रविको ‘कोर टीम’ भन्दै ढाकाकुमारले नाम लिएका मोहनजंगमाथि रास्वपाले थाल्यो अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित पूर्वसांसद ढाकाकुमार श्रेष्ठले नाम लिएका केन्द्रीय सदस्य मोहनजंग थापामाथि अनुसन्धान थालेको छ ।

सभापति रवि लामिछानेको कोर टीमको मान्छे भन्दै थापाले आफूलाई मन्त्री बनाउन तीन करोड मागेको ढाकाकुमारले आरोप लगाएपछि पार्टीले छानबिन थालेको हो ।

ढाकाकुमारले नाम लिएका पार्टीका नेताहरूमाथि गम्भीर रूपमा आफूहरुले अनुसन्धान अगाडि बढाइसकेको रास्वपा प्रमुख सचेतक सन्तोष परियारले बताए । बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानीको क्रममा उनले आरोप सत्य प्रमाणित भए कारबाही हुने बताए ।

उनले भने, ‘उहाँले लगाउनुभएको आरोपलाई गम्भीर रुपमा लिएर हामीले अनुसन्धान अगाडि बढाइसकेका छौं । दोषी देखिए कारबाही हुन्छ ।’

त्यसो त बुधबार रास्वपाले पार्टी नेता थापामाथि ढाकाकुमारले लगाएको आरोपप्रति आपत्ति जनाएको थियो । पार्टी महामन्त्री मुकुल ढकालले विज्ञप्ति जारी गर्दै विनाआधार, विनाप्रमाण पार्टीको छविमा आँच पु¥याउने कलुषित मनसायले जनसमुदायमाझ पार्टीका सम्बन्धमा फैलाइएका सूचनाबाट भ्रममा नपर्न आग्रह गरेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी पारदर्शिता, जवाफदेहिता र भ्रष्ट्राचारप्रति शून्य सहनशीलताको नीति अनुसरण गर्ने पार्टी भएकाले यस प्रकरणमा अझै पनि पार्टीका कुनै पनि तहको पदाधिकारी वा केन्द्रीय सदस्यले पार्टीको नाम प्रयोग गरी कसैसँग पैसा मागेको ठोस प्रमाण लिएर डा. श्रेष्ठ वा जोकोही आए पनि ७२ घण्टाभित्र कारबाही गर्ने भन्दै महामन्त्री ढकालले चुनौती दिएका थिए ।

विज्ञप्तिमा भनिएको थियो, ‘सञ्चारमाध्यमहरुमा मेडिकल व्यवसायीसँगको अडियो बाहिरिएपछि डा. श्रेष्ठले कहिले उक्त अडियो आफ्नो नभएको भन्ने त कहिले त्यो पुसको अडियो अहिले किन सार्वजनिक भयो भन्ने, कहिले कोर टीमको खुलासा गर्छु भन्ने, कहिले पार्टीमा कुनै कोर टीम नभएको भन्ने त कहिले पार्टीका फरकफरक केन्द्रीय समिति सदस्यहरुलाई पोलिरहने जस्ता एकापसमा परस्पर विरोधी अभिव्यक्तिहरु दिइरहनुभयो ।’

व्यवसायी प्रसाईंसँग दुई करोड डिल गरेको अडिओ सार्वजनिक भएपछि रास्वपाले साधारण सदस्यसमेत नरहनेगरी ढाकाकुमारलाई निष्कासन गरेको थियो ।

Comments

One response to “रविको ‘कोर टीम’ भन्दै ढाकाकुमारले नाम लिएका मोहनजंगमाथि रास्वपाले थाल्यो अनुसन्धान”

  1. ksp pyl Avatar
    ksp pyl

    एक नम्बरको फटाहा त …..

Leave a Reply

Your email address will not be published. Required fields are marked *