प्रेस चौतारी नेपाल रामेछाप बागमतीको उत्कृष्ट जिल्ला शाखा

काठमाडौं । प्रेस चौतारी नेपाल, बागमती प्रदेश कमिटीले रामेछाप जिल्लालाई उत्कृष्ट घोषणा गरेको छ। शनिवार काठमाडौंको कमलादीमा आयोजित बागमती प्रदेश कमिटीको कार्यालय उद्घाटन एवम् पुरस्कार घोषणा कार्यक्रममा प्रेस चौतारी नेपाल, रामेछापलाई प्रदेशकै उत्कृष्ट जिल्ला घोषणा गरिएको हो।

कार्यक्रममा प्रेस चौतारी नेपाल बागमतीका अध्यक्ष शरद सापकोटाले रामेछापलाई उत्कृष्ट जिल्ला, दोलखाकी पत्रकार विनिता शिवाकोटी र मकवानपुरकी पत्रकार सरिता दाहाललाई प्रेस चौतारी बागमती पत्रकारिता पुरस्कारबाट सम्मान गर्ने घोषणा गरेका हुन्। उनले आगामी कार्यक्रममा उनीहरुलाई सम्मान एवम् पुरस्कृत गर्ने जानकारी दिए।

रामेछापले केन्द्र र प्रदेशमा जारी सर्कुलर कार्यान्वयन, शाखा आफैँ क्रियाशील भएर रचनात्मक एवम् सांगठनिक गतिविधि अगाडि बढाएको, संगठन चलायमान भएको र समयमै साधारण सभा सम्पन्न गरेकाले यस वर्ष पुरस्कृत भएको हो।

प्रदेश कमिटीले प्रत्येक वर्ष एक जिल्ला शाखा र दुई जना संगठनमा क्रियाशील पत्रकारलाई पुरस्कृत गर्ने निर्णय भएको र त्यसका लागि प्रेस चौतारी बागमती पत्रकारिता अक्षय कोष स्थापना गरिएको कोषाध्यक्ष प्रज्वल पौडेलले जानकारी दिए। उनका अनुसार तत्काल दुई लाख रुपैयाँ अक्षयकोषमा राखिने भएको छ।

१५ बुँदे मापदण्ड विपरीत महासंघले सदस्यता वितरण गरे चौतारीलाई स्वीकार्य हुँदैन : बस्नेत

कार्यक्रममा चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले नेपाल पत्रकार महासंघले मापदण्ड विपरीत गएर महासंघको सदस्यता वितरण गर्ने काम गरेको भन्दै आपत्ति जनाए।

प्रेस चौतारी नेपाल बागमती प्रदेश कार्यालयको उद्घाटन एवम् सम्पर्क डायरी सार्वजनिक गर्दै बस्नेतले पत्रकार शुद्धीकरण अभियान अन्तर्गत तयार पारिएको १५ बुँदे मापदण्ड विपरीत महासंघले वितरण गरेको सदस्यता आफ्नो संगठनलाई स्वीकार्य नहुने स्पष्ट पारे।

उनले मापदण्ड विपरीत गएर सदस्यता वितरण गर्ने काम पत्रकार महासंघले गरेकाले त्यसविरुद्ध चौतारीले महासंघको कार्यालयमा गएर तालाबन्दी गर्नुपर्ने अवस्था आउने चेतावनीसमेत दिए।

यसैगरी प्रेस चौतारीका सचिव एवम् बागमती प्रदेश इन्चार्ज विष्णु तारुकेले महासंघको निर्वाचन यसै वर्ष हुने भएकाले त्यसतर्फ संगठन योजनाबद्धरुपमा अगाडि बढ्नुपर्ने बताए। कार्यक्रममा चौतारीका केन्द्रीय पदाधिकारी, प्रदेश पदाधिकारी, विभिन्न जिल्ला अध्यक्षहरु र पदाधिकारीसहितको उपस्थिति थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *