काठमाडौं । नेपाल विद्यार्थी (नेवि) संघ र नेपाल समाजवादी विद्यार्थी युनियनले त्रिवि सेवा आयोगमा तालाबन्दी गरेका छन् भने कीर्ते गरेको भन्दै पदाधिकारीलाई प्रवेश निषेधको कार्यक्रम घोषणा गरेका छन् ।
नेवि संघ त्रिवि समितिका सभापति विष्णु बडैलाले विज्ञप्ति जारी गर्दै त्रिवि सेवा आयोगले लिएका परीक्षा र नतिजा विवादास्पद परीक्षा र मूल्यांकनका विषयमा आवश्यक छानबिन गरी पारदर्शी हुनुपर्ने माग गर्दै तालाबन्दी र प्रवेश निषेध गरिएको जनाएका छन् ।
आयोगले गर्ने काम कारबाही विश्वविद्यालयको हितमा नहुने भन्दै प्रकाशित अन्तरवार्ता लगायतका कार्यक्रम तत्काल स्थगित गरी छानबिन गर्न संघले माग गरेको हो ।

छानबिन प्रक्रिया अघि नढाउञ्जेल आयोगका अध्यक्ष प्रा.डा. धनश्याम भट्टराई र सदस्य प्रा.डा. हेमरजाज ढकाललाई विश्वविद्यालय प्रवेश निषेध तथा आयोगमा अनिश्चितकालीन तालाबन्दी गरिएको नेविसंघले जनाएको छ । यसबाट हुने अप्रिय परिस्थितिको जिम्मेवारी स्वयम सेवा आयोग अध्यक्ष भट्टराईले लिनुपर्ने चेतावनी पनि दिइएको छ ।
त्यस्तै, नेपाल समाजवादी विद्यार्थी युनियन त्रिवि समितिका अध्यक्ष बल बहादुर रम्तेलले पनि विज्ञप्ति जारी गर्दै आयोगका कामकारबाहीमा समावेशिता नभएको, विश्वविद्यालयको शैक्षिक क्यालेन्डरअनुसार विज्ञापन नगरी आफ्नो मनोमानी ढंगबाट अगाडि लगायत आरोप लगाउँदै आयोगमा तालाबन्दी गरेको जनाएको छ ।


Leave a Reply