यो सरकार रहे मुलुक थप बर्बादीतर्फ जान्छ, कांग्रेसको नेतृत्वमा सरकार बनाएर निकास दिनुपर्छ : शेखर कोइराला

रुपन्देही । सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार रहिरहे मुलुक थप बर्बादीतर्फ जाने भएकाले तत्काल नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नुपर्ने बताएका छन् ।

बुधबार कपिलवस्तुको तौलिहवामा आयोजित नेपाली कांग्रेस कपिलवस्तुको प्रथम जिल्ला सम्मेलनमा बोल्दै उनले नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको वर्तमान सरकार रहिरहे सबै क्षेत्रमा राष्ट्र कमजोर हुने बताउँदै तत्काल मुलुकलाई थप संकटबाट जोगाउन कांग्रेसको नेतृत्वमा सरकार गठन अपरिहार्य रहेको बताएका हुन् ।

‘अब अति भयो, जति दिन यो सरकार राख्यो त्यति देशको राष्ट्रियता, सार्वभौमिकता, राजनीतिक र अवस्था कमजोर हुँदै जान्छ, वर्तमान सरकार तत्काल सच्चिनुपर्ने नत्र सत्ता छोड्नुपर्ने अवस्था आइसक्यो, आर्थिक रुपमा पनि उस्तै समस्या थपिँदै गएको छ’, कोइरालाले भने, ‘देशमा रोजगारी नभएकाले हजारौँ युवाहरू बिदेसिनु पर्ने बाध्यता रहेको छ ।’

वर्तमान सरकारको ध्यान रोजगारी सिर्जना गर्नुभन्दा भ्रष्टाचारमा केन्द्रित रहेको आरोपसमेत उनले लगाए। कोइरालाले देशका आर्थिक, राजनीतिक, धार्मिक र सांस्कृतिक क्षेत्रमा अराजकता बढ्दै गएको बताए ।

चर्को महँगीले जनताको चुलो नबल्ने अवस्थामा पुगेको बताउँदै कोइरालाले जनतालाई सहुलियत दिनुपर्ने चाडपर्वको मुखमा दैनिक उपभोग्य वस्तुहरुको भाउ बढ्नु राम्रो संकेत नभएको बताए । नेता कोइरालाले सभापति शेरबहादुर देउवाले विधिसम्मत पार्टी सञ्चालन नगर्दा कांग्रेस अप्ठ्यारोमा परेको बताउँदै पार्टीभित्रको आन्तरिक विषयमा पनि आफ्नो धारणा प्रष्ट पारेका छन् ।

चुनावमा भएका तिक्ततालाई बिर्सिएर सङ्गठन निर्माणमा लाग्न नेता तथा कार्यकर्तालाई उनले आग्रह गरे । कांग्रेस कमजोर भयो भने लोकतन्त्र कमजोर हुने बताउँदै कोइरालाले कांग्रेसलाई एक ढिक्का बनाउनु पर्नेमा जोड दिए ।

सभापति देउवासँग व्यक्तिगत रुपमा आफ्नो कुनै रिसराग नभएको तर पार्टीभित्र दुर–दराजका इमानदार, निष्ठावान र सक्रिय साथीहरूको मूल्यांकन हुन नसकेको त्यसैले कांग्रेसको जग नै कमजोर हुन थालेको उनको भनाइ थियो ।

Comments

One response to “यो सरकार रहे मुलुक थप बर्बादीतर्फ जान्छ, कांग्रेसको नेतृत्वमा सरकार बनाएर निकास दिनुपर्छ : शेखर कोइराला”

  1. ksp pyl Avatar
    ksp pyl

    यो टट्टु सरकारले देशलाई रसातलमा पुर्याईसक्यो नि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *