एमाले सुदूरपश्चिम अध्यक्षमा प्यानलसहित उठ्ने तयारीमा तिमिल्सिना र जैशी, सर्वसम्मतको सम्भावना कति ?

कैलाली । सुदूरपश्चिम प्रदेशमा यही २१ र २२ गते नेकपा एमालेको प्रदेश अधिवेशन हुँदैछ । अध्यक्षमा अछामका कमल तिमिल्सेना र अछामकै कृष्णप्रसाद जैशीबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

हालका अध्यक्ष रहेका दामोदर भण्डारी प्रतिनिधिसभा सदस्य छन् । एमालेको पछिल्लो विधिअनुसार उनी अध्यक्षमा उम्मेदवार बन्न नपाउने भएपछि सकेसम्म सहमति नभएपनि तिमिल्सेना र जैशीबीच चुनावी प्रतिस्पर्धा हुने आन्तरिक चर्चा छ । उनीहरू दुवैजना चुनावी तयारीमा जुटिरहेका छन् ।

तिमिल्सेना सुदूरपश्चिम कमिटीको उपाध्यक्ष छन् । २०४४ सालदेखि अनेरास्ववियु, तत्कालीन प्रजातान्त्रिक युवा संघको केन्द्रीय सचिवालय हुँदै एमालेको जिल्ला कमिटी सदस्य र एमालेको जिल्ला अध्यक्ष अञ्चल कमिटी सदस्य हुँदै उनी प्रदेशका उपाध्यक्ष बनेका हुन् ।

आफू प्रदेश कमिटीको बहालवाला उपाध्यक्ष भएकोले अध्यक्षको स्वाभाविक दाबेदार भएको उनले बताए ।

‘म उपाध्यक्ष भएर प्रदेशको कामको अनुभव समेत संगालिसकेकोले स्वाभाविकरूपमा प्रदेश अध्यक्षको दाबेदार हो’, उनी भन्छन्, ‘पार्टीलाई अझ एकताबद्ध बनाउन, पार्टीमा समन्वयकारी भूमिका खेल्न, संविधानको कार्यान्वयन गर्न, पार्टी भित्र दक्षिणपन्थी अवसरवाद, संरचनात्मक अराजकता हुर्किन नदिनका लागि मेरो उम्मेदवारी हो ।’

अध्यक्षका अर्का आकांक्षी जैशी पनि सुदूरपश्चिममा स्थापित नाम हो । अछाम जिल्ला विकास समितिको सभापतिका भइसकेका जैसीसँग पार्टीको गाउँ कमिटी हुँदै पार्टीको जिल्ला कमिटी उपसचिव र दुई पटक सचिव भएको अनुभव छ । केपी शर्मा ओलीसँग तत्कालीन प्ररायुसंघ (हालको युवा संघ नेपाल) केन्द्रीय कमिटीमा बसेर काम गरेका जैशी १६ वर्षसम्म जिविस महासंघको प्रवक्ता र स्थानीय निकायसम्वद्ध एशिया प्यासेफिकको सहअध्यक्ष थिए ।

सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेलाई आगामी निर्वाचनमा बहुमत दिलाउन र एमालेको सरकार निर्माणको लागि आफूले अध्यक्षमा दाबी गरेको उनले बताए ।

‘मिसन ८४ को कुरा आइरहेको छ मेरो मिसन पनि त्यही हो । आगामी निर्वाचनमा एमालेलाई प्रदेशमा पहिलो पार्टी बनाउने र सरकार गठन गर्ने उद्देश्यसहित मैले अध्यक्षमा दाबी गरेको हो ’, उनले भने, ‘सबैसँग सल्लाह गरेर उम्मेदवारी दिने निर्णयमा पुगेको हुँ ।’

जैशीले आफ्नो दाबी कायमै रहने र सहमतिको लागि वातावरणसमेत निर्माण गरिरहने बताएका छन् ।

तिमिल्सेना र जैशी अहिले प्यानल बनाउने प्रयासमा छन् । तर, सहमति हुने अवस्थामा दुवै टीमबाट पदाधिकारी मिलाउनु पर्ने हुँदा अहिले सार्वजनिक गरिएको छैन ।

त्यस्तै नेकपा एमालेनिकट रास्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष बचनबहादुर सिंह पनि अध्यक्षका आकांक्षी हुन् । एमाले स्रोतकाअनुसार तिमिल्सेना र जैशीबीच मुख्य प्रतिस्पर्धा हुने सम्भावना छ । अन्य आकांक्षीहरूलाई पदाधिकारीमा मिलाउने प्रयास भइरहेको छ ।

तिमिल्सेना र जैशी प्रदेश अध्यक्षको दाबीसहित आन्तरिक तयारीमा जुटिरहँदा पार्टी कमिटीले भने सकेसम्म सर्वसम्मतरूपमा निर्वाचन हुनुपर्नेमा लागिरहेको छ ।

‘सुदूरपश्चिममा हामी पार्टी बलियो बनाउने गरी अघि बढ्ने हो त्यसका लागि हाम्रो प्रयास सबैको भावना समेटिने गरी सर्वसम्मत होस् भन्ने हो’, प्रदेश अध्यक्ष दामोदर भण्डारीले भने, ‘हामी अहिलेसम्म पनि सर्वसम्मतकै पक्षमा छौं ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *