राष्ट्रिय पुस्तकालयमा अनलाइन आईएसएसएन सेवा सुरु

काठमाडौं । नेपाल राष्ट्रिय पुस्तकालयले विभिन्न प्रकाशनका पत्रिका र जर्नललाई अन्तर्राष्ट्रिय शृङ्खलाबद्ध मानक नम्बर (आईएसएसएन) अनलाइनबाटै प्रदान गर्न सुरु गरेको हो ।

पुस्तकालयले हालसम्म एक हजार ५५१ पत्रिका र जर्नललाई उक्त नम्बर प्रदान गरिसकेको छ । अब भने उक्त नम्बर अनलाइनबाटै लिन सकिने भएको छ ।

सरकार मातहतको सो पुस्तकालयले वि.सं २०६५ सालदेखि उक्त नम्बर उपलब्ध गराउने सेवा दिन थालेको हो । उक्त नम्बर उपलब्ध गराउन यो आधिकारिक निकाय मानिन्छ । विगतमा ललितपुरको हरिहर भवन, पुल्चोकमा सञ्चालित सो पुस्तकालय २०७२ सालको भूकम्पयता भक्तपुरको सानोठिमीमा सञ्चालित छ ।

सोह्रौं पुस्तकालय दिवसका अवसरमा आइतबार आयोजित पुस्तक तथा पत्रपत्रिकाको संरक्षणसम्बन्धी कार्यशालाका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले सो पुस्तकालयको अनलाइन आईएसएसएन सेवाको शुभारम्भ गर्दै भावी दिनमा यो सेवा अझ प्रभावकारी र गुणस्तरीय हुने अपेक्षा व्यक्त गरे ।

पुस्तकालय प्रमुख दशरथ मिश्रले सो सेवालाई थप प्रभावकारी बनाइने बताए ।

सो अवसरमा मन्त्रालयका उपसचिव पिताम्बर भण्डारीले समग्र पुस्तकालय प्रणालीको सुसञ्चालनका लागि आवश्यक पर्ने एकीकृत कानून तर्जुमा गर्न सहयोग गरिने बताए ।

केशर पुस्तकालयका प्रमुख सुरेशकुमार यादवले पुस्तकालयको वर्तमान अवस्था, सम्भावना र चुनौतीका विषयमा प्रस्तुतीकरण गरेका थिए । –रासस

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *