आफ्नै सांसदलाई रोष्टमबाट धम्क्याउँदै धनराज, रातो पासपोर्ट काण्ड बिर्साउँदै खुला किताबको ध्वाँस (भिडिओ)

काठमाडौं । कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ जघन्य अपराधीलाई पनि राजनीतिक दलको कार्यकर्ता भएबापत उन्मुक्ति दिने विधेयक ल्याएकोमा आलोचना गर्ने सांसदप्रति धम्कीपूर्ण रुपमा प्रस्तुत भएका छन् ।

केही नेपाल ऐन संशोधन गर्ने विधेयकको दफा ६४ मा उक्त प्रावधान राखिएकोलगायत विगतमा आफैंले विरोध गरेका विषय किन विधेयकमा समेटेको भनेपछि उनी सांसदहरुप्रति धम्कीपूर्ण रुपमा प्रस्तुत भएका हुन् ।

गुरुङ विपक्षी दलका होइन, आफ्नै पार्टी नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीप्रति खनिएका हुन् । चौधरीले २२८ वटा नर्सिङ कलेज बन्द भएको भन्दै स्वार्थ समूह र बिचौलियाको स्वार्थअनुसार विधेयकहरु आउने गरेको बताएका थिए ।

चौधरीले उठाएको प्रश्नको जवाफ दिनुको साटो गुरुङले मन्त्रीको मर्यादा भुलेर रोष्टमलाई आफ्नो धूमिल विगत पखाल्ने प्रयासमा खर्च गरेका हुन् ।

त्यसक्रममा उनले आफूलाई निष्कलंक र कुनै काण्ड नलागेको भनी प्रस्तुत गर्ने क्रममा रातो पासपोर्ट तस्करीमा संलग्न भएबापत पक्राउ परेर मुद्दा खेपेको विगत भने संसदको रोष्टमबाट लुकाउन खोजे ।

गुरुङले भने, ‘यहाँ एउटा गम्भीर आरोप पनि आएको छ । बिचौलिया हावी भएर आयो भन्ने कुराप्रति मेरो आपत्ति छ । बिचौलियाविरुद्ध, सामान्तवादविरुद्ध लडेर आएको हुँ । धनराज गुरुङ आजसम्म चुकेको छैन । निष्ठाको राजनीतिक गरेर आएको हो, नसकिएको दिन राजनीतिबाट बिदा लिएर बस्ने हो । एउटा विधेयक संशोधन गर्ने क्रममा बिचौलिया हावी भनेर मेरो गर्धनमा तरवार हान्न खोज्नु मिलेन । धनराज गुरुङ आजसम्म कहीं पनि चुकेको छैन, मेरो पृष्ठभूमि हेरे हुन्छ र पढे हुन्छ । मेरो जीवन खुला किताब हो, सबैले पढे हुन्छ । यस्तो कुरामा यो संसदको पनि गम्भीर ध्यानाकर्षण होस् ।’

जबकि बिचौलियासँगै मिलेर कांग्रेसका तत्कालीन सांसद रामचन्द्र अधिकारी, हस्तबहादुर मल्ललगायतको कूटनीतिक राहदानी दुरुपयोग गरेबापत उनी २०५५ सालमा पक्राउ परेका थिए ।

सर्वाधिक आलोचना भएको अपराधीलाई उन्मुक्ति दिने दफा ६४ को बारेमा भने उनी राजनीतिक सहमतिका आधारमा टुंगो लगाउने भन्दै उम्किन खोजेका छन् ।

के भनेका थिए तेजुलालले ?

कांग्रेस सांसद तेजुलालले मन्त्रीलाई आरोपित गर्ने कुनै शब्द बोलेका थिएनन् । उनले त ३ वर्षदेखि २२८ वटा नर्सिङ कलेज बन्दा हुँदा अर्बौं नेपाली रुपैयाँ भारततिर गएको र शिक्षा मन्त्रालयले चिकित्सा शिक्षा ऐन संशोधनका लागि पठाएको विधेयक कानून मन्त्रालयले रोकेकोमा प्रश्नमात्र उठाएका थिए ।

चौधरीले यसो भनेका थिए,

कानूनमन्त्रीलाई मेरो सानो प्रश्न, राष्ट्रिय चिकित्सा आयोग एमबीबीएसका लागि बनेको आयोग हो । त्यसले सीटीइभीटीलाई पनि हस्तक्षेप गरेको छ । शिक्षा मन्त्रालयले राष्ट्रिय चिकित्सा विधेयकमा केही संशोधन गरेर कानून मन्त्रालयमा पठाएको थियो । त्यो मन्त्रालयले किन फिर्ता गर्‍यो ? अहिले ३ वर्षदेखि २२८ वटा नर्सिङ कलेज बन्द छन् ।

तपाईंहरु ऐन बनाउँदाखेरि जनताले सञ्चालकले साँच्चै यो देशलाई प्राइभेट संघसंस्थाहरु चाहिने हो कि होइन ? एकातिर शिक्षाले कानून मन्त्रालयलाई पठाउने, तपाईं फिर्ता गर्ने ? सानो सानो विधेयकहरु बिचौलिया हावी भएकाहरु पास हुन्छन् । २०७९ मा संशोधन भएको विधेयक २०८० मा संशोधन भएका छन् । यसअघि पनि म संसदमा थिएँ, बारम्बार केही कानूनहरु किन संशोधन हुन्छन् ? के स्वार्थ छ यसमा, पार्टीको स्वार्थ छ कि मन्त्रीको वा सचिवको स्वार्थ छ कि विचौलियाको स्वार्थ छ ?

Comments

One response to “आफ्नै सांसदलाई रोष्टमबाट धम्क्याउँदै धनराज, रातो पासपोर्ट काण्ड बिर्साउँदै खुला किताबको ध्वाँस (भिडिओ)”

  1. Dilparsad Gurung Avatar
    Dilparsad Gurung

    धनराज गु्रूग कुहिएको फर्सी जस्तै रहेछ, nepalpress मा उहाको जन्म कुण्डली पढ्दा बल्ल थाहा भयो। अब अयान्दा धनराज गुरूगले आफैलाई चोख्याउन गाइको गहुत नछर्के हुनेभयो…

Leave a Reply

Your email address will not be published. Required fields are marked *