिए । उनीहरू बिच फोनमा कुरा भए पनि प्रत्यक्ष भने भेट भएन ।

यस अघि पनि नेपालले जोशी भेट्न खोजेका थिए तर, जोशीले मानेनन् ।

को हुन् जोशी ?

एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीमा लागेका जोशी केन्द्रीय सदस्य तथा उद्यमशीलता विकास विभाग प्रमुखको जिम्मेवारीमा थिए ।

प्रदेशसभा निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट प्रदेश सभा सदस्यको आकाङ्क्षी रहेका जोशीलाई पार्टीले टिकट दिएन । त्यहाँ नेपाली कांग्रेसका नेता तथा तत्कालीन सामाजिक विकास मन्त्री गोविन्द बोहराले गठबन्धनबाट टिकट पाए ।

२०७४ मा ३५६ मतले मात्रै पराजित भएका जोशीलाई यस पटक जनताले पत्ताउने विश्वास थियो । पार्टी विश्वास नगरेपछि स्वतन्त्र उठे र जिते ।

आफूलाई टिकट दिँदा चासो नदिएको र त्यसपछि कारबाहीका लागि विज्ञप्ति जारी गरेको भन्दै जोशी अहिले नेकपा एकीकृत समाजवासीसँग रुष्ट छन् ।

धनगढी पुगेको घनश्याम भुसालले मात्रै होइन त्यस अघि पनि जोशीलाई पार्टीमा भित्राउन नेकपा एकीकृत समाजवादीले पहल नगरेको होइन ।

मङ्सिर २८ गते धनगढीमा सम्पन्न नेकपा एकीकृत समाजवादीको प्रदेश बैठकमा पनि जोशीलाई भित्राउनु पर्ने आवाज उठेको थियो । उक्त बैठकमा केन्द्रीय उपाध्यक्ष प्रवेश हमाल पनि उपस्थित थिए ।

बैठकमा रिपोर्टिङ गर्ने जिल्ला इन्चार्ज र अध्यक्षहरूले तारा जोशीलाई पार्टीमा ल्याउन कुनै कसर बाँकी राख्न नहुने बताएका थिए ।

Comments

One response to “‘डिनर मिटिङ’मा तारा जोशीलाई पार्टीमा आउन घनश्याम भुसालको प्रस्ताव : जोशीले भने- म स्वतन्त्र नै रहन्छु”

  1. ksp pyl Avatar
    ksp pyl

    आफू भोलि कुन पार्टीमा छिर्ने हो ठेगान छैन । अरूलाई आईज भन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *