काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कांग्रेसलाई चिढ्याएर एमालेलाई खोज्नु भनेको पार्टी सिध्याउने कुरा भएकाले त्यता नलाग्न नेकपा एसका नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
शनिवार नेकपा एसनिकट कानुन व्यवसायीको भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन सरकार छाड्ने र कांग्रेसलाई चिढ्याउने कुराले पार्टी सिद्धिने र सिंगो अभियान धराशायी हुने बताए ।
पछिल्लो समय सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चा कसका विरुद्ध भन्दै नेकपा एसले प्रमुख शत्रु किटान गरेर जानुपर्ने बताइरहेका बेला नेपालले लगातार खनालको धारणाको प्रतिवाद गरिरहेका छन् ।
खनाल गठबन्धन सरकारमा २ जना मन्त्री पठाएर केही उपलब्धि नहुने भन्दै कांग्रेससँगै प्रधान अन्तर्विरोध रहेको बताउँदै आएका छन् । उनले एमालेसँगको एकतामा जोड दिँदै अहिलेकै अवस्थामा नेकपा एस अघि नबढ्ने समेत बताइरहेका छन् ।
खनाललाई जवाफ दिँदै नेपालले भने- अहिले गठबन्धनको सरकारबाट बाहिरिनुपर्छ भन्नु पार्टी सिध्याउन खोज्ने कुरा हो । कांग्रेसलाई शत्रु बनाएर,कांग्रेसलाई बिच्क्याएर अरू कसैलाई खुसी पार्न खोजेको छ भने त्यो कुरा सिंगो अभियान धराशायी पार्ने हो । हामी त्यो दिशामा जान सक्दैनौँ ।
नेपालले अहिलेको गठबन्धन नै नेकपा एसको बलमा बनेकाले यसलाई नै बलियो बनाउनुपर्ने र समाजवादी मोर्चामा आउन चाहनेलाई ढोका बन्द नगरिएको बताए ।

Leave a Reply