प्रदेश सांसदको लगानी भन्दै नवलपरासीको निजी विद्यालयमा वैद्य निकट विद्यार्थीको कालो ब्यानर

रुपन्देही । मोहन बैद्य (किरण) नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल क्रान्तिकारी नवलपरासीले प्रदेश सांसद विश्वप्रेम पाठकको लगानी रहेको पश्चिमनवलपरासीको बर्दघाट १३ धनेवास्थित ज्ञानकुन्ज शिक्षा सदनमा कालो ब्यानर टाँगेको छ ।

प्रस्तावित शिक्षा बिधेयकले शैक्षिक निजीकरण एवं माफियाकरणलाई जोड दिएको भन्दै अखिल क्रान्तिकारीले त्यसको खारेजीको माग गर्दै जनप्रतिनिधिहरुको लगानीमा संचालित निजी विद्यालयलाई निशाना बनाएको हो ।

जिल्लामा प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य तथा पालिकाका जनप्रतिनिधिहरुको लगानीमा रहेका विभिन्न बिद्यालयहरुमा कालो ब्यानर राख्ने कार्यक्रमको पहिलो चरणमा उक्त कार्यक्रम सम्पन्न गरिएको क्रान्तिकारीका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक सन्देश सापकोटाले जानकारी दिए ।

तर सांसद पाठकले भने पहिले आफू सो विद्यालयको अध्यक्ष भएर संचालन गरेको भएपनि अहिले शेयर नभएको बताए । ‘त्यो स्कुल मैले खोलेर चलाएको हुँ, राजनीतिमा जोडिएपछि मैले सबै शेयर हस्तान्तरण गरिसकेँ, खै किन र के को विरोध हो मैले बुझेको छैन’ उनले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *