पाेखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा माधव नेपाल अब औपचारिक रुपमा निर्दोष साबित भएको दाबी गरेका छन् ।
पोखरामा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सिआइबीको अनुसन्धानपछि अब पहिलोपटक माधव नेपाल औपचारिक रुपमा निर्दोष साबित भएको फैसला सुनाए ।
प्रचण्डले माधव नेपाललाई मात्र नभएर आफूलाई समेत यो टेन्सनको विषय रहेको भन्दै अब त्यो समाधान भएको बताए । उनले केपी ओली प्रधानमन्त्री भएका बेला आफू र माधव एउटै मोर्चामा रहेको भन्दै त्यसबेला कतै षड्यन्त्र हुने हो कि भन्ने डर लागेको समेत सुनाए ।
ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरुलाई अनुसन्धान गर्नु भनेर सर्बोच्च अदालतले दिएको आदेश कार्यान्वयन नभएको र सिआईबीको अनुसन्धानका आधारमा सरकारी वकिलले मुद्दा अघि बढाएका बेला प्रधानमन्त्रीले दोषी र निर्दोष आफैंले टुंगो लगाइदिएका छन् ।
पोखराको सभामा प्रधानमन्त्रीले ललिता निवासका दोषी जति मुद्दामा गएको भन्दै अदालतको फैसलाअघि नै आफ्नो राय दिएका हुन् ।
माधव नेपालबारे के भने प्रधानमन्त्रीले ?
माधवजी पनि यहाँ हुनुहुन्छ । उहाँको बारेमा पनि धेरै प्रश्नहरु के हो कसो हो भनेर बोलिनै राखिएको छ । पहिलो चोटी अहिले उहाँ निर्दोष हो भन्ने साबित भएको छ । तपाईंहरु विचार गर्नुहोला औपचारिक रुपमा रुपले साबित भयो । अब प्रश्न गर्ने ठाउँ रहेन । किनभने सिआईबीले उहाँको पनि के हो कुरा भनेर बयान त लियो । बयान लिएर निर्दोष साब्ति गरेर बयान लिनु नपर्ने लिखित रुपमै दिएपछि सधैंको टेन्सन । माधवजीलाई मात्रै टेन्सन भए त हुन्थ्यो त्यो टेन्सन मलाई पनि । त्यो टेन्सन केपी ओली प्रधानमन्त्री हुँदा पनि मलाई थियो । हामी त एउटै मोर्चामा थियौं । कहीँ न कहीँ षड्यन्त्र हुने हो कि भन्ने आशंका थियो । अब त्यो स्थिति रहेन दोषी गइरहेका छन् निर्दोष निर्दोष साबित भएका छन् । म तपाईंहरुले के विश्वास दिलाउँछु भने यो अभियान रोकिँदैन ।
मैले प्रधानमन्त्री हुँदा सुरुमा यो १५ दिने हुने हो कि एक महिने भन्ने लागेको थियो । गर्दै जाँदा आठ महिना हुन लाग्यो, गर्दै जाँदा वर्ष बित्छ जस्तो पनि देख्छु मैले । यो गठबन्धन त पाँचै वर्ष जान्छ । प्रधानमन्त्री हेरफेर भएपनि यो एउटा महाअभियान चल्ने देखेको छु । तपाईंहरु ढुक्कसँग अघि बढ्नुस् । सरकार दृढताको साथ यो लडाईंलाई निष्कर्षमा पुर्याउँछ ।

Leave a Reply