काठमाडौं । पुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बालुवाटारबाट बालकोट फर्काउन भूमिका खेल्नेमध्येका एक हुन्- माओवादी उपमहासचिव वर्षमान पुन । प्रचण्ड बालकोट पुगेर एमालेको समर्थनमा प्रधानमन्त्री त बने तर त्यो सहकार्य लामो समयसम्म टिकेन ।
प्रचण्डले राष्ट्रिय सहमति भन्दै एमालेलाई राष्ट्रपति छाड्न तयार नभएपछि पुस १० को समीकरण भत्किएको थियो । त्यसबेला वर्षमान उपचारको क्रममा चीनमा थिए । त्यसबेला माओवादीमा वर्षमान घटक एमालेसँगको सहकार्य जोगाएर जानुपर्ने पक्षमा थियो ।
अहिले सत्ता गठबन्धनका सबैभन्दा ठूलो घटक नेपाली कांग्रेसभित्र प्रचण्डको विकल्प खोज्नुपर्ने दबाब बढ्दै जाँदा उनले फेरि एमालेसँग सहकार्य हुनसक्ने प्रसंग कोट्याएका छन् । सहकार्यमात्रै नभएर फेरि पार्टी नै एकता हुनसक्ने सम्भावनासमेत वर्षमानले व्यक्त गरे । पुन: मिल्नुपर्ने अवस्था आउन सक्ने भएकाले धेरै टाढा पुगेर माओवादी आन्दोलनको योगदानलाई अवमूल्यन नगर्न एमाले अध्यक्ष ओलीलाई उनको आग्रह छ ।
‘हिजो हामीले नेकपा बनायौं । यद्यपि टिकाउन सकिएन, इतिहासले त्यसको समीक्षा गर्दै गर्ला । कम्युनिष्ट पार्टीहरू मिलेर फेरि पनि ढिलो चाँडो संयुक्त मोर्चा, पार्टी एकता, गठबन्धन या संयुक्त सरकार कुनै पनि रूपमा जाने सम्भावना छ’, पुनले शनिबार एक कार्यक्रममा भने ।
उनले केही समयअघि नेपाल प्रेससँगको अन्तर्वार्तामा ओली र प्रचण्ड दुवै जोखिम लिनसक्ने नेता भएकाले पुनः एकताको सम्भावना भएको स्वीकारेका थिए ।
नेपालको सत्ता समीकरण फेरबदलमा छिमेकी मुलुकको पनि हात हुन्छ भन्ने कुरा पछिल्लो परिदृष्यबाट लुकेको छैन । माओवादी नेता पुन चीनसँग नजिक छन् । चीनले नेपालमा कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाउन प्रयास गरिरहेको छ । यसअघि नेकपाको एकता भंग हुनबाट रोक्न पनि ठूलै प्रयास गरेको थियो । तर, सफल भएन ।
अहिले प्रचण्डले कांग्रेससँग सत्ता सहकार्य गरेर अर्को छिमेकी मुलुक भारतसँग पनि सम्बन्ध स्थापित गराउन खोजेको चर्चा छ । तर, माओवादीभित्र प्रचण्डलाई आगामी निर्वाचनलाई पनि केन्द्रित गरेर कम्युनिष्ट एकताको पहल गर्नुपर्नेमा पनि सचेत गराउन थालेका छन् ।
नयाँ दलको उदयले आगामी निर्वाचनमा पुराना दललाई एक्लै चुनावमा जानसक्ने अवस्था छैन । कांग्रेसभित्र आगामी निर्वाचनमा एक्लै जान दबाब बढिरहेको छ । यही परिस्थितिमा पूर्वमाओवादीदेखि समाजवादी मोर्चासम्मको प्रयासमा सोचेअनुरूप प्रगति हुने नदेखिएपछि एमालेसहित कम्युनिष्ट एकताको पहल गर्नुपर्ने आवाज उठ्न थालेको हो ।
माओवादी नेताहरुको एकपछि अर्को गर्दै चीन भ्रमण र कम्युनिष्ट एकताको प्रयास भइरहेको बेला बर्षमानको अभिव्यक्तिलाई राजनीतिक वृत्तमा अर्थपूर्णरूपमा लिइएको छ । प्रधानमन्त्री प्रचण्ड पनि हालैमात्र एक साता लामो चीन भ्रमणबाट फर्किएका छन् ।
प्रचण्ड जानुअघि एमाले महासचिव शंकर पोखरेल नेतृत्वको उच्चस्तरीय टोली चीन भ्रमणमा गएको थियो । त्यसअघि माओवादीकै उपाध्यक्ष अग्निप्रसाद सापकोटा, लगत्तै महासचिव देव गुरुङ पनि चीन भ्रमणमा गएका थिए । नेपालमा कम्युनिष्ट एकताको पहल चीनले गरिरहेको छ भन्ने कुरा कहिँ लुकेको विषय होइन ।
तर, माओवादीका सचिव दिनानाथ शर्मा भन्छन्, ‘चीनले कम्युनिष्ट एकताको पहल गरेपनि त्यो मिल्ने वा नमिल्ने भन्ने कुरा बाहिरको हात हुँदैन । हामीमै जिम्मेवार रहन्छ ।’
उनले कम्युनिष्ट एकताको विषयमा नेपालकै राजनीतिक दलहरुको भूमिका हुने भएकाले प्रधानमन्त्रीको चीन भ्रमणमा त्यसबारे छलफल नभएको बताए ।
अहिले कांग्रेसमा सभापति शेरबहादुर देउवालाई इतर पक्षका नेताहरू डा. शेखर कोइराला, महामन्त्री गगन थापालगायत नेताहरूले प्रचण्ड सरकारको विकल्प खोज्नुपर्ने दबाब बढाइरहेका छन् । प्रधानमन्त्रीले अराजकतालाई मलजल गरेको भन्दै नसच्चिए सरकार छाड्न शेखरले चुनौती दिँदै आएका छन् । पार्टीभित्र प्रचण्ड सरकारविरुद्ध माहोल बनाउन लागेका छन् उनीहरू ।
तर, प्रचण्ड फेरि एमालेसँगै गएर जुनसुकै बेलामा मिल्न सक्छन् भन्नेमा देउवा सशंकित र सचेत छन् । ०७४ को निर्वाचनमा एमाले र माओवादी मिलेर २३ सीटमा खुम्चिएको अनुभव देउवासँग छ । त्यसैले अहिले पार्टीभित्रबाटै दबाब आएपनि गठबन्धनभित्र बनेको आलोपालो सहमतिअनुसार नै अघि बढ्ने देउवाको अडान छ ।
यता, एमाले गठबन्धनभित्रको अन्तरविरोधमा खेलेर जसरी भएपछि गठबन्धन भत्काउने रणनीतिमा छ । तर, प्रचण्डले गठबन्धनमा कांग्रेसलाई दबाबमै राख्न नेकपा एस, जसपा र विप्लव नेतृत्वको नेकपालाई मिलाएर समाजवादी मोर्चा बनाएका छन् ।
‘कांग्रेसको विवादलाई नियालिरहेका छौं’
तर, कांग्रेसभित्र एकमत नभएकाले प्रचण्डको विकल्प खोज्नुपर्छ भनेर कांग्रेसभित्र उठेको आवाजलाई स्वाभाविकरूपमा लिनुपर्ने माओवादी केन्द्रका सचिव गणेश साह बताउँछन् ।
उनले भने, ‘कांग्रेस आफैँमा एकमत छैन । पार्टीभित्र संस्थापन र इतर पक्ष भइराखेका छन् । संस्थापन पक्ष र सरकारको विरोध गर्ने छोड्नुपर्छ भन्नुलाई स्वाभाविकरूपमा लिएका छौं ।’
उनले पार्टीभित्रका केही नेता एमालेसँग सहकार्य गर्नुपर्छ भन्ने पक्षमा रहेको स्वीकारे ।
उनले थपे, ‘हाम्रो पार्टीका नेताहरूले पनि एमालेसँगको सहकार्यको विषयमा कुरा उठाइराख्नुभएको छ । तर, संस्थागतरूपमा कुराकानी भएको छैन । यसअघि पनि हामी एमालेसँगै सहकार्य गरेर सरकारको नेतृत्व गरेका हौं । तर, तत्काललाई एमालेसँग मिलेर केन्द्रीय सरकार बनाउने सम्भावना कम देख्छु ।’
उनले कोशी प्रदेशतर्फ संकेत गर्दै कुनै प्रदेशमा एमाले-माओवादीको सहकार्यलाई नकार्न नसकिने बताए ।
साहले भने, ‘कांग्रेसमा गगनजी र शेखरजीहरूले विरोध गरेपनि आधा कार्यकाल मोर्चालाई दिने आधा कार्यकाल कांग्रेसले चलाउने भन्ने बाहिर बसेर समर्थन गर्ने भन्ने सुनेका छौं । पार्टीभित्र साह्रो गाह्रो परेपनि संस्थापन पक्षबाट शेरबहादुरजी, माधवजी, उपेन्द्रजीहरू प्रचण्डसँगै जाने मनस्थितिमा हुनुहुन्छ । तर, त्यसैले सत्ता समीकरण परिवर्तनको सम्भावना छैन ।’
माओवादीका अर्का एक नेता भन्छन्, ‘अहिले कांग्रेसभित्रको विवादलाई हामीले नजिकबाट हेरिरहेका छौं । देउवाजी अहिलेसम्म गठबन्धनमा भएको सहमतिको विकल्प खोज्ने पक्षमा हुनुहुन्न । कांग्रेसमा उहाँकै नै निर्णय लागू हुने हो । तर, उहाँहरूले केही चलाखी गर्न खोज्नुभयो भने हामी पनि तयार नै छौं ।’
गठबन्धन भत्काउनेबारे अहिले छलफल नभएपनि एमाले नेताहरूसँग निरन्तर संवादमा रहेको ती नेताले बताए ।
‘माओवादीसँगको सहकार्य हुनसक्छ’
यता, एमाले सचेतक महेश बर्तौला अहिलेको परिस्थितिमा माओवादीसँग फेरि सहकार्य हुनसक्ने बताउँछन् ।
उनी भन्छन्, ‘माओवादीसँगको सहकार्यको सम्भावना टाढाको विषय छैन । हिजो पनि हामीले सहकार्य गरेका थियौं । तर उहाँहरूले नै धोखा दिनुभएको हो । अहिलेको परिस्थितिमा त्यो सम्भावना छैन भन्न सकिँदैन । हुनसक्छ ।’
अहिले माओवादीसँग सहकार्य हुने तहमा छलफल भइनसकेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
उनले भने, ‘अहिलेको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनका लागि हिजो पनि प्रधानमन्त्री र हाम्रो अध्यक्षबीच कुराकानी भएको हो । अहिलेको समसायिमक विषयवस्तुमा कुराकानी गर्दा अहिलेको तरल राजनीतिक अवस्थामा राष्ट्रिय मुद्दालाई सम्बोधन गर्न नसकेको विषयमा विभिन्न विकल्पमा छलफल भएका छन् । तर, सरकारको फेरबदल, गठबन्धन भत्काएर नयाँ बनाउने भन्नेबारे कुनै भएको छैन ।’
उनले राजनीति सम्भावनाको खेल भएकाले तरल राजनीति भइरहेको अवस्थामा जुनसुकै ढोका खुला रहेको बताए ।
बर्तौलाले भने, ‘उहाँले यो गठबन्धन सधैँ कायम नै रहन्छ पनि भन्न सक्नुभएको छैन । राजनीतिमा विभिन्न विकल्पहरूमा छलफलको प्रक्रिया त भइरहेको छ । तर, अहिले भइरहेको अविश्वनियता, अस्थिरता विकसित भइरहेका छन् । त्यसले नयाँ ढोका खोजिरहेको छ ।’
उनले कांग्रेसमा देउवाको निर्णय नै हावी हुने भएकाले इतर पक्षको असन्तुष्टिको धेरै महत्व नहुने बताए ।
उनले भने, ‘कांग्रेसभित्र अहिले देखिएको असन्तुष्टिमात्रै हो । कांग्रेसमा शेरबहादुर देउवाले पार्टीको औपचारिक धारणा नसारेसम्म केही हुँदैन । कांग्रेसभित्र असन्तुष्टि भएपनि अहिलेसम्म मौन छ । इतर पक्षले देखाएको असन्तुष्टिलाई नै लिएर नयाँ राजनीतिक भविष्यको गठजोड गर्नु चाहिँ चाँडो हुन्छ ।’
कांग्रेस भन्छ- माओवादी हतारिँदैन
पार्टीभित्र नेताहरूले कुरा उठाए पनि कांग्रेस अहिले प्रचण्ड सरकारको विकल्प खोज्ने पक्षमा नरहेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा बताउँछन् ।
उनले भने, ‘कांग्रेसका केही साथीहरूले पार्टीको बैठक र बाहिर पनि गठबन्धनलाई चुनौती दिनेगरी दिएका प्रतिक्रिया स्वरूप माओवादीले हामी पनि खुला छौं भनेर दिएको हुनसक्छ । तर, शीर्ष नेताहरूबीचको सहमति सहजै भत्किँदैन ।’
प्रचण्डलाई एमालेसँगको भन्दा कांग्रेससँगको सहकार्य भरपर्दो लाग्ने यसअघिको अभ्यासबाट पनि देखिसकेको उनको भनाइ छ ।
विश्वकर्माले भने, ‘एमालेसँग सहकार्य हुन्छ भनेर उहाँहरुले एक झल्लो दिइसक्नुभयो । ३२ दिन सहकार्य पनि गर्नुभएकै हो । त्यो हुनसक्दैन भन्ने भ्रममा पनि कांग्रेस छैन । र, भइहाल्छ भन्नेमा यसअघि जति छिटो जम्प गरेर कांग्रेसको साथ खोज्नुभयो । त्यसले एमालेसँगको भन्दा कांग्रेससँगको सहकार्य भरपर्दो हुन्छ भन्नेमा प्रधानमन्त्री हुनुहुन्छ ।’
शीर्ष तहमा गठबन्धन नतोडिने सहमति भएको उनको दाबी छ ।
उनले थपे, ‘माधव नेपालले गठबन्धन भत्किँदैन भनिराख्नुभएको छ । हाम्रो पार्टी सभापतिले पार्टीको बैठकमा रुलिङ नै गर्नुभयो गठबन्धनको विकल्प खोज्ने बेला भएको छैन धेरै नबोल्नुस् भनेर त्यसैले माओवादीले पनि अहिले हतारो गर्छ भन्ने लाग्दैन ।’

Leave a Reply