रुपन्देही । एक साता अघिदेखि तनावग्रस्त बाँकेको नेपालगञ्जको जनजीवन सामान्य बन्न थालेको छ। जिल्ला प्रशासनले ६ दिअघिबाट लगाएको कर्फ्यु र निषेधाज्ञा पनि क्रमशः खुकुलो बन्दै गएको छ । उपमहानगरपालिकामा दिउँसोको समयमा जारी निषेधाज्ञा र रातिको ‘कर्फ्यु’ खुकुलो बनाइएपछि जनजीवन क्रमशः सामान्य बन्दै गएपनि अझै द्वन्द्वको त्रास हटेको छैन ।
हिन्दु र मुस्लिम समुदायबीच विवाद बढ्दै गएपछि असोज १६ गते दिउँसो १ बजेदेखि नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु लगाइएको थियो भने असोज १८ गतेदेखि दिउँसोको कर्फ्यु हटाइ रातिको कर्फ्यु कायमै राखिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जनजीवन सामान्य बन्दै गएपछि निषेधाज्ञा र कर्फ्युको समयावधि कम गरिएको जनाएका छन् । अहिले विद्यालय र कलेज सञ्चालनमा आएका छन् भने बजारमा पनि केही पसल खुलेका छन्।
जिल्ला प्रशासन कार्यालय बाँकेले आज सूचना जारी गर्दै बिहान १० देखि राति १० बजेसम्म पाँच जनाभन्दा बढी भेला भई प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा कायम गरेको जनाएको छ। रातीको कर्फ्यु कायम राखिएको छ ।
दिउँसो कर्फ्यु हटे पनि उपमहानगरपालिका क्षेत्रभित्र बिहान १० देखि राति १० बजेसम्म कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोष्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न वा लेख्न पाइने छैन। साथै हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँचजना भन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ। हिन्दू र मुस्लिम समुदायको विवाद कम गर्न दुवै धर्मका धर्मगुरुहरु सहमत भएका छन् । यहाँका सबै राजनीतिक दलहरु पनि सहमत छन् तर प्रदर्शन गर्ने समूहको नेतृत्व कसले गरेको छ भन्ने विषय आश्चर्यमा स्थानीय रहेका छन् ।

Leave a Reply