संविधान मास्ने षड्यन्त्र भइरहेको छ : माधव नेपाल

कैलाली । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संविधान मास्ने षड्यन्त्र भइरहेको बताएका छन् ।

समाजवादी जागरण अभियान अन्र्तगत आज १२ औं दिन सुदूरपश्चिमको टीकापुरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले धरान, सर्लाही र नेपालगञ्जका साम्प्रदायिक घटनाले त्यस्तो संकेत गरेको बताए । उनले भने, ‘सामाजिक सद्भावलाई भड्काउने केही कोसिस भइरहेको छ । त्यस्ता प्रयत्नहरुलाई हामीले असफल पार्नुपर्छ ।’

उनले जनताको बीचमा प्रेम, आपसी सद्भाव वृद्धि गर्नका लागि आफ्नो पार्टीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । उनले भने, ‘यस्तो कुरामा सरकार सचेत रहोस् ।’

संसारको कुनै पनि व्यवस्था आफैंमा पूर्ण नहुने भन्दै व्यवस्थाको विकास र परिष्कारको क्रम निरन्तर रहने उनले बताए ।

उनले देशको सिमानाकाबारेमा संयमितभएर बोल्नु पर्ने बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई इंगित गर्दै उनले भने, ‘एक अर्को देशको राष्ट्रियता, अखण्डता र स्वाधीनताको सम्मान हुने गरी अभिव्यक्ति दिनुहोस् ।’

नेपालको संसदमा भारतीय प्रधानमन्त्री मोदीले सम्बोधन गरेको स्मरण गर्दै उनले भने, ‘जसरी गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भनेर नेपालको संसदमा बोल्नुभयो, नेपाली जनताको मन जित्नुभयो, अब सिमानाका बिषमा पनि स्पष्ट हुनुहोस् ।’

अर्को प्रसंगमा अध्यक्ष नेपालले युवाहरुमा राजनीतिप्रति वितृष्णा सिर्जना हुने गरी भ्रम सिर्जना गरिएको बताउँदै एकीकृत समाजवादीले युवाहरुलाई समेट्दै अगाडि बढीरहेको र जागरण अभियानका क्रममा हजारौं युवाहरुलाई समेटेको दाबी गरे । उनले भने, ‘युवाहरु निराश नहुनुहोस्, हामी छौं, जनताको माझमा जाँदा सकारात्मक प्रभाव पाएका छौँ, युवाहरुको आकर्षण बढेको छ, अब निराश हुनुपर्दैन ।’

समाजवादी जागरण अभियानका क्रममा २६ असोज, शुक्रबारका दिन कैलाली जिल्लाका लम्की, सुख्खड, अत्तरिया हुँदै धनगढीमा विविध कार्यक्रमको आयोजना गरिने भएको छ । उक्त अभियान २७ असोज, शनिबार कञ्चनपुर जिल्लाको पुनर्वास, झलारी हुँदै लालपुर र महेन्द्रनगरसम्म पुग्ने छ । अभियान २८ असोज, आइतबार सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा विविध कार्यक्रमसहित समापन हुने भएको छ ।

Comments

One response to “संविधान मास्ने षड्यन्त्र भइरहेको छ : माधव नेपाल”

  1. ksp pyl Avatar
    ksp pyl

    किन तिमीलेजस्तै काँग्रेसकाले क्रस भोट गरे भनेर ? लाज छैन बोल्न ? तिमीहरू लैनचौरका हण्डी खाने हौ । देश बेचुवा हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *