सीटीईभीटीको सदस्य सचिवका लागि आठ जनाको आवेदन (सूचीसहित)

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को सदस्य सचिवका लागि बहालवाला सदस्य-सचिवसहित आठ जनाको आवेदन परेको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा रहेको कर्मचारी प्रशासन तथा सुशासन प्रवर्द्धन शाखाले एक सूचना जारी गर्दै आठ जनाको आवेदन परेको जनाएको हो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सदस्य सचिव तोक्नका लागि गठित सिफारिस समितिको बैठक सम्बन्धी कार्यविधि, २०८० को दफा १० बमोजिम सदस्य सचिवका लागि परेका उम्मेदवारीमध्ये आठ जनाको रित पुगेर आएको हो ।

सीटीईभीटीका निमित्त सदस्य–सचिव महेश भट्टराई, टेकबहादुर मल्ल, भुवनेश्वर ढुंगाना, अनोज भट्टराई, विनोद बडाल, नलराम देवकोटा, प्रमोदभक्त आचार्य र अरविन्दकुमार चौधरी रहेका छन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् नियमावली, २०५१ मा परिषद्मा कार्यरत वरिष्ठ कर्मचारीलाई निमित्त सदस्य सचिव दिने व्यवस्था अनुसार नै भट्टराईले एक महिनादेखि निमित्त सदस्य सचिवको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

प्रतिस्पर्धामा रहेकामध्ये बलिया दाबेदारका रूपमा रहेका निमित्त सदस्य सचिव भट्टराई विगत १२ वर्षदेखि सहसचिव सरहको जिम्मेवारीमा रहेर परिषद्मा काम गर्दै आएका छन् ।

प्राविधिकतर्फ ईन्जिनियर भट्टराई प्रतिस्पर्धामा रहेका आठ जना जनामध्ये सबैभन्दा वरिष्ठ कर्मचारी पनि हुन् । भट्टराई यस अघि नियुक्त भएका तीन जना सदस्य सचिव जीवनारायण काफ्ले, पुष्परमण वाग्ले र रामहरि लामिछानेसँग प्रतिस्पर्धामा पनि थिए ।

अर्का प्रतिस्पर्धी टेकबहादुर मल्ल निमित्त सदस्य सचिव भट्टराई भन्दा तीन वर्ष जुनियर हुन् । उनी विशेष प्रक्रियाबाट बढुवा भए पनि समायोजन नभएका कर्मचारी हुन् । मल्ल अहिले परिषद्मा सीप परीक्षक समितिको निर्देशकको जिम्मेवारीमा छन् । उनी पर्यटनको क्षेत्रको प्रशिक्षण लिएका कर्मचारी हुन् । मल्ल जीवनारायण काफ्ले सदस्य सचिव नियुक्त हुँदाका बखत प्रतिस्पर्धामा थिए ।

यस्तै परिषद्का प्रवक्ता एवम सूचना तथा अनुसन्धान महाशाखाको निर्देशको जिम्मेवारीमा रहेका भुवनेश्वर ढुंगाना प्रतिस्पर्धामा छन् । उनी वातावरण व्यवस्थापन क्षेत्रमा अध्ययन गरेका कर्मचारी हुन् ।

अर्का प्रतिस्पर्धी अनोज भट्टराई पाठ्यक्रम महाशाखाको निर्देशकको जिम्मेवारीमा छन् । उनी ईन्जिनियर पनि हुन् । क्वालिटी परियोजना निर्देशकको जिम्मेवारीमा रहेका विनोद बडाल शिक्षा शास्त्र अध्ययन गरेका कर्मचारी हुन् ।

अर्का प्रतिस्पर्धी नलराम देवकोटा प्राविधिक प्रशिक्षण प्रतिष्ठान (टीआईटीआई)को निर्देशकको जिम्मेवारीमा छन् । उनी कृषि विज्ञान अध्ययन गरेका कर्मचारी हुन् ।

सीटीईभीटीको परीक्षा नियन्त्रकको जिम्मेवारीमा रहेका प्रमोदभक्त आचार्य प्रशासन सेवाको कर्मचारी कर्मचारी हुन् । यस्तै सिटीभीईभीटी मधेश प्रदेशका निर्देशकको जिम्मेवारीमा रहेका अरविन्दकुमार चौधरी इन्जिनियर पनि हुन् ।

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको पालामा नियुक्त भएका सदस्य–सचिव जीवनारायण काफ्लेको गत साउन चार गते ५८ वर्षे उमेर अवधिका कारण अनिवार्य अवकाशमा गएका थिए ।

यद्यपि काफ्लेले उमेर ५८ पुरा भए पनि नियमावलीमा सदस्य सचिवको कार्यकाल चार वर्षे भएको भन्दै आफूले चार वर्षे कार्यकाल पुरा गर्न पाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । भदौ २१ गते सर्वोच्च अदालतले काफ्लेको विपक्षमा फैसला गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत भदौ २६ गते परिषद्का सबैभन्दा वरिष्ठ कर्मचारी महेश भट्टराईलाई निमित्त सदस्य सचिवको जिम्मेवारी दिएको हो ।

परिषद्को नियमावली अनुसार राष्ट्रिय योजना आयोगको शिक्षा हेर्ने सदस्य रमेशचन्द्र पौडेलको संयोजकत्वमा गठित सिफारिस समितिमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका शिक्षा हेर्ने सचिव सुरेश अधिकारी र पूर्व सचिव केशवप्रसाद भट्टराई सदस्य रहेका छन् ।

नियमावली अनुसार राजपत्रांकित प्रथम श्रेणी अर्थात सहसचिव सरह पाँच वर्ष परिषद्मा सेवा गरेको कर्मचारीले सदस्य सचिव पदमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था रहेको छ ।

प्रतिस्पर्धामा रहेका आठ जनामध्ये सिफारिस समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा छनौट गरेर उत्कृष्ट तीन जनाको नाम पठाउने र तिनै जनाको नाम मन्त्रालयले मन्त्रिपरिषद् बैठकमा पेश गर्नेछ ।

मन्त्रिपरिषद् बैठकले उपयुक्त र योग्य एक जना कर्मचारीलाई सदस्य–सचिव नियुक्त गर्नेछ । सीटीईभीटीको सदस्य सचिव शिक्षाको प्राविधिकतर्फको कर्मचारी नियुक्त गर्ने गरिएको छ । सीटीईभीटी प्राज्ञिक थलो भएकाले विज्ञताको आधारमा प्राज्ञिकलाई ध्यान दिएर नियुक्त गर्नेपर्ने पक्षमा परिषद्का कर्मचारी रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *