नेपालगन्जमा दिउँसोको लागि हट्यो कर्फ्यु, सभा-जुलुस गर्न प्रतिबन्ध

रुपन्देही । बाँकेको नेपालगन्जमा लागेको कर्फ्यु आदेश १२ घण्टाका लागि हटाइएको छ । सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर हिन्दु मुस्लिम समुदायबीच उत्पन्न विवादका कारण १६ गतेदेखि जिल्ला सुरक्षा समितिको निर्णयबाट उपमहानगरपालिका क्षेत्रमा कर्फ्यु लगाइएको थियो ।

पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँगा चोक र दक्षिणमा जमुनाहा सीमा नाका चार किल्ला तोकी अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरिएकोमा आज बिहान ८ बजेबाट राती ८ बजेसम्मका लागि हटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

राती ८ बजेबाट भोली बिहान ६ बजेसम्म भने कर्फ्यु आदेश कायम रहने जारी सूचनामा उल्लेख छ । जिल्ला प्रशासन कार्यालयको सूचना अनुसार आज दिनभरलाई कर्फ्यु आदेश हटाएर निषेधाज्ञा जारी गरिएको छ ।

कर्फ्यु खुलेको अवस्थामा पनि पूर्वमा राप्त नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाका चार किल्ला भित्र स्थानीय प्रशासन ऐनको दफा ३ (क) बमोजिम कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चा जस्ता प्रचार सामाग्री टाँस्न वा लेख्न नपाईने गरी तथा हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँचजना भन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ ।

जिल्लामा समय शान्ति सुव्यवस्था कायम गर्न, सार्वजनिक सम्पत्तिको संरक्षण, सामाजिक सद्भाव कायम गर्न एवं मानव अधिकारको सम्मान गर्न सबैमा जिल्ला प्रशासनले आग्रह पनि गरेको छ ।

सार्वजनिक स्थानमा होहल्ला गर्ने जस्ता अवाञ्छित क्रियाकलापहरू तथा कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने खालका कार्यहरू नगर्न नगराउन आह्वान गदै प्रशासनले सामाजिक सद्भाव कायम राख्न समेत जिल्ला सुरक्षा समितिले अपिल गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *