विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिलाई कमजोर पार्नेविरुद्ध सचेत हुनुपर्छ : राष्ट्रपति पौडेल (भिडिओ)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिलाई कमजोर पार्नेविरुद्ध सचेत हुनुपर्ने बताएका छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८० को उपलक्ष्यमा बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले जनआन्दोलनका उपलव्धिहरुलाई कमजोर पार्ने काम हुन सक्ने भन्दै सचेत हुनुपर्ने बताएका हुन् ।

जनअनुमोदित संविधानसभाबाट निर्माण भएको लोकतान्त्रिक संविधानका व्यवस्थाहरूलाई निस्तेज पार्ने काम कतैबाट हुन नपाओस् भन्नेमा चनाखो हुनुपर्ने उनको भनाइ छ ।

उनले शासकीय कमजोरीलाई अब राजनीतिक निष्ठा र लोकतन्त्रको पवित्रताले जित्नैपर्ने धारणा राखे । राष्ट्रपति पौडेलले सबैले मिलेर लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण चरण पार गरेकाले आफैँले बनाएको संविधान मुलुकमा रहेको जिकिर गरे । उनले व्यवस्था परिवर्तन भएपनि देश समाज र जनसामान्यको अवस्थामा भने अझै परिवर्तन हुन नसकेकाले राज्यको चरित्रको पुनः संरचना आवश्यक रहेको बताए ।

मुलुकको सुखद भविष्य प्राप्त गर्न राजनीतिक उपलब्धिहरूलाई जोगाउँंदै र संविधानको रक्षा गर्दै अगाडि जानुको विकल्प नरहेको उनले बताए ।

राष्ट्रपति पौडेलले देशलाई नेपाली मौलिकतासहितको एक विशिष्ट र विश्वको उन्नत राष्ट्र बनाउने प्रचुर सम्भावना रहेको भन्दै लोकतान्त्रिक संस्कारको जग बसालेर कुशलतापूर्वक मेहनत गरेमा सम्भव रहेको बताए ।

त्यस्तै, उनले सबै किसिमका बेथितिलाई अन्त्य गर्दै सुशासनको माध्यमबाट जलस्रोत र उर्जा शक्तिको मात्र उचित व्यवस्थापन गर्न सके नेपाल दुनियाँको समुन्नत राष्ट्रको कोटीमा पुग्ने सम्भावना अगाडि देखापरेको जिकिर गरे ।

उनले सुशासन नै मुलुकको अमनचयन, विकास र समृद्धिको आधार भएकाले उल्लेखित सबै क्षेत्रमा सुधारको आवश्यकता रहेको धारणा व्यक्त गरे ।

यसका लागि सन्तुलित र प्रभावकारी परराष्ट्र नीतिका माध्यमबाट द्विपक्षीय र बहुपक्षीय अन्तराष्ट्रिय सम्बन्धलाई अझै सुदृढ गरी राष्ट्रिय अर्थतन्त्रलाई सबलीकरण गर्दै युवा जनशक्तिलाई देशभित्रै रोजगारी र आम्दानीका अवसर सृजना गर्न उहाले आग्रह गरे ।

कार्यक्रममा उपराष्ट्रपति रामसहाय यादव, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, पूर्वसभामुख अग्निप्रसाद सापकोटा, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ लगाएतको उपस्थीति रहेको थियो ।

 

Comments

One response to “विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिलाई कमजोर पार्नेविरुद्ध सचेत हुनुपर्छ : राष्ट्रपति पौडेल (भिडिओ)”

  1. Chhabi Sharma Avatar
    Chhabi Sharma

    सम्माननिय महामहिम ज्यू , विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिलाई कमजोर पार्ने विरुद्ध सचेत हुनुपर्छ भनी वक्तव्य प्रसारण भएको लगत्तै एकजना ज्यानमाराले ४० प्र.श. पनि कैद पुरा नगरेकालाइ कैद मिन्हा गरिएको देख्दा त्यही विन्दुबाट उपलब्धिहरूलाइ कमजोर बनाउनेको लगत तयार गर्नु पर्ने देखिन्छ । के गर्ने हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *