विप्लवले बोलाए स्थायी कमिटी बैठक, समाजवादी मोर्चाबारे छलफल गर्ने

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले स्थायी कमिटीको बैठक बोलाएको छ । पछिल्लो राजनीति घटनाक्रमबारे छलफल गर्न काठमाडौंमै बस्नेगरी भोलि बिहान ८ बजेका लागि बैठक बोलाएका हुन् ।

बैठक एमसीसीबारे केन्द्रित हुने नेकपा नेता अनिल शर्माले बताए ।

उनले भने, ‘बैठकको मुख्य एजेण्डा एमसीसी नै हो । छलफलमा अन्य समामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुन्छ ।’

उनले बैठकमा चार दलीय समाजवादी मोर्चाको विषयमा पनि छलफल हुने बताए । एमसीसीको कारणले मोर्चामा खटपट भइरहेको छ ।

अनिलले भने, ‘हामीले तत्काल मोर्चा छोडिहाल्ने मनस्थिति बनाइहालेका छैनौं । अब भोलिको बैठकमा छलफल हुन्छ ।’

सरकारले एमसीसी कार्यान्वयनमा ल्याएपछि विप्लव नेतृत्वको नेकपा मोर्चामा सन्तुष्ट छैन । विप्लवले प्रधानमन्त्री प्रचण्डलाई सहकार्य तोड्न चेतावनीसमेत दिइसकेका छन् । विप्लवको चेतावनीपछि हिजो धनगढीमा हुने भनिएको सभा स्थगित भएको थियो ।

एमसिसी कार्यान्वयनको विरुद्ध विप्लव अहिले सडक आन्दोलनमा छन् । बैठकले आन्दोलनको थप निर्णय लिने पनि जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *