वनदेवी आधारभूत विद्यालयमा कम्प्युटर शिक्षा सुरू

काठमाडौं । राजधानी काठमाडौंमै भएर पनि विकास र मूलप्रवाहबाट टाढा परेको शंकरापुर नगरपालिका ८ मणिचुडस्थित वनदेवी आधारभूत विद्यालयका विद्यार्थीहरुले अब भने कम्युटर शिक्षा लिन पाउने भएका छन् ।

काठमाडौंको चाबहिलदेखि करिब २० किलोमिटरको दूरीमा रहेको वनदेवी आधारभूत विद्यालयमा शतप्रतिशत तामाङ समुदायका विद्यार्थीहरु अध्ययनरत छन् । कक्षा ८ सम्म पढाई हुने सो विद्यालयमा १५ थान कम्प्युटरसहितको अत्याधुनिक ल्याब सञ्चालनमा आएको छ । सफा सुनौलो नेपाल र लेटर डे सेन्ट च्यारिटीको आर्थिक सहयोगमा बनेको सो कम्युटर ल्याबको कांग्रेस नेता डा.शेखर कोइरालाले बुधबार उद्घाटन गरेका हुन् ।

समाजसेवी स्व.राकेश हमालको स्मृतिमा सो विद्यालयमा ६ कोठे सुविधासम्पन्न भवन पनि गत वर्षदेखि सञ्चालनमा आइसकेको छ । कम्युटर ल्याब र स्व.हमालको अर्धकदको सालिक अनावरण कार्यक्रममा महिला, बालबालिका तथा समाजकल्याण मन्त्री सुरेन्द्रराज आचार्यले विद्यालयको स्तरोन्नतिमा सरकारले थप सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

सफा सुनौलो नेपालकी महासचिव सुनिला हमालले काठमाडौंकै कर्णालीका रुपमा रहेको मणिचुड क्षेत्रका तामाङ विद्यार्थीहरुको शिक्षाका लागि संस्थाले विभिन्न सहयोग कार्यक्रम निरन्तर राख्ने बताइन् । उनले सो विद्यालयका विद्यार्थीहरुका लागि बस र बाटोको टड्कारो आवश्यकता रहेको बताइन् । समुद्री सतहदेखि २ हजार २ सय मिटर उचाईमा रहेको सो विद्यालयमा पढ्न आसपासका क्षेत्रबाट घण्टौ हिडेर विद्यार्थीहरु पुग्नुपर्ने बाध्यता रहेको छ ।

सफा सुनौलो नेपालले सो विद्यालयमा ६ कोठे पक्की भवन, कम्युटर ल्याब र बालविकास कक्षका लागि आवश्यक अध्ययन एवं खेलसामाग्रीसमेत उपलब्ध गराएको छ ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *