काठमाडौं । रोटरी ई क्लब ३२९२ द्वारा कोलावोरेटिभ स्कुल नेटवर्कको संयोजनमा ललितपुरको महालक्ष्मी नगरपालिका-६ स्थित भानुदय आधारभुत विद्यालयमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार भएको उक्त कार्यक्रममा अभिभावक शिक्षा प्रशिक्षक प्रतिमा लामाले श्रोत व्यक्तिको रुपमा बालबालिकाहरुलाई हुर्काउने क्रममा अभिभावकहरुको महत्वपूर्ण भूमिकाबारे प्रकाश पारेकी थिइन् ।
सहभागी अभिभावकहरुको बालबालिका हुर्काउने क्रममा हुने समस्याहरु अनि तिनका समाधानका विषयमा उनले चर्चा गरेकी थिइन् । कार्यक्रममा विद्यालयमा नर्सरीदेखि कक्षा तीनसम्ममा अध्ययनरत विद्यार्थीका करिब ५० जना अभिभावकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित अधिंकाश अभिभावकहरुले बालबालिकाहरुमा धेरै मोबाइल हेर्ने लत मुख्य समस्या रहेको बताएका थिए ।
स्रोत व्यक्ति लामाले आमाबुबाहरुले आफुले पनि मोबाइल हेर्ने बानी कम गरेर बालबालिकाहरुको अगाडि उदाहरण बन्नुपर्ने, उनीहरुलाई मोबाइलको विकल्पको रुपमा अन्य कार्यहरुमा संलग्न गराउने, उनीहरुले जति जिद्दी गरे पनि धेरै मोबाइल चलाउन दिनु नहुने जस्ता उपायहरु बारेमा चर्चा गरेकी थिइन् ।
त्यसैगरी, बालबालिकाहरुलाई गृहकार्य गराउने क्रममा आउने चुनौतीलाई कसरी समाधान गर्न सकिन्छ भन्ने बारेमा पनि उक्त कार्यक्रममा छलफल भएको थियो । लामाले अभिभावकहरुले पाठ्यक्रमको पढाइलाई मात्र केन्द्रीत नगरी अन्य सिकाइलाई पनि उतिक्कै जोड दिनुपर्ने बताइन् ।
निःस्वार्थ सेवा गर्ने पहिचान बोकेको रोटरीको उद्देश्य प्राप्तिका निम्ती रोटरी ई क्लब ३२९२ ले बिभिन्न सामाजिक कार्यहरु गरिरहेको र वर्तमान समयमा विभिन्न कारणहरुले बालबालिकाहरु हुर्काउन अभिभावकहरुलाई चुनौती रहेको तथा बालबालिकाहरु समाज र देशको भविष्य भएको हुनाले आगामी दिनहरुमा पनि अभिभावक शिक्षाको प्रचारप्रसारलाई निरन्त रता दिइरहने उक्त क्लबका प्रेसिडेन्ट रविनमान बज्राचार्यले बताए ।

Leave a Reply