मधेश प्रदेश : मन्त्रालय टुक्र्याएर जसपाकी सुरिताको व्यवस्थापन, जनमत असन्तुष्ट

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले फेरी मन्त्रालय टुक्र्याएर आफू आबद्ध जनता समाजवादी पार्टी (जसपा)की विना विभागीय मन्त्रीलाई व्यवस्थापन गरेका छन् ।

स्रोतका अनुसार मुख्यमन्त्री यादवले शिक्षा तथा समाज कल्याण मन्त्रालय टुक्र्याएर शिक्षा र समाज कल्याणलाई अलग पारेका हुन् ‌।

शिक्षा तथा समाज कल्याण मन्त्री जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादवले सम्हालेका थिए । तर अब उनले शिक्षा मन्त्रालय पाउने भएका छन् ।

मन्त्रालय टुक्र्याएर शिक्षा मन्त्रालयको जिम्मेवारी दिएको पत्र मन्त्री यादवलाई अहिले पठाएको छैन । मन्त्रालय टुक्र्याएपछि जनमत पार्टी असन्तुष्ट बनेको छ ।

मन्त्रिपरिषद् बैठक वा गठबन्धनको बैठकमा छलफल समेत नगरी मन्त्रालय टुक्र्याएको मन्त्री यादव निकट एक नेताले बताए ।

विनाविभागीय मन्त्री सुरिता साहलाई समाज कल्याण मन्त्रालय दिएको बुझिएको छ । साह स्वतन्त्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी हुन् । तर जसपाले उनलाई पार्टी प्रवेश गराएर सामाजिक विकास मन्त्री बनाएको थियो ।

नेपाली कांग्रेस सरकारमा सहभागी भएपछि बाँडफाँड मिलाउन सामाजिक विकास मन्त्रालय टुक्र्याएको थियो ।

उक्त मन्त्रालय टुक्र्याएर शिक्षा तथा समाज कल्याण र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बनाइयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कांग्रेसका वीरेन्द्र प्रसाद सिंहलाई सुम्पियो ।

कांग्रेस र जनमतलाई व्यवस्थापन गरेपछि सुरितालाई बिना विभागीयको जिम्मेवारी तोकिएको थियो । मन्त्रालय विहीन बनेपछि उनी पटक पटक पार्टी छाड्ने धम्की दिएकाले फेरी मन्त्रालय टुक्र्याएर उनलाई व्यवस्थापन गरिएको छ ।

मन्त्रालय टुक्र्याएर मुख्यमन्त्री यादव भारत हिँडेपछि निर्णय सार्वजनिक भएको छैन । उनले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण यादवलाई तोकेका छन् ।

अब मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित १० मन्त्रालय पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *