पत्रकार महासंघ बागमती प्रदेश कार्यालयमा ताला, अध्यक्षको नेमप्लेट अम्बाको रुखमा

हेटौँडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेशको कार्यालयमा तालाबन्दी भएको छ । पत्रकार शुद्धीकरणको विषयमा प्रेस चौतारी नेपाल, बागमती प्रदेश कमिटीले असन्तुष्टि जनाउँदै तालाबन्दी गरेको हो ।

नेपाल पत्रकार महासंघको जिल्ला कार्यसमितिले सहमति गरेर पठाएको नामावली समेत काटेर आफूखुसी गैर पत्रकारलाई समेत नवीकरण गरेर केन्द्रमा सिफारिस गरेको भन्दै चौतारी बागमती प्रदेश कमिटीले प्रदेश कार्यालय हेटौँडामा तालाबन्दी गरेको हो ।

आस्थाको आधारमा चौतारीका क्रियाशील पत्रकारको नाम पत्रकार महासंघले काटेको र आफूखुसी गैर पत्रकारलाई महासंघको सदस्य सिफारिस गरेको र सोहि अनरुप शुद्धिकरण समितिले नामावली सार्वजनिक गरेको भन्दै आफूहरूले बाध्य भएर तालाबन्दी गर्नुपर्ने प्रेस चौतारी नेपाल बागमती प्रदेशका कार्यवाहक अध्यक्ष राधेश्याम खतिवडाले बताए ।

बागमती प्रदेश समितिले उक्त नामावली नसच्याए आन्दोलनको कार्यक्रमलाई थप सशक्त बनाइने उनले बताए ।

पत्रकार महासंघ बागमती प्रदेश समितिले यस अघि भएको सर्वपक्षीय बैठकको निर्णय विरुद्ध गएर मनलाग्दी ढंगबाट केन्द्रमा नाम पठाउनु क्रियाशील पत्रकार विरुद्धको षड्यन्त्र भएको खतिवडाको भनाई रहेको छ ।

पत्रकार पेशामा क्रियाशील रहँदा पनि नाम काटिएको विरोधमा महासंघको बागमती प्रदेश पुगेका पत्रकारहरूले महासंघका बागमती प्रदेश अध्यक्ष शिव देवकोटाको ‘नेम प्लेट’ महासंघ परिसरमा रहेको अम्बाको रुखमा झुन्ड्याइदिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *