सांसद सापकोटाको नेतृत्वमा ८ वर्षपछि तातोपानी पुगेका नेपालीलाई चीनद्वारा स्वागत

सिन्धुपाल्चोक । चीनले ८ वर्षपछि उत्तरी नाका तातोपानीमा नेपालीका लागि आवतजावत खुला गरेको छ । तत्कालका लागि सिन्धुपाल्चोकबासीका लागि मात्र आउजाउ खुला गरिएको हो ।

शुक्रबार सिन्धुपाल्चोक–१ का प्रतिनिधिसभा सदस्य माधव सापकोटाको नेतृत्वमा नेपाली तातोपानी नाकास्थित चिनियाँ भूमि प्रवेश गरे । सांसद सापकोटासहितको नेताली टोलीलाई तिब्बत सरकारका वित्त प्रमुख वाङ फिङ र सिगात्छेका नगर प्रमुख पासाङले स्वागत गरे ।

सिगात्छेका मेयर र भन्सार प्रमुखले स्वागत गरे । सापकोटाले अब बन्द नहुने गरी नाकामा आवतजावत खोलिएको जानकारी चिनियाँ पक्षले गराएको बताए । सिन्धुपाल्चोकबाहेक अन्य जिल्लाका सर्वसाधारणका लागि पनि क्रमशः नाका खुला गर्दै जाने प्रतिबद्धता चिनियाँ पक्षले दिएको छ ।

‘आज विशेष दिन भएको हुनाले हामीलाई उहाँहरुले स्वागत गर्नुभयो’, सापकोटाले भने, ‘अरु जिल्लाका सर्वसाधारणका लागि पनि क्रमिक रुपमा व्यवस्थित गर्दै पूर्ववत अवस्थामा नाका सुचारु गर्ने नीति रहेको जानकारी दिनुभयो । हामीले नाका खोलेकामा उहाँहरु र चिनियाँ सरकारलाई धन्यवाद दियौं ।’ चिनियाँ अधिकारीहरुले नाका खोल्ने आफूहरुको कदमले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरेको जानकारी पनि सापकोटाले दिए ।

सापकोटाको नेतृत्वमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका उपाध्यक्ष दिप्छेन शेर्पा, भोटेकोशी–२ का वडाअध्यक्ष कुमार श्रेष्ठ, तातोपानी भन्सार प्रमुख दयानन्द केसी, उद्योग वाणिज्य संघ तथा हिमालय सिमापार ट्रक कन्टेनर व्यवासीका प्रतिनिधिहरु पारी गएका थिए ।

चीनको तिब्बत सरकारले गत १ मे बाटै सामान ढुवानी खुला गरेको भए पनि मानव आवतजावत भने खुलाएको थिएन । चीनले २०७२ वैशाख १२ गतेको महाभूकम्पपछि तातोपानी नाका पूर्ण रुपमा बन्द गरेको थियो । भूकम्पको चार वर्षपछि २०७६ जेठ दोश्रो साताबाट सामान आयात निर्यात खुलेको थियो ।

तर, कोभिड–१९ महामारीलाई कारण देखाउँदै २०७६ चैत ११ गतेबाट सामान ल्याउन लान पनि बन्द गरिएको थियो ।

यसैबीच तातोपानीमा रहेको नेपाली अध्यागमन कार्यालयले पिलिङस्थित मितेरी पुलबाट चीनतर्फ जाने अस्थायी र एक वर्षे स्थायी पास वितरण शुक्रबारदेखि नै थालेको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *