कैलाली । बझाङ जिल्लाका भूकम्प पीडितले सरकारी तवरबाट कुनै राहत प्राप्त गर्न नसकेको गुनासो गरेका छन् । पीडितहरु त्रिपाल र खुल्ला आकाश मुनी रात बिताउन बाध्य भएका छन् ।
भूकम्प पीडितलाई सरकारी क्षेत्रबाट प्रदान गरिने राहत नआइपुगेका कारण उनीहरुले समस्यामा परेको बताएका हुन् । गत मंगलबार दिउसोको भूकम्पमा परी यहाँका कैयौँ नागरिकका घरमा क्षति पुगेको छ । कतिपयको घर भत्किएको छ भने कैयौँका घरमा क्षति पुगेकाले आफ्नै घरमा रात काट्न नसक्ने अवस्था रहेका छन् ।
थलारा गाउँपालिका–९ का हंसुबहादुर लुहारले भने, ‘सरकारी क्षेत्रबाट राहत आइपुगेको छैन, पटक पटक गइरहने पराकम्पनले त्रास थपिँदै गएको छ ।, चिसो समयमा हामीहरु त्रिपाल मुनी आगो बालेर रात बिताउन बाध्य छौँ ।

गाउँभरिमै भूकम्पको पीडाले सन्नटा छाएका कारण खेतमा पाकेको धान तथा कोदो काट्न र टिप्न नपाउँदा खेतबारीमै बाँदर, मुसाले खान थालेकाछन् । खानका लागि एक मानो चामल र पीठोसमेत नभएका कारण बालबालिका भोकले रुने कराउने गर्न थालेका छन् ।’
अस्थायीरुपमा भए पनि टहरा निर्माण गर्न तथा एक छाक खान र एकसरो लगाउने लुगाको व्यवस्था गरिदिन पीडितले सरकारसँग माग गरेका छन् । तत्कालको लागि राहत र अस्थायी बसाई व्यवस्थापनको लागि सङ्घ संस्था, युवा, विध्यार्थीहरूले खाद्यान्न, त्रिपाल लुगा कपडा भाडाकुडाको व्यवस्थापन गरेपनी हाल सम्म अस्थायी टहरा र स्थायी पुनर्निर्माण लागि भने सरकारले आश्वासन मात्रै दिएको छ ।

थलारा गाउँपालिका–९ सिरेटाकी प्रजना थापा सुत्केरी भएको ६ महिना भयो । उनको पनि खुल्ला आकाश मुनिको बास छ । उनलाई आफ्नोभन्दा पनि ६ महिनाको शिशुको चिन्ता छ । उनका ससुरा नरबहादुर थापाले भने, ‘भर्खर जन्मिएको नातिलाई खुल्ला आकाशमुनि बसाल्दा निकै समस्या छ ।’ बालबालिका र वृद्धवृद्धालाई बढी समस्या भएको उनले बताए ।
थलारा गाउँपालिका–९ आमबगरकी एकल महिला मुलुदेवी दमाईको पनि उस्तै समस्या छ । भएको सानो झुपडी भूकम्पले भत्काएपछि उनलाई कसरी रात बिताउने भन्ने चिन्ताले पिरोलेको छ ।

उनले भनिन, ‘घरमा कोही पनि छैन । सम्पत्तिको नाममा एउटै झोपडी थियो । त्यो पनि भूकम्पले तहसनहस पारिदियो, अहिले छिमेकीहरुबाट स–साना पालका टुक्रा सङ्कलन गरेर टहरो बनाएकी छु । सानो पाल र एक छाक खानको जोहो कसैले गरी दिए वा आफूले पाए तत्काललाई ठूलो राहत हुन्थ्यो ।’
शुक्रवार प्रधानमन्त्रीसहित मन्त्रीहरु आए पनि राहत नआएको पीडितहरुको गुनासो छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आफूहरुका समस्या राख्न चाहे पनि नपाएको पीडितहरुको भनाइ छ ।
प्रधानमन्त्री दाहालले बझाङ पुगेर गरेका घोषणा
१.गत मंगलबारका दिन बझाङ केन्द्रबिन्दु भएर गएको भुकम्पबाट कहाँ, के, कति क्षति भएको छ यकीन गरिने छ । मूल्याङ्कन यस आधारमा सामान्य मर्मत सम्भार गर्नुपर्ने, गरी प्रबलिकरण गर्नुपर्ने वा पुनर्निमाण गर्नुपर्ने भन्ने निर्धारण गरी कार्य अघि बढाइनेछ ।
२.भूकम्पबाट पूर्ण क्षति भएका घरका परिवारलाई तत्कालका लागि अस्थायी आवास निर्माण गर्न रु।५०,००० ९पचास हजार० उपलब्ध गराइने छ ।
३.भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप परिवार संख्याको आधारमा मापदण्ड बमोजिम १५ देखि २० हजार तत्काल राहत खर्च व्यवस्था गरिनेछ ।
४.राहत सामग्रीहरू जस्तै पाल, कम्बल, औषधी, खाद्यान्न, लत्ताकपडा, अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने सामग्रीहरुको व्यवस्थापन भएको छ । थप सामग्री आवश्यक परेमा तीनै तहका सरकारको समन्वयमा व्यवस्था गरिनेछ ।
५ भूकम्पमा परी घाइतेहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाइएको छ ।
६ भुकम्पले निम्त्याएको पहिरोमा परेका मृतक परिवारलाई तत्काल २ लाख सहयोग प्रदान गरिनेछ ।
७ भत्किएका, चिरा परेका, आंशिक क्षति भएका घर तथा संरचनाहरुको दीर्घकालिन पुतनिर्माण र पुनर्स्थापनाका लागि स्थानीय तह, जिल्ला प्रदेशबाट प्राप्त क्षति मूल्यांकनका आधारमा कार्यविधि बनाई स्थानीय सामाग्रीहरूको प्रयोग गरी सुरक्षित पुनर्निमाणको काम अगाडि बढाइने लगाएत घोषणा गरेका छन् ।

प्रधानमन्त्री र मन्त्रीहरु आश्वासन मात्रै बाँडेकाे गुनासाे
पीडितहरुले भने प्रधानमन्त्री र मन्त्रीहरु आश्वासन मात्रै बाँडेर गएको बताएका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी दिपेन्द्र चौधरीका अनुसार थलारा गाउँपालिकामा ६७ वटा घर भत्केको र १२ वटा घर चर्किएका छन् । यस्तै, जयपृथ्वी नगरपालिकामा २९ वटा घर भत्किएको र ४८ वटा घर चर्किएको छन् । बुङ्गल नगरपालिकामा २ वटा घर भत्किएको छ भने २ वटा घर चर्किएको छन् ।
यस्तै, विथ्थडचिर गाउँपालिकामा एउटा घर भत्किएको र एउटा घर चर्किएको छन् । केदारस्युँमा एउटा घर र दुर्गाथलीमा ४ वटा घर भत्किएको छन् ।

छविसपाथिभेरामा ७ वटा घर भत्किएको र ४० वटा घर चर्किएका छन् । खप्तडछान्ना गाउँपालिकामा ३१ घर भत्किएको छन्, भने ४० वटा घर चर्किएका छन् ।मष्टामा ३ वटा घरमा पूर्ण क्षति, ५ वटा घर भत्किएको र एउटा घर चर्किएका छन्, भने तलकोट गाउँपालिकामा ३ वटा घर भत्किएको र ३ वटा घर चर्किएका छन् ।
व्यक्ति तथा संस्थाहरुले राहत वितरण गर्दै
बझाङका भूकम्प पीडितहरुलाई विभिन्न व्यक्ति तथा संस्थाहरुले राहत वितरण गर्न थालेका छन् । भूकम्पले घरबारविहीन भएका उनीहरुलाई त्रिपाल, खाद्यान्न, लत्ताकपडा लगायतका सामाग्री सहयोग गर्न थालिएको छ । राष्ट्रिय युवा संघ नेपालले सदरमुकाम चैनपुर र दुर्गाथली गाउँपालिकाका १ सय १३ परिवार भूकम्प पीडितहरुलाई त्रिपाल,चामल, ओछ्याउने म्याट्रेस लगायतका सामानहरु वितरण गरिएको छ ।
यस्तै, युवा संघले नै बुङ्गल नगरपालिकाका एक सयभन्दा बढी परिवारलाई शुक्रबार राहत वितरण गरेको बझाङ जिल्ला सहइन्र्चाज लोकेश सिंहले जानकारी दिएका छन् ।
यसअघि बुधबार नेपाली कांग्रेसका छविसपाथिभेरा गाउँपालिका बझाङका सभापति पाण्डव थापाले पनि भूकम्प पीडितलाई ५० ओटा पाल, ३० ओटा सिरक, कम्मल, भाँडाकुँडा र बिरामी बोक्ने २ ओटा स्टेक्चर वितरण गरेका थिए ।
शुक्रबार बझाङ जिल्लामा संचालित गैरसरकारी संस्थाहरु कियर नेपालको आर्थिक सहयोगमा प्रगतिशिल युवासमाज बझाङ र निड्स नेपालको समन्वयमा ५० थान किचन सेट, ९४ थान त्रिपाल, ९४ थान डोरी, ९४ थान बाल्टीन जग, १ सय ८८ थान म्याट्रेस र ९४ पिस हाइजिन किट वितरण गरेको छ ।
भूकम्प पीडितका लागि विदेशबाट पनि राहत सहयोग संकलन हुन थालेको छ । हाल अमेरिकामा बसिरहेका बझाङ खप्तडछान्नाका डा. विष्णु जोशीले ५० हजार रकम बझाङका भूकम्प पीडितलाई राहत स्वरुप दिएका छन् । उनले अमेरिकामा रहेका अन्य व्यक्तिहरुले पनि सहयोग संकलन गरिरहेको बताए ।
मंगलबारको भूकम्प पछि लगातार गइरहेको पराकम्पका कारण बझाङका स्थानीय घर भित्र पस्न सकेका छैनन् । सदरमुकाम चैनपुर आसपास केन्द्रविन्दु भएर सयौ पटक भूकम्पका पराकम्पन गइसकेका छन् । भूकम्प गएको पाँच दिन भइसक्दा पनि यहाँका पीडितहरुले सरकारको तर्फबाट कुनै पनि राहत नपाएको गुनासो गरेका छन् ।

Leave a Reply