काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच हालको गठबन्धन कायम राख्ने लिखित सहमति भएको छ ।
उनीहरुबीच शनिबार बिहान बालुवाटारमा यस्तो सहमति भएको हो । प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा कांग्रेस सभापति र नेता कोइरालाले यस्तो गठबन्धन दायाँबायाँ नहुने लिखित कबुलियतनामा गरेका हुन् ।
‘हामी वर्तमान सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट छौं र यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिनेछैनौं’, भनेर लेखिएको सहमतिमा प्रचण्ड, देउवा र कोइरालाले हस्ताक्षर गरेका छन् ।
कोशी प्रदेशमा कांग्रेसका कोइराला पक्षका केदार कार्कीसहित ८ जना सांसदहरुले विद्रोह गरेर एमालेसँग मिली कार्की मुख्यमन्त्ती बनेसँगै प्रधानमन्त्री प्रचण्ड सशंकित बनेका छन् । यद्यपी, कांग्रेससँगको बैठकमा प्रधानमन्त्रीले कांग्रेसले आन्तरिक विवाद मिलाए आफ्ना उम्मेदवार इन्द्र आङ्बोलाई ब्याक गराउने बताएका थिए ।
आजै बिहान ४७ जना प्रदेशसभा सांसदको सशरीर हस्ताक्षरपछि कोशीको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भइसकेका छन् । कोशीको असर केन्द्रमा पर्न नदिन प्रचण्ड, देउवा र शेखरबीच यस्तो सहमति भएको हो ।


Leave a Reply