गल्ती गर्ने काेही नउम्कियोस्, निर्दोष कोही नफसोस्ः वर्षमान पुन

काठमाडौं । सरकार नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले भ्रष्टाचार र बेथिति अन्त्यका लागि सरकारले चालेको कदम नरोकिने बताएका छन् ।

पार्टी सम्वद्ध अखिल नेपाल ट्रेड युनियन महासंघले मंगलबार राजधानीमा गरेको कार्यक्रममा बोल्दै उनले सरकारले बेथिति अन्त्य र सुशासन कायम गर्ने एजेण्डालाई प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रशंसा गरे ।

सुशासनका लागि कदम चाल्दा दोषी कोही नउम्किउन् र निर्दोष कोही नपरुन भन्नेमा सरकार गम्भीर बन्नुपर्ने उनको भनाइ थियो । उनले अनुसन्धानका सिलसिलामा माओवादीसहित सरकारका संलग्न दलका नेता कार्यकर्ता वा उनीहरुहरुका निकट व्यक्ति संलग्न भए पनि उन्मुक्ति पाउन नहुने स्पष्ट गरे ।

‘बेथितिविरुद्ध प्रहार गर्ने क्रममा सत्तामा भएका वा नभएका दलका नेता, मन्त्री, प्रधानमन्त्री, उनका परिवारका सदस्य वा निकट व्यक्ति अपराधमा संलग्न रहेछन् भने नछुटुन्’, पुनले भने, ‘तर, सत्तापक्ष वा आफ्नै पार्टीभित्र, आफूसँग असहमत प्रमुख प्रतिपक्षसहित प्रतिपक्षतर्फ लक्षित गरी राज्यशक्तिको दुरुपयोग गर्ने काम भयो भने भ्रष्टाचारविरोधी अभिायन सफल हुन सक्दैन । त्यसैले म भन्छु गल्ती गर्ने एक जना पनि नउम्कियोस, निर्दोष कोही नफसोस् ।’

सरकार सत्ता पक्ष, प्रतिपक्ष, सत्तापक्षलाई समर्थन गर्ने र विरोध गर्ने सबैको भएको हेक्का राखिनुपर्नेमा उनको जोड थियो । पुनले कसैमाथि आरोप लाग्दैमा उसका वरिपरका सबैमाथि अपराधी झैं गरी सामाजिक चरित्र हत्या गर्ने प्रवृत्ति डरलाग्दो रुपमा बढेर गएकामा चिन्ता व्यक्त गरे ।

दलका नेता, कर्मचारी, चित्किसक, इन्जिनियर, व्यवसायीमध्ये केहीले गल्ती गर्दैमा वा आरोप लाग्दैमा ती कर्ममा संलग्न सबै खराब हुन भन्ने मनोविज्ञान समाजमा हाबी हुन खोजेकामा चिन्ता व्यक्त गरे ।

पुनले विशिष्ट अवस्थामा आफ्ना अध्यक्ष प्रचण्डले नेतृत्व गरेको सरकारसँग अपेक्षा धेरै भएको बताए । कयौं विषयमा राजनीतिक मतभेद रहे पनि सरकारले राष्ट्रिय सरोकारका विषयमा प्रमुख प्रतिपक्षी एमालेसहित सबै पक्षसँग सहकार्य र साझा अवधारणा बनाएर अघि बढ्न खोजेको पुनले उल्लेख गरे । राष्ट्रिय सरोका र एजेण्डामा सबै राजनीतिक शक्तिबीच समान धारणा बन्ज्नुपर्नेमा उनले जोड दिए

उद्योगी व्यवसायीलाई निरुत्साहित नगरौं

कार्यक्रममा पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले निजी क्षेत्रलाई आस्वस्त नपारी मुलुकको आर्थिक विकास सम्भव नभएको बताए । उनले सरकार नेतृत्वकर्ता दलको नेताका हैसियतमा सरकारबाट लगानीकर्ता डराउनुपर्ने अवस्था नरहने प्रतिबद्धता जनाए ।

‘बैंकबाट ऋण लिएर गरेको व्यवसाय डुबेर सडकमा आउनुपर्छ कि भनेर लगानीकर्ता डराउनुपर्दैन । सरकार लगानीमैत्री ढंगले नै अगाडि बढ्न चाहन्छ’, पुनले भने, ‘निजी क्षेत्रले सुरक्षको भावनाका साथ काम नगर्दासम्म रोजगारी सृजना, पुँजीवृद्धि र आर्थिक विकास सम्भव छैन भन्ने कुरा सरकारको नेतृत्वले बुझेको छ ।’

उनले मुलुकको आर्थिक विकासका लागि लगानी योग्य रकमको प्रचुरता हुनुपर्ने औंल्याए । देशभित्रकै साना लगानी संकलन, वैदेशिक सहायता र अन्तर्राष्ट्रिय लगानीमार्फम लगानी योग्य रकम जुटाउनुपर्ने बताए । ‘केही साथीहरु वैदेशिक सहायता वा ऋण लिनै हुँदैन भन्ने मान्यता राख्नुहुन्छ, म त्यसमा सहमत छैन’, उनले भने, ‘हाम्रो राष्ट्रिय स्वार्थ, प्राथमिकता र आवश्यकताका आधारमा वैदेशिक ऋण सहायता वा लगानी ल्याउनैपर्छ ।’

वैदेशिक लगानी भित्र्याउन सरकार, प्रमुख राजनीतिक दल र निजी क्षेत्रको सहकार्यमा लगानीमैत्री वातावरण निर्माण गरिनुपर्ने उनको धारणा थियो । उनले लगानकिर्ता र मजदुरका बीचमा हार्दिक सम्बन्ध स्थापित नभएसम्म दुवै पक्ष सुरक्षित नहुने बताए ।

‘लगानीकर्ता बिना मजदुरले श्रम बेच्न पाउँदैन । मजदुर बिना लगानीकर्ताले उत्पादकत्व बढाउन सक्दैन । मजदुरले बढी सेवा सुविधा लिन खोज्छ, लगानीकर्ताले बढीभन्दा बढी नाफा आर्जन गर्न खोज्छ । यी दुवै सोच गलत होइनन्’, पुनले भने, ‘दुवै पक्षले बुझ्नुपर्ने कुरा के छ भने एकबिना अर्को चल्न र टिक्न सक्ने अवस्था हुँदैन ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *