रुपन्देही । रुपन्देहीको बेलहिया नाकामा चाडपर्वका बेला यात्रु तथा पर्यटकलाई हुनसक्ने हैरानी एवं ठगी नियन्त्रण गर्दै गन्तव्यसम्म पुर्याउन नागरिक यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ ।
भारतमा जाने आउने यस क्षेत्रको प्रमुख सीमा नाका बेलहिया हो । नेपालीहरुको मुख्य चाडपर्व नजिकिएसँगै यो नाका हुँदै धेरै नेपाली आउने र सीमा क्षेत्रमा धेरै समस्या झेल्नुपरेका यसअघिका समस्यालाई ध्यान दिँदै यस्तो सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही र जिल्ला प्रहरी कार्यालयले यसको समन्वय गरेका छन् । बेलहियाको यात्रु कक्ष सञ्चालन गर्न स्वास्थ्य कार्यालय, पर्यटन प्रहरी, सिद्धार्थनगर नगरपालिका र स्थानीय संघसंस्थाले सहयोग गरेका छन् ।
यससँगै रुपन्देहीमा यात्रुको आवागमन र बढी भीड हुने कालीदह नाका, लुम्बिनी, भैरहवा र बुटवल बसपार्क गरी पाँच स्थानमा पनि बिहीबारदेखि यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
खासगरी दशैं, तिहार र छठ पर्व मनाउन भारतलगायत विदेशबाट घर आउने नेपाली यात्रु तथा अन्य पर्यटकलाई सीमा नाका र यात्रा अवधिमा हुनसक्ने ठगी एवं लुटपाट जस्ता सम्भावित घटनाबाट सुरक्षित बनाउन बिहीबारदेखि बेलहियामा एकीकृत नागरिक यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले यात्रु कक्षमा बिरामी यात्रुको उपचार र स्वास्थ्य जाँचका लागि औषधिसहित स्वास्थ्यकर्मीसमेत उपलब्ध गराइएको बताए । उनका अनुसार यात्रु सहायता कक्षमा लामो तथा छोटो दुरीका बसका चालक र सहचालकको नियमित स्वास्थ्य परीक्षण, चालकको रक्तचाप, ज्वरो, आँखाको भिजन, मादकपदार्थ सेवनलगायत जाँच गरिनेछ ।
यससँगै यात्रु सहायता कक्षमा बेलहिया र भैरहवाबाट मुलुकभर बस सञ्चालन हुने स्थानको निर्धारित यात्रु भाडादरसहितको सूचना बोर्ड राखिएको छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बेलहिया सीमा नाका चाडपर्वको बेलामा मात्र नभएर अन्य जुनसुकै वेलामा पनि यात्रु र पर्यटकको आवागमनले भीड हुने गर्दा चाडपर्वलाई लक्षित गरी स्थापना गरिएको यात्रु सहायता कक्षलाई निरन्तरता दिनेबारेमा पहल गरिने बताए ।
दशैंतिहार र छठ जस्ता चाडपर्वका बेलामा बेलहिया सीमामा यात्रु तानातान, चोरी, लुटपाट, दुर्व्यवहार, बसको एउटै सीटको टिकट धेरै जनालाई दिने, धेरै भाडादर असुल्ने जस्ता ठगीबाट यात्रु बढी हैरानीमा पर्ने गरेको समाचार पटक पटक आउने गरेका छन् ।

Leave a Reply