‘परदेशी २’ को टीम नेपालगञ्जमा, केकीले यस्तो सुनाइन् फिल्मको अनुभव

काठमाडौं । असोज २६ बाट प्रदर्शनको पर्खाइमा रहेको चलचित्र ‘परदेशी २’ को टीम प्रचारप्रसारको क्रममा नेपालगञ्ज पुगेको छ । निर्देशक नारायण रायमाझी, अभिनेता प्रकाश सपूत, अभिनेत्री केकी अधिकारीसहितको टोलीले शनिबार नेपालगञ्जका हल भिजिट गर्नुका साथै आइतबार ‘चलचित्र पत्रकार संघ नेपाल बाँके’ शाखासँग साक्षात्कार गरेको थियो ।

अभिनेता प्रकाशले ‘परदेशी २’ आफ्नो पहिलो फिल्म भएका कारण उत्साहित रहेको बताए । प्रकाशले भने, ‘त्यो सुरुवातमा फिल्म गर्दैछु भन्ने कुरामा ममा जुन उत्साह थियो, त्यो उत्साह अहिले पनि उस्तै छ । अहिले पनि म त्यही जोनमा छु ।’

अभिनेत्री केकीले ‘परदेशी २’ को कथा सबै नेपालीको कथा भएको भन्दै मौलिक कथामा अभिनय गर्ने रहर ‘परदेशी २’ ले पूरा गरेको बताइन् ।

केकीले भनिन् ‘प्रकाश सपूतजिको पहिलो फिल्म हो यो । उहाँसँग काम गर्न पाउँदा पनि खुशी छु । नारायण रायमाझी सरका अन्य फिल्महरु दर्शक बनेर हेर्ने गर्थें तर अहिले कलाकार बनेर काम गर्ने अवसर मिल्यो ।’

समाजको कथा उठान गरेकोले चलचित्रलाई दर्शकले रुचाउनेमा आशावादी रहेको निर्देशक नारायण रायमाझीले बताए । उनले ‘परदेशी २’ को सार भनेको संसार घुमेपनि आफ्नो मातृभूमि र आमाबुबालाई भुल्नु हुँदैन भन्ने रहेको जानकारी दिए ।

कोहलपुरका केही कलेजमा साक्षात्कार गरेपछि फिल्मको टिम बुटवल फर्किने योजना छ । बुटवलपछि पोखरा हुँदै फिल्मको टिम काठमाडौं फर्किनेछ ।

राजेश वंशल (अग्रवाल) र नारायण रायमाझीको निर्माण रहेको यो फिल्ममा प्रकाश र केकीका साथमा वर्षा शिवाकोटी, प्रशान्त तामाङ्ग, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ ।

मानकृष्ण महर्जनको छायांकन, बि.बि अनुरागी र नारायण रायमाझीको संगीत, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध, श्यामश्वेत रसाईलीको साउण्ड डिजाइन र मिक्सिङ रहेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *