रुपन्देही । लुम्बिनीमा चीनको महत्वपूर्ण आयोजना बीआरआईको कार्यालय शुभारम्भ भएको छ । शुक्रबार बेल्ड एण्ड रोड र सिल्क रोडमार्फत विश्व बौद्ध संस्कृति प्रदर्शनी सुरु गरेकै दिन बीआरआईको १० औं वार्षिकोत्सवको अवसरमा यहाँ कार्यालय सुरु गरिएको हो ।
चीन, भारत, भियतनाम, बर्मालगायतका देशबाट शीर्ष व्यक्तिहरुका सहभागिता रहेको यो प्रदर्शनीमा बौद्ध दर्शन र संस्कृतिका प्रवद्र्धन गर्ने उद्देश्य राखिएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालय, लुम्बिनी विकास कोष तथा बेल्ड एण्ड रोड इनिसेटिभको संयुक्त आयोजनामा शुक्रबार बौद्ध संस्कृति सम्मलेन तथा बिआरआईको १० औं वार्षिकोत्सवको उद्घाटन समारोह आयोजना गरियो ।
लुम्बिनी विश्वविद्यालयमा रजिष्टार तिलक आचार्यले चार वर्ष पहिले ११ फेब्रुअरी २०१९ मा कार्यबाहक उपकुलपति भएको समयमा सिलक रोड इन्टरनेशनलसँग भएको समझदारी कार्यान्वयनको चरणमा गएको बताएका छन् ।

उद्घाटन कार्यक्रममा बोल्ने सहभागीहरुले बेल्ड एण्ड रोडको अवधारणाले बौद्ध संस्कृति प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुर्याउने बताए । चिनियाँ बौद्ध भिक्षुयात्रीहरु फाइयान तथा ह्वेन साङले यात्रा गरेको क्षेत्रमा सिल्क रोडको विकास अवधारणा बनेको वक्ताहरुले बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री शुसिला श्रीपालीले बौद्ध पुरातत्व तथा स्थलसहित संस्कृतिको विकासमा चिनियाँ यात्रीहरुको ऐतिहासिक भूमिका रहेको भन्दै त्यो रुटको विकासले नेपाल, चीन तथा भारतको बौद्ध संस्कृतिलाई जोड्ने बताइन् ।
उनले बिआरआईले नेपालको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताइन् । ‘प्रधानमन्त्रीज्यूको भर्खरको चीन भ्रमणमा पनि बिआरआई कार्यान्वयनमा जोड दिइएको छ, उनले भनिन्,–‘ब्यापार, देशहरुबीच साझेदारी तथा बौद्ध संस्कृतिको विकासमा यो परियोजना महत्वपूर्ण हुनेछ ।’
तीन संस्थाको आयोजनामा भएको बौद्ध संस्कृति प्रदर्शनीले लुम्बिनीबाट उद्गम भएको बौद्ध दर्शनको प्रवद्र्धनमा टेवा पुग्ने बताइन् ।
बिआरआईले १० औं बार्षिकोत्सवको अवसरमा लुम्बिनीमा कार्यालय स्थापना भएकोे छ । चीनको यो महत्वपूर्ण परियोजनामा नेपालले सन् २०१७ मे १२ मा हस्ताक्षर गरेको थियो । क्षेत्रीय एकीकरणमा सुधार गर्दै रेल्वे, सडक, पूर्वाधार विकासमा साझेदारी गर्ने योजना यो परियोजनाको छ ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्याहरक्याल लामाले सिल्करोडमार्फत सांस्कृतिक र आर्थिक विकास गर्नुपर्ने भन्दै बिआरआई परियोजना छिट्टै सम्पन्न गर्नुपर्नेमा जोड दिए । शान्ति र सद्भावमय विकासका लागि बौद्ध दर्शनलाई आत्मसाथ गर्नुपर्ने भन्दै मूलुकका हरेक विकासका कार्यहरुले शान्ति निम्त्याउने काम गर्नुपर्ने बताए ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य बौद्ध दर्शनको व्यवहारिक अनुशरण आवश्यक रहेको भन्दै बौद्ध संस्कृति प्रदर्शनी नियमित गरिरहन आवश्यक रहेको बताए ।लुम्बिनीस्थित चिनियाँ मोनाष्ट्रीका प्रमुख ताओ युएले बुद्ध युनिभर्सल भएकाले यिनको दशर्नको प्रवद्र्धन र अनुशरणमा पनि विश्वले काम गर्नुपर्ने बताए ।

भियतनामी टेम्पलका प्रमुख डा. लामले बुद्ध जन्मस्थल हुनु नै नेपालका लागि गौरवको विषय भएको बताए । यी क्षेत्रका पहिचानमा चिनिया यात्रीहरुको भूमिकालाई बिर्सन नहुने उनको भनाई छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले बौद्ध शिक्षालाई सरकारले केन्द्रमा राख्न नसकेको भन्दै राज्यको प्रमुख निकायमा रहेका व्यक्तिहरुले विशेष ध्यान दिनुपर्ने बताए ।
भिक्षु महासंघका निग्रोध महाथेरले कैयौं बौद्ध दार्शनिकहरु सिल्करोड हुँदै नेपाल, चीन, भारत भ्रमण गरेको बताए । उनले यो क्षेत्र निकै महत्वपूर्ण रहेकाले बिआरआई परियोजनामार्फत विकास हुनुपर्ने बताए ।बौद्ध भिक्षु महासंघका सचिव भिक्षु धर्मगुप्तले बौद्ध ग्रन्थको विकासमा चीनको महत्वपूर्ण भूमिका रहेको साथै सांस्कृतिक विकासका कार्यक्रम निरन्तर हुनुपर्ने बताए ।

आईसिसिआर चियर प्रोफेसर बिमलेन्द्र कुमारले सिल्क रोड बौद्ध संस्कृतिसंग आवद्ध रहेको भन्दै ह्वेनसाङसहितका यात्रीहरुले बौद्ध धर्मको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक भिक्षु बजिरले बौद्ध संस्कृतिको प्रदर्शनीले बौद्ध दर्शनलाई बुझ्न सहयोग गर्ने बताए ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्र संयोजक डा. कुमार खड्काका अनुसार प्रदर्शनीमा बौद्ध संस्कृतिका विषयमा बिभिन्न कार्यपत्रहरु प्रस्तुत भएको र विज्ञहरुले छलफल गरेको बताए ।

Leave a Reply