म्यानचेस्टर सिटी र लिभरपुल विजयी, हार्‍यो म्यान युनाइटेड

लन्डन। इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिवार राती भएका खेलमा साबिक विजेता म्यानचेस्टर सिटीसहित लिभरपुल र टोट्टनहाम विजयी भएका छन्। म्यानचेस्टर युनाइटेड भने पराजित भएको छ।

वेस्ट हामको मैदानमा उत्रिएको म्यान सिटी ३-१ गोलले विजयी भयो। म्यान सिटीका बर्नार्डो सिल्भा, एर्लिङ हालान्ड र जस्को जिभर्डियोले गोल गरे। खेलको सुरुवातमै वेस्ट हामले अग्रता लिएको थियो तर म्यान सिटी खेलमा सजिलै फर्कियो।

उल्भ्सको मैदानमा उत्रिएको लिभरपुल पनि सुरुमा पछाडि परेको थियो। तर दोस्रो हाफमा कोडी गाक्पो र एन्ड्रियु रोबर्टसनले गोल गरे भने एक गोल आत्मघाती भएको थियो घरेलु टोलीबाट।

घरेलु मैदानमा उत्रिएको टोट्टनहामले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै हार मात्र टारेन, जित पनि हात पार्‍यो। इन्जुरी समयमा दुई गोल गरेको हो।

सेफफिल्ड युनाइटेडसँग भएको खेलमा २-१ गोलले विजयी हुँदा टोटनहामका रिचार्लिसन र डेजान कुलुसेभ्स्कीले गोल गरे।

यता म्यान युनाइटेडले भने ब्रिघ्टनसँग घरेलु मैदानमै ३-१ गोलले हार ब्यहोर्‍यो । ५ खेलपछि अपराजित रहँदै म्यान सिटीको १५, टोट्नहामको १३ र लिभरपुलको १३ अंक रहेको छ। म्यान युनाइटेडको केवल ६ अंक रहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *