इजरायलमा हामी भयानक युद्धको घेरामा छौँ, सबै नेपालीको सुरक्षाका लागि प्रार्थना गरौँ (भिडिओ)

इजरायल । म इजरायलको राजधानी जेरुसेलमबाट करिब एक घण्टा टाढा किरियात मलाखी भन्ने ठाउँमा छु । म यहाँको एउटा नर्सिङ होममा काम गर्छु । दुवै सरकारबीचको सम्झौता अनुसार म यहाँ काम गर्न आएकी हुँ ।

म नेपालमा पनि करिब डेढ दशक पत्रकारिता गरेर यहाँबाट समेत नेपाल प्रेसको लागि समाचार र लेखहरूमार्फत काम गरिरहेकी छु । यहाँ आजदेखि युद्धको घोषणा भएको छ ।

बाहिरको अवस्था निकै आतंकपूर्ण छ । मैले यस्तो युद्ध पहिलो पटक देख्दै छु । यहाँ बाहिर गोलाबारी र बमको आवाज आइरहेको छ । यहाँ सात आठ वटा नर्सिङ होममा कार्यरत साथीहरूलाई एकै ठाउँमा राखिएको छ ।

इजरायलमा करिब २५ सयदेखि ३ हजारको हाराहारीमा नेपाली कार्यरत रहेको अनुमान छ । म युद्ध घोषणापछि यहाँको नेपाली दूतावास र गैर आवासीय नेपाली अगुवाहरूसँग नियमित सम्पर्कमै छु । विशेष गरी नेपालीहरूको अवस्था कस्तो छ भन्नेबारे ।

प्रारम्भिक जानकारी अनुसार म बसेको ठाउँभन्दा आधा घण्टा टाढा आस्केलन भन्ने ठाउँमा ९ जना जति नेपाली घाइते भएको जानकारी दूतावासका प्रथम सचिव अर्जुन घिमिरेले दिनुभएको छ । दूतावासले सबैको जानकारी आधिकारिक रूपमा लिने प्रयास गरिरहेको छ ।

घाइते भएका भनिएका साथीहरू आस्केलनमा एउटा कृषि फार्ममा लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत आएको भनिएको छ । अरू पनि केही ठाउँमा नेपाली हताहत भएको जानकारी आए पनि आधिकारिक रूपमा पुष्टि नगरी हामीले केही भन्न सकिएन ।

यहाँ युद्ध निकै ठूलो छ । नेपालीहरू विभिन्न ठाउँमा काम गरिरहेकाले सबैको बारेमा जानकारी लिन सकिएको छैन ।

दूतावासले समेत कम्पनीहरूमार्फत जानकारी लिन खोजे पनि उनीहरू समेत ती ठाउँमा जान सक्ने अवस्था छैन । कुनै अप्रिय घटना नेपालीहरूमाथि नहोस् भन्ने कामना गर्नुबाहेक अरू कुनै उपाय यहाँ छैन ।

निकै बीभत्स ढंगले मान्छेहरू मारिएका तस्बिर तथा भिडिओहरू पनि आइरहेका छन् । यो युद्ध निकै वर्षपछिको ठूलो मानिएको छ । नेपालीहरू काम गर्ने ठाउँमा पनि हमला भएका छन् । उनीहरू जताततै हिंस्रक ढंगले प्रवेश गरिरहेका छन् ।

यहाँको सरकारले युद्ध घोषणा गरेर जवाफी कारबाही गरिरहे पनि शहरभित्र आतंकवादीहरु घुसेका छन् । हामी सकेसम्म सुरक्षित स्थानमा छौँ । यो अवस्था कायमै रहेमा नेपाल सरकारले आफ्ना नागरिकको सुरक्षाका लागि अन्तर्राष्ट्रिय समुदायसँग पनि समन्वय गर्ने अपेक्षा हाम्रो छ ।

यहाँको सुरक्षा फौजका कमान्डर नै अपहरणमा परेका छन् । यहाँभित्र ठूलो संख्यामा हमासका लडाकु घुसेको कुरा प्रधानमन्त्री नेतान्याहूले नै बताइसकेका छन् । समुदायभित्रै घुसेर हमला भएकाले हताहतीको संख्या निकै ठूलो हुनसक्छ ।

प्यालेस्टिनी पक्षले डेढ सयभन्दा बढी मारिएको र एक हजार जति आफ्नो कब्जामा रहेको दावी गरेका छन् । उनीहरूले कब्जामा लिएर भिडिओ तथा फोटो सार्वजनिक भएका अनुहार हेर्दा अन्य देशका नागरिक पनि परेका छन् ।

यस्तो बेलामा विभिन्न खालका भिडिओ फोटो र अफवाहहरू सामाजिक सञ्जालमा आइरहेका छन् । कृपया आधिकारिकताबिनाका त्यस्ता सामग्रीहरूलाई भाइरल गर्दा नेपालमा रहेका घर परिवारका सदस्यहरूलाई असर पर्छ । त्यसैले आधिकारिकताबिना कुनै सामग्री प्रचार प्रसार नगर्न पनि आग्रह छ ।

Comments

One response to “इजरायलमा हामी भयानक युद्धको घेरामा छौँ, सबै नेपालीको सुरक्षाका लागि प्रार्थना गरौँ (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    संयुक्त राष्ट्र संघले ईजरायललाई तुरून्त लडाई बन्द गर भनोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *