६० किलो सुन प्रकरणको पराकम्पन : विमानस्थल भन्सारका कर्मचारी आन्दोलित

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत् कर्मचारीहरूले आन्दोलन थालेका छन् । काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै भदौ १२ गते १३७ कर्मचारीले सामूहिक सरुवा मागेका थिए । उक्त माग सुनुवाइ नभएको भन्दै कर्मचारीहरूले विभिन्न ५ बुँदे माग राख्दै संघर्ष सुरू गरेका हुन् ।

आजदेखि घोषणा गरिएको तीन दिने संघर्षका कार्यक्रमअन्तर्गत पेन डाउनदेखि, निकासी पैठारी र यात्रु जाँचपाससमेत बन्द गर्नेसम्मको छ । आज सांकेतिक विरोधस्वरूप ३ घण्टा पेन डाउन गरिएको छ ।

पछिल्लो समयमा ६० किलो सुन बरामदको घटनापश्चात विभिन्न निकायबाट गरिएका अनुसन्धान तथा छानबिनको बहानामा विभिन्न निकायहरूबाट आफूहरूलाई विनाकारण दु:ख दिने तथा मानसिकरूपमा क्षतविक्षत् बनाएकाले कार्यालयमा रही कामकाज गर्न कठिनाई महसुस भएको उनीहरूको गुनासो छ ।

राजस्व असूलीको असल नियतले कानूनबमोजिम गरिएको नियमित कार्यलाई अनुसन्धानको बहानामा तथा अनुसन्धानलाई नै विषयान्तर गर्ने गरी निर्दोष कर्मचारीलाई धरपकड गरिएको भन्दै बन्द गर्नुपर्ने, कार्यालयमा भौतिक पूर्वाधार र आधुनिक प्रविधिको व्यवस्था गर्नुपर्ने, डरत्रास विना उच्च मनोबलमा काम गर्ने वातावरण हुनुपर्ने, विनाप्रमाण, पक्राउ पूर्जी अनुमति नलिई कर्मचारीहरुलाई गिरफ्तार गर्ने, दुःख दिने, हैरानी दिने कार्य बन्द गर्नुपर्नेलगायतका माग छन् ।

‘सीआईबीबाटै संचार माध्यमहरुलाई उपलब्ध गराएको सूचना अनुसार घटनाका मूख्य योजनाकार तथा सो सँग संलग्न देखिएका व्यक्ति र अपराधमा प्रत्यक्ष संलग्नता भएका भनिएका त्यस्ता पहुँचवाला व्यक्तिलाई निजको राजनीतिक संरक्षणका आधारमा अनुसन्धानलाई विषयान्तर गर्ने उद्देश्य राखी कर्मचारीलाई मात्र दुःख दिने कार्य अविलम्ब बन्द हुनुपर्ने’, भन्सार प्रशासकसमक्ष प्रस्तुत कर्मचारीको माग पत्रमा भनिएको छ ।

उक्त माग र आन्दोलनको जानकारी अर्थमन्त्री, अर्थसचिव, राजस्व सचिवलगायतलाई दिइएको छ ।

यो पनि पढ्नुस् : काम गर्ने वातावरण नभएको भन्दै विमानस्थल भन्सारका १३७ कर्मचारीले मागे सामूहिक सरुवा

हेर्नुस् कर्मचारीको माग तथा विरोधका कार्यक्रम

Comments

One response to “६० किलो सुन प्रकरणको पराकम्पन : विमानस्थल भन्सारका कर्मचारी आन्दोलित”

  1. खेम बहादुर खड्का Avatar
    खेम बहादुर खड्का

    भन्सार बिभाग का कर्मचारी , नेपाल सरकार का सरकारी कर्मचारी , तिमी हरु पनि अब धेरै सल्बलाउन लागेका छौ। तिमीहरु को पेट अझै भरिएको छैन? आज त ठगबन्धन को नालायक सरकार सत्तामा रमाएको छ। थाहा छ नि चोर निजामती कर्मचारी हरु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *