पचासको दशकदेखि भूमिगत सशस्त्र युद्धबाट राष्ट्रिय राजनीतिमा जबरजस्त उदाएका पुष्पकमल दाहाल प्रचण्ड एक बहुरुपी पात्र हुन् । सामन्तवादको मूल नाइके राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा उनी र उनको पार्टीको महत्वपूर्ण भूमिका रहेकोमा भने विवाद छैन । उनै माओवादी सुप्रिमो प्रचण्ड अहिले संसदीय राजनीतिका सर्वाधिक पारङ्गगत खेलाडी बन्न पुगेका छन् । उनले शान्तिपूर्ण राजनीतिमा आएसँगै माओवादी आन्दोलनलाई ढाल बनाउँदै र माओ विचारधारालाई भजाउँदै आएका छन् । अनेकौं तिकडमका बीच सत्ता हत्याउन माहिर प्रचण्ड एउटा राजनीतिक पात्रमात्रै अवश्य होइनन् । उनी माओवादी क्रान्तिको उठान, विकास र पतनका कारक समेत हुन् ।
प्रचण्ड तिनै पात्र हुन्, जसले संसदीय राजनीतिमा पार्टीलाई वैयक्तिक र गुटगत महत्वाकांक्षा परिपूर्ति गर्ने साधनको रुपमा प्रयोगमात्रै गरेनन् । उनकै कारण माओवादी आन्दोलन सम्भवतः उठ्नै नसक्ने गरी थलासमेत प¥यो । हुँदाहुँदा उनमा सत्ता शक्तिप्रति एकोहोरो मोह, वर्ग शत्रु पक्षधरता र वामपन्थी शक्तिप्रति चरम प्रतिशोध देखिँदै गएको छ । यसले आवरणमा वामपन्थी आन्दोलन र समाजवादको रटान लगाउने तर भित्रभित्रै कम्युनिष्ट आन्दोलनलाई नै धराशायी बनाउन प्रचण्ड वैदेशिक शक्तिद्वारा परिचालित मुख्य पात्र हुन् भन्ने विरोधीहरुले उनीमाथि लगाउने गरेको आरोपको आशंकालाई बल पुर्याइरहेको छ ।
पचासको दशकमा वामपन्थी आन्दोलनलाई सशस्त्र संघर्षमार्फत् नयाँ उचाइमा पुर्याउन र परम्परागत शासन व्यवस्थामै फेरबदल ल्याउन जोखिमपूर्ण नेतृत्व गरेका क्रान्तिकारी योद्धा प्रचण्डमाथि यस्तो आशंका गरिनु के सही हुन्छ ? उनै प्रचण्ड साढे एक दशकको बीचमा मार्क्सवादी दर्शन र माओ विचारधाराविरुद्धको कित्तामा उभिन पुगेको कति सत्य हो ? यो विषय महत्वपूर्ण हुन पुगेको छ । त्यसकारण यी सवालहरुउपर राजनीतिक रुपमा गम्भीर समीक्षा हुनुपर्छ ।
माओवादी सुप्रिमो प्रचण्ड अहिले संसदीय राजनीतिका सर्वाधिक पारङ्गगत खेलाडी बन्न पुगेका छन् । उनले शान्तिपूर्ण राजनीतिमा आएसँगै माओवादी आन्दोलनलाई ढाल बनाउँदै र माओ विचारधारालाई भजाउँदै आएका छन् । अनेकौं तिकडमका बीच सत्ता हत्याउन माहिर प्रचण्ड एउटा राजनीतिक पात्रमात्रै अवश्य होइनन् । उनी माओवादी क्रान्तिको उठान, विकास र पतनका कारक समेत हुन् ।
जनस्तरबाट उनको कम्युनिष्ट आदर्शप्रतिको राजनीतिक-वैचारिक विचलन होस् वा दक्षिणपन्थी अवसरवादी प्रवृत्तिप्रतिको रुझान र संकीर्ण वामपन्थी चिन्तनबारे नै उठेको प्रश्न किन नहोस् । यी प्रश्नहरुको एकएक उत्तर नदिई प्रचण्डलाई धरै छैन । सशस्त्र विद्रोहताका उठाएका कतिपय गम्भीर राजनीतिक मुद्दा र कम्युनिष्ट आदर्शबाट माओवादी किन च्यूत हुँदै गयो ? पार्टी निरन्तर ओरालो लाग्दैगर्दा पनि कांग्रेसलगायतका पूँजीवादी लोकतान्त्रिक शक्तिहरुसँग सत्ताकै निम्ति सिद्धान्तहीन गठबन्धन गर्न प्रचण्डलाई केले बाध्य पार्यो ? कुनै बेला प्रधानमन्त्री निवासमा बलिदानी दिन तयार हुने प्रचण्ड र उनको पार्टीका नेताहरु कसरी काण्डैकाण्डमा मुछिन पुगे ? अब उनी र उनको पार्टीका नेताहरुमाथि लागेका यी तमाम आरोपहरुलाई विरोधीहरुका मिथ्या कुतर्क हुन् भनेर सहजै पन्छिने छुट प्रचण्डलाई छँदैछैन । कथंकदाचित प्रश्नको घेराबाट पन्छिएमा उनको व्यक्तित्व र दललाई झनै क्षति पुर्याउने निश्चित छ ।
लोकतन्त्र र समाजवादको दुहाइ दिएर फगत सत्ताकांक्षाको अभिष्टका निम्ति राजनीति गरिनु के कम्युनिष्ट दर्शनको असली अभ्यास हो ? बारम्बार लोकतन्त्रका आधारभूत सिद्धान्त र मूल्यप्रति प्रतिबद्ध रहेको भन्ने प्रचण्डले पार्टीमा आन्तरिक लोकतन्त्रको अभ्यासलाई किन निषेध गरे ? पार्टीभित्रैका आफ्ना विरोधीहरुलाई ढिम्किन नदिएको आरोप खेपेका एमाले अध्यक्ष ओलीको विराध गर्ने प्रचण्डले आफ्ना विरोधीहरुको स्वस्थ आलोचनालाई सुन्ने साहस र धैर्य किन राख्न सकेनन् र पाखा लगाए ? खासमा प्रचण्डले पार्टीको मूल नेतृत्व, सत्ता र शक्ति हत्याउन माओवादी विचार, संगठन र लोकतन्त्रलाई साधनको रुपमा प्रयोग गर्नु कसैगरी सही होइन । सत्ता र शक्तिको अभ्यास गर्न राजनीतिक दर्शन र पार्टीको गलत प्रयोग गर्ने कार्य वामपन्थी राजनीतिमा आफैंमा खतरनाक दृष्टान्त हो ।
प्रचण्डमा कुन तहको अवसरवाद रहेछ भन्ने बुझ्न एउटा उदाहरण लियौं । माओवादीमा भूमिगतकालदेखि नै दुईलाइन संघर्ष चल्दै आएको स्पष्टै छ । त्यस संघर्षमा वैद्यले हार्डलाइनर (शास्त्रीय मार्क्सवाद) र बाबुराम भट्टराईले सफ्टलाइनर (नेपाली मौलिक विशिष्टतामा मार्क्सवादको गतिशील प्रयोग) को नेतृत्व गरेका थिए । प्रचण्ड लाइन चाहिँ वैद्य पक्षधर र भट्टराई पक्षधरका बीचमा हुने संघर्षमा जुन समूहलाई उपयोग गर्दा आफू अनुकूलको परिणाम आउँथ्यो, त्यही समूहसँग कठालो जोड्ने थियो । त्यसबाट प्रचण्डको द्वैध चरित्र र अवसरवादी प्रवृत्ति प्रस्ट हुन्छ ।
सुप्रिमो प्रचण्ड पार्टीभित्र परिवार, नातागोता र आफन्तलाई राजनीतिक अवसर र संरक्षण प्रदान गरेको विषयमा निरन्तर आलोचित हुँदै आएका छन् । उनले आफ्नोविरुद्ध फरक मत राख्ने र गलत प्रवृत्तिको विरुद्धमा बोल्ने कैयौं नेताहरुलाई अवसरबाट पाखा लगाएका छन् । तर, विवादास्पद छविका कृष्णबहादुर महरा, ल्हारक्याल लामा र घरबेटी शारदाप्रसाद अधिकारीहरुप्रति उनको आशक्ति र आशीर्वाद निरन्तर रहेको छ । उनले पार्टीभित्र र बाहिर आलोचनाका बीच छोरीलाई मेयरमात्रै बनाएनन् कि बुहारी र ज्वाइँलाई मन्त्री बनाए । उनै प्रचण्ड छोरीलाई निर्वाचनमा जिताउन मतपत्र च्यातिँदा चूँसम्म बोलेनन् । के प्रचण्डको यस्तो स्वेच्छाचारी, लोकतन्त्रविरोधी र निषेधात्मक प्रवृत्तिले पार्टी र लोकतन्त्रलाई बलियो बनाउँछ ? कदापि बनाउँदैन । प्रचण्डको यही प्रवृत्तिले माओवादी झन् झन् ओरालो लागिरहेको छ । अब उनले बुझे हुन्छ, साक्षात भगवान आए पनि माओवादीलाई मालेकरण हुनबाट रोक्ने तागत कसैगरी राख्ने देखिँदैन ।
प्रचण्डका निम्ति वामपन्थी दलहरु वर्ग दुश्मन र सामन्तवादको जगमा उभिएको पूँजीवादी पार्टी नेपाली कांग्रेस कसरी वर्ग मित्र बन्यो ? उनी माओवादप्रतिको सिद्धान्तनिष्ठता र प्रतिबद्धताबाट विमुख हुनु र दक्षिणपन्थी अवसरवादी कित्तामा उभिन पुग्नु संयोगमात्रै अवश्य होइन । यो उनको माओवादी आन्दोलनप्रतिको धोका र चरम गद्दारी हो ।
स्वाभाविक प्रश्न उठ्छ, प्रचण्डको टाउकाको मूल्य पचास लाख तोक्ने देउवाविना आज सुप्रिमो राजनीतिक भान्सा गर्नै नसक्ने तहमा कसरी पुगे ? प्रचण्डका निम्ति वामपन्थी दलहरु वर्ग दुश्मन र सामन्तवादको जगमा उभिएको पूँजीवादी पार्टी नेपाली कांग्रेस कसरी वर्ग मित्र बन्यो ? उनी माओवादप्रतिको सिद्धान्तनिष्ठता र प्रतिबद्धताबाट विमुख हुनु र दक्षिणपन्थी अवसरवादी कित्तामा उभिन पुग्नु संयोगमात्रै अवश्य होइन । यो उनको माओवादी आन्दोलनप्रतिको धोका र चरम गद्दारी हो ।
माओवादीले सशस्त्र विद्रोहअघि पार्टीको लडाइँ वर्ग संघर्षमा आधारित हुने र वर्गीय मुक्ति मूल मुद्दा रहेको दुहाइ दियो । तर, युद्धताका चाहिँ वर्ग संघर्षको मुद्दा गौण र जातीय, क्षेत्रीय, लैङ्गिक तथा पहिचानमा आधारित मुद्दालाई प्रमुख बनायो । उसले जनतालाई जातीय-क्षेत्रीय राज्यको सपना बाँड्यो । त्यही जातीय राज्यको उन्मुक्त सपनाका पछि जनता युद्धमा होमिए । प्रकारान्तरले मार्क्सवाद र माओवादी राजनीतिक दर्शनमा आधारित वर्गीय संघर्ष गर्ने भनिए पनि जातीयता र क्षेत्रीयतावादको मुद्दालाई उचाल्ने प्रचण्ड नीति मूलभूत रुपमा मार्क्सवादी कम्युनिष्ट दर्शनको विरुद्धमा थियो । अन्ततः देशमा आज आएर माओवादी आन्दोलनले उठाएको पहिचान र जातीय मुद्दा सामाजिक हिंसा र द्वन्द्वमा परिणत हुने खतरा देखिएको छ । के यसको दोष माओवादी पार्टी र त्यसको मूल नेतृत्वले लिनुपर्दैन ? जरुर लिनुपर्छ ।
प्रचण्डको अर्को विशेषता हो, विभाजन । उनी जहाँ टेक्छन्, त्यहाँ विभाजनको तुफान र आँधी ल्याउँछन् । प्रचण्डले एमालेसँग पार्टी एकताको नारा जपेर उल्टो टुक्र्याइदिए । उनका नजरमा एमालेमा फुट ल्याउनु उपलब्धि होला । तर, हेक्का रहोस्, समाजवाद स्थापना भएको हेर्न चाहने सच्चा वामपन्थीहरुले चाहिँ विभाजनमा नभइ एकता गर्ने खुबीमा प्रचण्डको तागतको मूल्यांकन गर्नेछन् ।
अन्त्यमा, अब प्रचण्डले फगत सत्ताका निम्ति पार्टी, माओवादी आन्दोलन र लोकतन्त्रलाई ढाल बनाउन बन्द गर्नुपर्छ । राजनीतिक जीवनको उत्तरार्द्धमा रहेका प्रचण्ड संकीर्ण राजनीतिक चिन्तनबाट मुक्त हुनुपर्छ । कम्युनिष्ट आन्दोलनमा देखिएका कैयौं कमजोरीहरुलाई सुधार गर्दै वामपन्थी शक्तिहरुको बीचमा बृहत एकता गर्ने दिशामा उनी लाग्नुपर्छ । उनले मोर्चाको नाममा राजनीतिक अस्तित्व रक्षामात्रै नभइ नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा र विकासको यात्रालाई अघि बढाउन पहल लिनुपर्छ । यदि उनमा समाजवादप्रतिको साँचो प्रतिबद्धता छ भने एमालेसँग पुनः एकताको हात अघि बढाउनु श्रेयष्कर हुनेछ ।
(लेखक विश्वकर्मा त्रिविमा समाजशास्त्रमा एम्फिलका शोधार्थी हुन् ।)

Leave a Reply