विदेश जानैपर्छ भन्ने नेपालीहरुको मानसिकता परिर्वतन गर्न आवश्यक छः अर्थमन्त्री महत (भिडिओ)

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महत १२ कक्षाको अध्ययन सक्ने बित्तिकै विदेश जानुपर्छ भन्ने मानसिकता परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।

बिहीवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् । अर्थमन्त्री महतले राष्ट्रिय रुपमा सबैको मानसिकता बाहिर जानैपर्छ भन्ने भएको भन्दै विद्यार्थी र युवाहरुको मानसिकता परिवर्तन गर्न आवश्यक रहेको बताए ।

उनले नेपालमा नै धेरै अवसरहरु भएको भन्दै ५० देखि १०० प्रतिशत छात्रवृत्ति बिनाको विदेशमा अध्ययनका लागि जानु नहुने बताए । उनले नेपालबाट जाने विद्यार्थीहरु राम्रो विश्वविद्यालयहरुमा नगएको भन्दै उनीहरुले अध्ययन पूरा गर्न नसक्ने राम्रो अवसर समेत पाउन नसकेको बताए ।

उनले भने,‘अहिले जति पनि विद्यार्थीहरु बाहिर देशहरुमा पढ्न जानुभएको छ । त्यो राम्रो कलेजहरुमा जानुभएको छैन । उनीहरु एउटा भिसा सर्कलमा गएका छन् । न कलेज पूरा गर्नसक्छ । न ठूलो अवसर पाएको छ । त्यस्तो स्थितिमा हामीले कक्षा १२ बाट नै ५० देखि १०० प्रतिशत छात्रावृत्ति नभइ जाने विषयमा राष्ट्रिय रुपमा छलफल गर्न आवश्यक छ । नेपालमा इन्जिनियरिङ पढ्नेहरु अन्तर्राष्ट्रिय राम्रो क्याम्पसहरुमा छात्रवृत्ति पास गरेर जान सक्ने क्षमता नेपाली विद्यार्थीहरुमा छ । तर कक्षा १२ बाट नै ४० हजार विद्यार्थी बाहिर गएका छन् । अहिले राष्ट्रिय रुपमा सबैको मानसिकता बाहिर जानै पर्छ भन्ने भएको छ । अब विदेश नजानु भनेको इज्जत नै जाने जस्तो भइसक्यो । यो मानसिकता परिवर्तन गर्न आवश्यक छ । हाम्रो शिक्षा क्षेत्रमा समस्या छैन भन्ने होइन । केही समस्याहरु छन् ।’

उनले आइटी र पर्यटनको ठूलो सम्भावनाको खानी नेपाल भएकाले पूर्वाधार निर्माण गर्न आवश्यक रहेको बताए । पर्यटन प्रवद्र्धनको लागि ठूलो ऋण लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाए पनि कसरी ऋण तिर्ने भन्ने समस्यामा सरकार रहेको उनको भनाइ छ । उनले पोखरा विमानस्थल भन्दा पहिला त्यो लगानीले निजगढमा विमानस्थल बनाएको भए राम्रो हुने अवस्था देखिएको उनले बताए ।

 

Comments

One response to “विदेश जानैपर्छ भन्ने नेपालीहरुको मानसिकता परिर्वतन गर्न आवश्यक छः अर्थमन्त्री महत (भिडिओ)”

  1. Milan ghimire Avatar
    Milan ghimire

    भ्रष्टचार,लूटतन्त्र,को अन्त्य।सरकारी कार्यालयमा सेवाग्राहीलाई सहज रूपमा सेवाप्रदान,उद्योगधन्धा को विकास गर्ने कार्यमा नेताजी हरू लागीपरेमा विदेश जानूपर्न मानसीकता स्वतः अन्त्य हुंछ।पहिले आफ्नू मानसीकता बदलनूस नेता ज्यू

Leave a Reply

Your email address will not be published. Required fields are marked *