रुपन्देही । सातै प्रदेश योजना आयोगका उपाध्यक्षहरू प्रदेशहरूको दोस्रो आवधिक योजना निर्माण तथा प्रदेश योजना आयोगको अवस्था र अबको भूमिकाका विषयमा छलफल गर्न बिहीबारदेखि रुपन्देहीको लुम्बिनीमा भेला हुने भएका छन् ।
लुम्बिनी प्रदेश योजना आयोगले समन्वयमा गरेको यो भेला दुई दिनसम्म चल्नेछ । भेलामा कोशीबाहेक सबै प्रदेशका योजना आयोगको उपाध्यक्ष, सातै प्रदेशका पूर्वमुख्यमन्त्रीहरु र लुम्बिनी प्रदेशका वर्तमान मुख्यमन्त्रीको सहभागी रहने लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष नहकुल केसीले जनाए ।
उनका अनुसार ६ प्रदेशका योजना आयोगका उपाध्यक्षहरू, मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत, गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लीला गिरी र कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको उपस्थिति रहनेछन् । भेलाको लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गर्ने कार्यक्रम छ ।
भेलामा सबै प्रदेशहरूको दोस्रो आवधिक योजनाबारे छलफल, संघीयता कार्यान्वयनमा प्रदेश योजना आयोगहरूको अहिलेसम्मको भूमिका, अधिकार प्रत्यायोजनको अवस्था र अबका दिनमा आयोगले खेल्नु पर्ने भूमिकाको विषयमा छलफल हुनेछ ।

Leave a Reply