काठमाडौं । प्रेस काउन्सिल नेपालले यस वर्ष ५४औं वार्षिकोत्सवका अवसरमा प्रदान गर्न लागेको पत्रकारिता पुरस्कारमा बोर्ड सदस्य रामप्रसाद दाहालले आपत्ति जनाएका छन् ।
पुरस्कार प्राप्त गर्ने ६० जनाको नाम छनोट भएर सार्वजनिक भएपछि बोर्ड सदस्य दाहालले एक प्रेस विज्ञप्ति जारी गर्दै पुरस्कार छनोट प्रक्रियाप्रति प्रश्न उठाएका हुन् ।
दाहालले बोर्डमा अध्यक्ष बालकृष्ण बस्नेतबाटै प्रस्तावित कतिपय जुझारु युवा पत्रकारको नाम कपटपूर्ण र पूर्वाग्रही ढंगले हटाइ मनोमानी ढंगले नाम घोषणा गर्दा आफू स्तब्ध भएको उल्लेख गरेका छन् । बोर्ड बैठकमा प्रस्तावै नगरिएका नाम थपेर अझ जात्रा देखाइएको उनको भनाइ छ ।
विज्ञप्तिमा भनिएको छ, ‘काउन्सिलको असोज २ गते बसेको बोर्ड बैठकले चर्को विवादबीच प्रेस काउन्सिल सुरेन्द्र बहादुर बस्नेत पत्रकारिता पुरस्कारदेखि प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार गरेर करिब ६० को संख्यामा विभिन्न विधामा पुरस्कार प्रदान गर्ने भनी गरेको निर्णय प्रक्रियाप्रति मेरो गम्भीर असहमति रहेको अवगत गराउन चाहन्छु । २०७८ मा ३४ र २०७९ मा ४६ जनालाई पत्रकारिता पुरस्कार प्रदान गरिएकोमा यो वर्ष २०८० का लागि ६० जना पत्रकारलाई विभिन्न विधामा पुरस्कार दिने भनी गरिएको निर्णय अपारदर्शीमात्र होइन, मापदण्ड तथा विधि–प्रक्रियाविना हचुवा भयो, काउन्सिल नेतृत्वको तजबिजमा लिइएको यस्तो निर्णय प्रक्रियाप्रति मेरो सहमति थिएन ।’
काउन्सिलले यस वर्ष पुरस्कार छनोटका लागि वरिष्ठ सदस्य हरिप्रसाद जोशीको नेतृत्वमा सात सदस्यीय समितिले सदस्यबीचको सहमतिमा २७ जनाको नाम पत्रकारिता पुरस्कारका लागि अध्यक्षसमक्ष सिफारिस गरेको थियो । तर, अध्यक्ष बस्नेतले उक्त सिफारिस लत्याउँदै सदस्यलाई धम्की नै देखाएर विवादका बीच आफ्नो प्रस्ताव पारित भएको भनेर बैठकमा घोषणा गरेको दाहालले बताएका छन् ।
अर्थ मन्त्रालयले काउन्सिलको पुरस्कारमाथि पटक पटक प्रश्न गर्दासमेत यस पटक पुरस्कारका लागि विनियोजित रकम भन्दा निकै बढी खर्च गर्न लागिएको र मुलुकको आर्थिक अवस्था जीर्ण रहेको अवस्थामा यसरी राज्य कोषको मनपरी प्रयोगलाई कदापि समर्थन गर्न नसकिएको बोर्ड सदस्य दाहालको भनाइ छ ।
उनले काउन्सिलको वार्षिकोत्सवमा सम्मान गर्न लागिएका अग्रज र अनुज तथा पत्रकारिता पुरस्कारका लागि छनोट भएका सबै पत्रकारको नामप्रति आफ्नो कुनै असहमति नभए पनि काउन्सिलको गरिमा र पुरस्कारको वजन बढाउन आवश्यक विधि प्रक्रिया नपुर्याइएकोप्रति आफ्नो असहमति रहेको बताए ।
उनले असोज ६ गते हुने वार्षिकोत्सव समारोहमा समेत अनुपस्थित रहने विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

Leave a Reply