अवैध सम्पत्ति आर्जन मुद्दामा विशेष अदालतको फैसलाउपर सर्वोच्चमा अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ करोडभन्दा बढी अवैध सम्पत्ति कमाएको अभियोगमा श्यामकृष्ण च्वामू श्रेष्ठसमेत सातजनाविरुद्ध दायर मुद्दामा विशेष अदालतको फैसलाउपर चित्त नबुझेपछि पुनरावेदन गरेको छ ।

विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएकामध्ये गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा आयोगको निर्णय अनुसार आइतबार सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरिएको हो ।

प्रतिवादी श्यामकृष्ण च्वामू श्रेष्ठसमेत गरेर सातजना प्रतिवादी भएको मुद्दामा विशेष अदालतले गत माघ २३ गते गरेको फैसलामाथि पुनरावेदन गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । उनका अनुसार प्रतिवादी श्रेष्ठले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, भन्सार कार्यालय काठमाडौंमा सार्वजनिक सेवा प्रवेश गरेको मिति २०५३ चैत पाँच गतेदेखि २०७५ पुस ३० गतेसम्म समग्र जाँच अवधिमा १९ करोड ७४ लाख ५५ हजार ८१६ रुपैयाँ आम्दानी गरेकोमा १० करोड ११ लाख ४६ हजार ९८८ रूपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएको थियो । त्यसबाट बढी बढाउ भएको चार करोड ४९ लाख ७७ हजार ४९० रुपैयाँ गरेर जम्मा १४ करोड ६१ लाख २४ हजार ४१८ रुपैयाँ बराबको सम्पत्ति गैरकानूनी रुपमा आर्जन गरेको पाइएको थियो ।

उक्त मुद्दामा विशेष अदालतले आंशिक ठहर तथा सफाइ दिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *