ललितपुर उद्योग वाणिज्य संघमा मेरो प्यानलको जित सुनिश्चित : विश्वराज बज्राचार्य

काठमाडौं । ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षको आकांक्षी विश्वराज बज्राचार्यले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् । वर्तमान वरिष्ठ उपाध्यक्षसमेत रहेका बज्राचार्यले संघको आउँदो चुनावमार्फत अध्यक्षमा आफ्नो सिंगो प्यानलको जित निश्चित रहेको बताएका हुन् ।

असोज १९ गते ललितपुर उद्योग वाणिज्य संघको साधारणसभा तय गरिएको छ । आफू निर्वाचित बनेपछि ललितपुरका सम्पूर्ण साना ठूला व्यवसायीको छाता संगठनकारूपमा संघलाई अघि बढाउने उनको प्रतिबद्धता छ ।

‘देशको राजधानी उपत्यकाको उद्योग वाणिज्य संघलाई थप सुदृढ र बलियो बनाउने गरी काम गर्छु,’ बज्राचार्यले भने, ‘ललितपुरका सम्पूर्ण साना ठूला व्यवसायीले अनुभव गर्ने गरी काम हुन्छ ।’

यस्तै, जिल्लाभित्र रहेका ३० वस्तुगत संघलाई छुट्टै पहिचान दिलाउने योजना रहेको सुनाउँदै ह्यान्डिक्राफ्ट, हस्तकला, गार्मेन्ट जस्ता महत्वपूर्ण उद्योगलाई थप व्यवस्थित बनाउने योजना पनि उनले सुनाए ।
जिल्लामा रहेको नेवारी समुदायको मौलिकतालाई ब्राण्डका रूपमा अघि बढाउन नेपाल उद्योग वाणिज्य महासंघ, केन्द्र, प्रदेश र स्थानीय सरकारसँग समन्वय अघि बढाउने बज्राचार्यले बताए ।

साधारणसभामार्फत २२ सदस्यीय कार्यसमिति चयन हुनेछ । संघको अध्यक्ष पदमा हाल तीनजना आकांक्षी देखिएका छन् । जसमध्ये बज्राचार्य प्यानलबाट वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रलाल श्रेष्ठ, महासचिवमा भूमिनन्दन कर्माचार्य र कोषाध्यक्षमा मिलन शाक्य छन ।

पदाधिकारीसहित २२ जना नै उम्मेदवार आफ्नो प्यानलमा रहेको बज्राचार्यले बताए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *