चितवन । थारुहरुको बाक्लो बसोबास रहेको चितवनको पूर्वी क्षेत्र, पश्चिम र माडी क्षेत्रमा थारू महिलाहरूको पर्व जितिया धुमधामसँग मनाएका छन् ।
शुक्रबारदेखि सुरु भएको जितिया आज बिहान ब्रतालु थारु म्हिलाले खोलामा नुहाएर निराकार प्रतिमूर्ति (जसलाई थारुभाषामा ‘गरग्वाङ’ भनिन्छ) लाई मासले पूजा गरेर सम्पन्न गरेका हुन् ।
यहाँका स्थानीय तहले थारु पर्वको अवसरमा थारु समुदायका महिलालाई आज आइतबार बिदा पनि दिएको छ ।सन्तानको दिर्घायुको लागि थारु महिलाले बस्ने ब्रतका रुपमा चिनिने पर्व हो जितिया पर्व ।
यस ब्रत वा उपवासको क्रममा जितवहान भगवानको कथा र महिमा सुन्ने गरिन्छ । थारु महिलाहरुको ठुलो चाडको रुपमा रहेको जितिया पर्व सन्तानको सुख शान्ति र चिरायुको लागि प्रसिद्ध छ ।
शनिबार थारु समुदायका महिलाहरु झाम्टा, नाच नाच्दै गीत गाउँदै जितिया मनाए । जितिया आउनुअघि नै चितवनका थारु समुदायमा चहलपहल र रमझम शुरु भएको थियो । थारुहरुको बाक्लो बसोबास रहेको चितवनको पूर्वी क्षेत्र, पश्चिम र माडी क्षेत्र जितियाको उल्लास हुने गरेको छ ।

आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथि गरि तीनदिन सम्म यो पर्व मनाइन्छ । सप्तमीको दिनलाई ‘लाहा खाएके’, अष्टमीको दिनलाई ‘उपास’ र नवमीको दिनलाई ‘पारन’ भनिन्छ । हिजो (शुक्रवार_ सप्तमीको दिन भएकोले महिलाहरू विहानै खोला, ताल तलैया, नदी, पोखरीमा गई स्नान गरि त्सपछि मात्रै खानेकुरा खाएका थिए ।
अष्टमीको दिनमा महिलाहरू विहानै नुहाई, घुवाई गरी सफा र चोखो कपडा लगाई बिहानैदेखि पानी पनि नखाई निराहर ‘उपास’ ब्रत बसि झम्टा नाँच नाचेर मनाउँछन् । महिलाहरू सांस्कृतिक भेषभूषा लगाई दिनभरि नै झमटा नृत्यमा झुमेर रम्छन् । बेलुकीपख ब्रतालुहरु फेरि खोलामा गई पिनाले नुहाई पातमा पिना बगाउँछन् । त्यसपछि बेलुकीपख सबै ब्रतालु महिला जम्मा भएर कथा श्रवण गर्ने प्रचलन छ ।
रुखको चारैतिर ब्रतालु महिलाहरू फलफूल, पानी, दूध, दही, चिउरा बिहान भिजाएको मासको दाल र चामल लिएर बस्छन् । जीतबाहनको कथा (जितिया ब्रत कथा) घण्टौं लगाएर सुनाउँछ ।
कथा सकिएपछि सबै जना घर गएर ‘फराहर’ गर्छन् । भोलिपल्ट अर्थात् नवमीकोदिन विहनै सबै ब्रतालु खोलामा नुहाएर निराकार प्रतिमूर्ति (जसलाई थारु भाषामा ‘गरग्वाङ’ भनिन्छ) बनाएर मासको गेडाले पूजा गर्छन् ।
खोलाबाट घर आइसके पछि ब्रतालुहरुले दहि चिउरा, केरा लगायतका खानेकुरा खान बस्छन् तर खानु भन्दा अगाडि गुइठाको अङ्गारमा काठको धूप बालेर सबै खानकीको केही अंश चढाएर मात्र खान्छन् । त्यसलाई ‘पारन’ भनिन्छ । त्यसपछि भने ब्रत सकिएसंगै जितिया पर्व सकिन्छ । हिन्दु धर्मालबम्बी नेपाली महिलाहरुले मनाउने तीज जस्तै थारु समुदायले यो जितिया पर्वलाई महत्वका साथ मनाउने गरेका छन् ।

Leave a Reply