काठमाडौं । जलस्रोत अनुसन्धान विकास केन्द्र पुल्चोक ललितपुरका लेखा अधिकृत तोरणबहादुर कार्कीले पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । लेखा अधिकृत कार्कीले ४ करोड ६७ लाख ३८ हजार ७८० रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दर्ता गराएको हो ।
२०५३ जेठ १७ देखि २०७९ मंसिर २८ सम्मको जाँच अवधिमा समग्र आय तथा व्ययको विश्लेषण गर्दा आयतर्फ पारिश्रमिक आय, निजकी श्रीमतीको पारिश्रमिक आय, विभिन्न भत्ता आय, घर बहाल आय, बीमा परिपक्व आय, जग्गा बिक्री आय, बैंक व्याज आय विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको कर्जा आय, ऋणवापत प्राप्त विप्रेषण आय गरी वैध आय १ करोड ८ लाख ४८ हजार ५९० रुपैयाँ रहेको अख्यितारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
सोही अवधिमा कार्कीले सिर्जना गरेको खर्च तथा लगानीतर्फ घर निर्माण खर्च, जग्गा खरिद र रजिष्ट्रेशन दस्तुर, अध्ययन खर्च, ऋण लिएवापत तिरेको साँवा व्याज, बीमा प्रिमियमवापत तिरेको रकम, सवारीसाधन खरिद, विभिन्न कम्पनीहरुको शेयर खरिद र लगानी गर्दा भएको खर्च, पूँजीगत लाभकर, घर बहाल कर, बैंक मौज्दातमा जम्मा ५ करोड ७५ लाख ८७ लाख ३७० रुपैयाँ रहेको उल्लेख छ ।
जसमा ४ करोड ६७ लाख ३८ हजार ७८० रुपैयाँ बराबरको खर्च तथा लगानीको वैधानिक स्रोत खुलेको नदेखिएको र वैधानिक आयको तुलनामा खर्च एवं लगानीसहितको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिन आएको अख्तियारको ठहर छ ।
कार्कीलाई भ्रष्टाचार निवारण ऐनबमोजिम विगो, जरिवाना र कैद सजाय हुन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख बमोजिम बिगो र जरिवाना जफत गर्न माग गर्दै अख्तियारले उजुरी दर्ता गराएको हो ।
सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानूनी रुपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ति श्रीमती उर्मिला थापा कार्कीसमेतको नाममा जग्गाहरु खरिद, शेयर खरिद, सवारीसाधन खरिद तथा बैंक खाताहरुमा रकम मौज्दातलगायतमा गरिएका खर्चमध्ये स्रोत पुष्टि हुन नसकेको लागत मूल्य बराबरको भागको स्रमेत नखुलेको सम्पत्ति विगो जफत गर्न माग गरेको छ ।

Leave a Reply